‘सरी ! तिमीलाइ म स्वीकार गर्न सक्दिनँ’

‘सरी ! तिमीलाइ म स्वीकार गर्न सक्दिनँ’


रसना ढकाल

पहिलो दिन

एक अपरिचत नामबाट उनको मोबाइलमा फ्रेण्ड रिक्वेस्ट आउँछ । उनी त्यो रिक्वेस्टलाई डिलेट गर्छिन्, तर पनि तारन्तार रिक्वेस्ट आइरहन्छ । बाध्य भएर उनी त्यो रिक्वेस्टलाइ स्विकार गर्छिन् ।

रिक्वेस्ट स्वीकार गरेको एक मिनेटपछि म्यासेन्जरमा म्यासेजको लर्को हुन्छ । उनले त्यो म्यासेज हेर्छिन् मात्र तर उत्तर केही फर्काउँदिनन्, किनकि उनी श्रीमान् बाहेक अरुप्रति आकर्षित हुन चाहँदैनथिन् । श्रीमानको अघिल्तिर उनलाई अरु सबै कुरा फिक्का लाग्थ्यो । जीवनमा श्रीमानबाहेक अरुको त कल्पना पनि गर्न सक्दिनथिइन् । त्यसैले म्यासेजलाई हेरि मात्र रहिन्, प्रतिवाद गरिनन् ।

दोस्रो दिन

ए तिमी के साह्रो घमण्डी हो अ… (उताबाट म्यासेज आउँछ ) कमसेकम ह या ना भनेर जवाफ त दिन सकिन्थ्यो नि । तिमी त बोल्दै नबोल्ने ! होइन मैले मान्छेलाई फ्रेण्ड रिक्वेस्ट पठाएँ कि ढुङ्गालाई पठाए । अब यस्तो म्यासेज आउन थाल्यो । अन्तमा उनी बाध्य भइन् र उत्तर पठाइन्- सरी.. उत्तर दिन अबेला भएकोमा ।

त्यसपछि दुवै पक्षबीच सौहार्द वातावरणमा कुरा हुन सुरु हुन्छ । केटाले म भिडियो कल गरुँ भन्छ तर उनी अस्वीकार गर्छिन् । किन ? कल गर्दा गाह्रो हुन्छ हो ?

उनी – होइन जिन्दगी नै भिडियो भैसक्यो, यस्तोमा के भिडियो कल गर्नु र !

उनको कुरा सुनेर उ छक्क पर्छ । र, ‘हामी भेट गरौँ न’ भनेर केटाले भन्छ । उनी ‘अहँ हुँदैन, यही भेट भैहाल्यो नि, अब कहाँ भेट गर्नु र ?’ भनी जवाफ फर्काउँछिन् । अन्तमा केटाले भन्छ– म तिमीलाइ माया गर्छु, आउ हामी दुवै मिलेर यो सृष्टि चलाउँ ।

केटोको एकोहोरो प्रेम देखेर उनी छक्क पर्छिन् र केही बोल्न सक्दिनन् । आफ्नो जीवनमा भएको घटना याद गर्छिन् र आफूले आफ्नो श्रीमानबाहेक अरुको कल्पना पनि नगरेको कुरालाई निरन्तरता दिन्छिन् । ‘अहँ ! म त मेरो श्रीमानबाहेक अरुलाई हेर्दै हेर्दिनँ । मेरा दुई साना साना बच्चाहरू छन् तिनै मेरो आँखाका तारा हुन् उनैलाई हेरेर जीवन बिताउँछु’– उनी सानो आवाजमा भत्भताउँछिन् । यो कुरा कता–कता सासुआमाले चाल पाउनुहुन्छ र बुहारीलाई सोध्नुहुन्छ– ‘छोरी, तिमी किन आजभोलि एक्लै बोलिरहन्छौ हाँस्छौ पनि । के भएको छ भन त !’ उनी केही बोल्दिनन्, उल्टै हाँसेर कोठाभित्र पस्छिन् ।

बदलिएको उनको स्वभाव

सूर्यको मिरमिरेसँगै उदाउने उनको निन्द्रा किन हो किन आजभोलि अलिक बेरसम्म सुत्छिन् । साथमा उनको दुईवर्षे छोरा र १५ महिनाकी छोरी पनि सुतिरहेका हुन्थे । बुहारीमा अचानक आएको परिवर्तन देखेर सासुआमा र ससुराबुबा छक्क पर्नुहुन्छ । तर पनि भर्खरकी हो, अलि बेरसम्म सुत्न मन लाग्यो होला नि भनेर सासु घरधन्दा गर्न थाल्नुहुन्छ । घरको बरण्डा बढारिरहेको आवाज सुनेर उनी जुर्मुराउँदै उठ्छिन । सासुको हातबाट कुचो लिएर बढार्न थाल्छिन् । सासुआमाले ‘होइन यति त म गर्न सक्छु नि, जाउँ तिमी भान्छा बढार’ भनेर अराउनु हुन्छ र उनी भान्छामा जान्छिन् । बिहानी–कर्म सबै सकेर घर–परिवार एकसाथै चिया खाजा खान थाल्छन् अनि ससुरा बुबा काखमा नातिनातिना राखेर बुहारीको मुख हेर्दै भन्नुहुन्छ– ‘छोरी तिमी मेरी बुहारी होइन छोरी हौ, तिम्रो जीवन लामो छ, एक्लै जीवन चल्दैन त्यसैले आफ्नो बारेमा सोच या हामीलाई सोच्न देउ । यो नातिनातिना तिम्रो जिम्मा हाम्रो हो । छोराकोे अकालमा मृत्यु भयो । यो बुबाआमाले त्यो पीडा कसरी सहेका होलाउँ ! त्यसमाथि तिमी त उसको पत्नी हौ, तिम्रो पीडा छुट्टै छ । हेर जे भए पनि सहनुको विकल्प अरु छैन । हाम्रो जीवनको अघि तिम्रो जीवन लामो छ । अब तिमीले केहि गर्नैपर्छ ।’ यति भन्दै नातिनातिनी लिएर ससुराबुबा छिमेकीको घरतिर जानुहुन्छ । यता सासुआमाले बुहारीको मन मैलो नहोस् भन्दै हँसाउने कुरा गर्नुहुन्छ । सासु–बुहारी दुवै खुशी हुन्छन्, बिहानको खाना बनाउन भान्छातिर लाग्छन् ।

म्यासेजका कुरा सम्झिन्छिन्

ससुराबुबाले भनेको कुरा उनको मनमा सागरको छालझैँ आइरह्यो । कहिले बच्चा हेर्दै त कहिले सासुआमाको मुख हेर्दै उनी आफ्नो बारेमा सोच्न बाध्य हुन्छिन् । र, आफूप्रति कति धेरै आकर्षित भए तर आफू श्रीमानबाहेक कोहीप्रति पनि आकर्षित नभएको कुरा मनमनै बोल्न थाल्छिन् । एकछिन कामबाट फुर्सद निकालेर मोबाइल चलाउन थाल्छिन् र फेरि पनि म्यासेजको थुप्रो आइपुगेको हुन्छ । कसको म्यासेज हो भनेर हेर्दा उही व्यक्ति जसले आफुलाई अपरिचत रही माया गरिरहेको छ ।

त्यो दिन उनी म्यासेजको जवाफ पठाउँछिन् । यसरी सुरु हुन्छ दुवै जनाको वार्तालाप । एकदिन उसले हामी भटौँ न भनेर हत्ते गर्छ । तर उनी हुन्छ भन्न सक्दिनन् । सासु–ससुराले आफ्नो बारेमा सोच या हामीलाई सोच्न देउ भनेको कुरा सम्झिन्छिन् । धेरै लामो सोचपछि उनी म्यासेजको जवाफ दिन्छिन्– ‘हुन्छ भेटौँ न त ।’

अब उताबाट म्यासेजको ओइरो आउन थाल्यो– ‘ल ल हाम्रँो भेट राम्रो हुनु पर्छ । अनि तिमी र म भेटेर मायाको बारेमा योजना बनाउँला है । ल कहिले भेट गर्ने ?’ जवाफमा– भोलि नै भेटौँ न हुन्न ? म्यासेजबाट ‘हुन्छ, बरपिपलको चौतारामा सोमबार भेट्ने दिनको १ बजे ।’ म्यासेजमा कुरा हुने व्यक्तिसँग प्रत्यक्ष कुरा कसरी गर्ने ?, पहिला कुन शब्द प्रयोग गर्ने जस्ता कुरा उनको मनमा खेल्न थाल्छ । र, सोमबार आउँछ । दिनको १ बजे उनी गाउँको बरपिपल चौतारामा पुग्छिन् र उ पनि त्यहीँ आउँछ । दुवैको भेट हुन्छ । पहिलो भेटमा दुवैलाई कुरा गर्न अलिक गाह्रो भएको त्यो क्षणले देखाउँछ । उनीहरूले फेरि बुधबार भेटौँ है भनेर कुरा गर्छन् । उनी हुन्छ भनेर घर जान्छिन् र फेरि बुधबार भेट हुन्छ । त्यसपछि उनीहरू एकअर्काको नजिक भएको महसुस गर्छन् र दुवैको मनको कुरा साटासाट हुन थाल्छ । लामो कुरा भएपछि केटोले जीवन सँगै बिताउने प्रस्ताव राख्छ । र, उनले प्रस्तावलाई मौनताले स्विकार गर्छिन् । उनीहरू त्यो दिन छुटिन्छन् ।

उनी यो कुरा सासु–ससुरालाइ कसरी सुनाउँ भन्ने सोचमा हुन्छिन् । तर सासुआमाले सबै चाल पाएकी हुन्छिन् । किनकि जुन ठाउँमा उनी आफ्नो साथी भेट गर्न गएकी हुन्छिन्, सासुआमा त्यस बरपिपलको छेउमा घाँस काट्न पुगेकी थिइन् । सासुले सबै कुरा देखिकी हुन्छिन् तर बुहारीको कामलाइ प्रशंसा गर्छिन् । बुहारीले भन्नुपूर्व ससुरालाई पनि यो कुरा थाहा हुन्छ र त ठिक छ भनेर जावाफ दिन्छन् ।

त्यसपछि उनको जीवन खुशीले भरिन थाल्छ । तथापि, यो कुरा बुहारीकै मुखबाट सुन्न चाहन्थे ससुराबुबाले । खाना खाएर आँगनमा बस्दा ससुराबुबाले सोध्नुभयो । उनले हो भनिन् । ल त्यसो भए हाम्रो हुनेवाला ज्वाइँनारायणसँग हामीलाई भेट गराउ । उनको खुशीको सीमा नै रहेन । खुशी हुँदै कोठामा आउँछिन् र श्रीमानको फोटो देखेर त्यो मायालाई सम्झिन्छिन्, रुन्छिन् पनि तर सधैंभरी यादमा बाँच्न पनि त मुस्किल थियो उनलाई । यो कुरा सासु–ससुराले बुझेका थिए ।

आफनो नयाँ प्रेमलाई म्यासेज गर्छिन्– ‘बुबाआमाले भेट्न खोज्नुभएको छ ।’ उताबाट जवाफ आउँछ– ‘हुन्छ म भेट्न तयार छु ।’ यसरी दुवै परिवारको भेट हुन्छ । ससुराबुबाले कुरा गर्नुहुन्छ र बुहारीको सबै कहानी सुनाउनुहुन्छ । उनी एकल महिला हो भनेको सुनेर उ झस्किन्छ । केटाबाट केही जवाफ आउँदैन ।

भेटपछिको दिन

ससुराबुबा र सासुआमाले बुहारीको खुशीमा आफ्नो खुशी देखिसकेका हुन्छन् । धेरै खुशी हुन्छन । त्यही बेला केटाको फोन आउँछ र उनी हतार–हतार गरेर उठाउँछिन् । उताबाट जवाफ आउँछ– ‘सरी ल, म तिमीलाई स्विकार गर्न सक्दिनँ ।’
‘के भयो के भयो’ – ससुराबुबा भन्छन् । उताबाट जवाफ आउँछ– ‘उ तपाइँको बुहारी रहिछ, पहिले नै विवाह भैसकेको रहेछ अनि म त्यस्तो व्यक्तिसँग कसरी विवाह गर्न सक्छु ? विधवासँग म विवाह गर्दिनँ ।’ अनि रिसको झोकमा ससुराबुबा भन्छन्– ‘त्यसोभए प्रेम प्रस्ताव राख्दा व्यक्तिगत विवरण माग्नु पर्दैनथ्यो त ? तिमीहरू समाजको कलंक हौ । पुरुष विधुर हुँदा विवाह गर्न हुने महिला विधवा हुँदा विवाह गर्न नहुने ? यो चलन कसले चलायो ? लौ आइज तैँले मेरो बुहारीको अपमान गरिस्, तलाइँ म पुलिसमा झिकाउँछु ।’ दुवैतर्फ घम्साघम्सी पर्छ ।

सामाजिक मनोविज्ञान

हाम्रो समाजको मनोविज्ञान बडो अचम्मको छ । हामीले वर्षौंदेखि परिवर्तनका लागि नाराहरू, अन्तरकृया, घरदैलो जस्ता कार्य गर्दै आयौँ तर व्यक्तिको सोचलाई भने परिवर्तन गराउन सकेका छैनौँ । अहिले पनि महिला, महिला नै भएको कारण हेपिनुपर्ने, दुर्व्यवहार सहनुपर्ने जस्ता दुष्कार्य हुँदै आइरहेका छन् । जुन परिवर्तनका बाधक तत्वहरू हुन् । यस्ता सोचविचार व्याप्त भएकोले समाजलाई सधै तरङ्गित गराइरहेको हुन्छ ।

सदियौँदेखि महिला पितृसत्ताको कव्जामा बस्दै आइरहे । यो कब्जा वर्तमान अवस्थामा पनि जारी छ । महिला र पुरुषबीचको असमान शक्ति सम्बन्धका कारण यो बीचमा थुप्रै घटना भइरहेका छन् । पितृसत्ताले पुरुष वर्गलाइ बलियो बनायो । उसले जे गर्दा पनि केही प्रश्न उठाएन, तर त्यही कार्य महिलाले गर्दा प्रश्नको भण्डार खडा गर्यो । यस्तो चलनको निरन्तरताको कारण आजको दिनसम्म पनि महिला र पुरुषबीच समाजिक भिन्नताहरू कायम छन् । हाम्रो समाजमा अहिले पनि विधुर एक पुरुषले विवाह गर्दा कहिँकतै बाधा अड्चन आउँदैन । घर–परिवार समाजले पनि स्वीकार गर्छन् । तर त्यही ठाउँमा एक महिला विधवा हुन्छिन् भने उनले आफ्नो जीवनलाई अघि बढाउन समाजको स्वीकृति लिनुपर्छ । आखिर कहिलेसम्म महिलाले समाजको स्वीकृति लिइरहनु पर्ने ? त्यो स्वीकृतिमा छाप लगाउने तिम्रो–हाम्रो सोचलाई फराकिलो दिमागले हेर्ने कि नहेर्ने ?

दिनभरि संसारलाई उज्यालो गरेर बेलुका सूर्य अस्ताउँछन् अर्को बिहानीका लागि, तर तपाइँ–हाम्रा गलत सोच कहिल्यै अस्ताएनन् व्यक्तिका सोचलाई परिवर्तन गर्नका लागि । परिवर्तन त घर हुने होइन व्यक्तिको सोच हुने हो । आडम्बरले थिचेको सोचलाई परिवर्तनको नाम लिएर कहिले युद्ध जित्न सकिएला ?!