- हरिराज श्रेष्ठ
काभ्रेस्थित नाला शहर प्राचीन एवम् ऐतिहासिक महत्वको शहर हो । अपितु यो शहर लिच्छवि कालदेखि नै अस्तित्वमा रहेको उग्रचन्डी भगवतीको मन्दिरमा रहेको शिलालेखबाट पुष्टि हुन्छ । मन्दिरको निर्माण भने मल्लकालमा नै भएको हो । उग्रचन्डी भगवतीको नामबाट यो गाउँविकास समितिको नामाकरण गरिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको पश्चिम भागमा यो गाविस अवस्थित छ । उग्रचन्डी नाला गाउँविकास समितिले ९.४ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ ।
वि.सं. २०४८ को जनगणनाअनुसार यो गाविसमा ६,३२७ जनसंख्या रहेको थियो । वर्तमान अवस्थामा यहाँ पन्ध्र हजारभन्दा बढी जनसंख्या रहेको अनुमान छ । प्राचीन समयमा यो नालाभूमिले धान/चामल उत्पादन र निर्यातमा प्रसिद्धि कमाएको थियो भने वर्तमानमा आलु उत्पादन र निर्यातमा प्रख्यात छ । नालाको आलु उच्चकोटीको मानिन्छ । काठमाडौं शहरबाट यो नालाशहर २९ किलोमिटर पूर्वतर्फ पर्दछ ।
नेपालमा मूलतः चार वटा भगवतीहरू शक्तिपिठका रूपमा प्रसिद्ध छन् । ती हुन्– काठमाडौको बिष्णुमती नदीको तटमा रहेको शोभा भगवती, काठमाडौंकै नक्सालमा रहेको नक्साल भगवती मन्दिर, काभ्रेपलाञ्चोक जिल्लाको नालाशहरमा रहेको उग्रचण्डी भगवती र काभ्रेपलाञ्चोकमै अवस्थित पलान्चोक भगवती मन्दिर । यी चार भगवतीहरू आपसमा दिदी–बहिनीहरू हुन् भन्ने जनश्रुति रहेको छ । यी चार भगवतीमध्ये उग्रचण्डी नाला भगवतीको बारेमा यहाँ परिचयात्मक विश्लेषण गर्ने जमर्को गरिएको छ ।
मल्लकालीन राजा जय जगतप्रकाश मल्लको शासनकालमा उग्रचण्डी भगवतीको चारतले मन्दिर विभिन्न चरणमा निर्माण भएको पाइन्छ । नेपाल सम्वत् ७६१ मा पहिलो तला, नेपाल सम्वत ७६३ मा दोश्रो तला र नेपाल संवत ७६७ मा तेश्रो एवम् चौथो तला निर्माण भएको हो भन्ने उल्लेख छ । मन्दिरको सिरान स्वर्णमय गजुरबाट सुशोभन गरिएको छ । अवलोकनमा अत्यन्तै मनमोहक दृश्य, स्वर्णमय भगवतीका मूर्तिहरूलाई पर्वहरूमा पूजाआजा गर्ने, शहर परिक्रमा गराउने चलन नालाका आदिवासी श्रेष्ठ थरका (किसी) नेवारहरूले आरम्भ गरेका हुन् भन्ने किंवदन्ती अद्यापि पाइन्छ ।
उग्रचन्डी भगवती साक्षात रूपमा उत्पति भइ एउटा ठूलो ढुङ्गामाथि बसेर त्यहीँ अन्तरध्यान भएको र पछि तत्कालीन शासकले उक्त ढुङ्गालाई उग्रचन्डी भगवतीको प्रस्तर मूर्ति कुद्न लगाइ प्राणप्रतिष्ठा गरेका थिए भन्ने जनश्रुति छ ।
नालाशहर प्राचीन कालदेखि नै तान्त्रिक विद्याका लागि प्रख्यात मानिन्छ । खासगरी नालाका ज्ञानसिंह कर्माचार्य तन्त्रविद्याका विख्यात पण्डित मानिन्थे । तन्त्रविद्यामा यी पारंगत नै थिए । तान्त्रिक साधनाबाट यिनी लोप भएका र हालसम्म पनि हराइरहेको किंवदन्ती छ । तन्त्रविद्यामा नालाका कर्माचार्यहरू अति पोख्त थिए भन्ने भनाइ अद्यापि छ ।
माता उग्रचन्डी भगवतीलाई प्रत्येक वर्ष विजयादशमीको नव रात्रीभर धुमधामका साथ पूजाआजा गरी ‘नरिवल बली’ एवम् पशुवली दिने प्रचलन थियो । पशुबली दिने प्रचलन समयअनुसार क्रमशः लोप हुँदै गएको छ भने नरिवल बली, कुभिन्डो बली दिने एवम् रातो वस्त्र फूलहरू चढाउने प्रचलनले महत्व पाउँदै गएको छ । वर्षभर नित्य पूजाआजा गर्न एवम् मन्दिरको सरसफाई र संरक्षण गर्न स्थानीय नालानिवासी नेवार थरका कर्माचार्यहरूलाई पालो बाँधी कार्य विभाजन गरिएको पाइन्छ । नालाका नारायणबहादुर कर्माचार्य, कर्मबहादुर कर्माचार्य, देवीबहादुर कर्माचार्यलाई एक–एक महिनाको पालो दिइएको हुन्छ । उनीहरूले आपसी सहमति र समझदारीमा एक–एक महिनासम्म पूजाआजा र उक्त कार्य गर्दैछन् भने कृष्ण कर्माचार्य, कृष्णगोपाल कर्माचार्यलाई १५–१५ दिनको पालो तोकिएको पाइयो ।
भनिन्छ, पाटनका ६ प्रधानहरू शक्तिच्यूत भइसकेपछि ६ प्रधानमध्येका चोछे नायजु पाटनबाट भागेर नाला शहरमा थर परिवर्तन गरी लुकेर (नचिनिने) नालामा बस्न थाले । तत्कालीन राजा पृथ्वीनारायण शाहको कोपभाजनबाट बच्न उनले यसो गरेका थिए भनिन्छ । तिनै नायजुले पछि उग्रचन्डी भगवतीको चौथो तला एवम् स्वर्ण गजुर निर्माण गरे भन्ने जनश्रुति पाइन्छ । यिनै नायजुहरूको खलक नै नालाका श्रेष्ठहरू हुन् ।
बाइसे, चौबिसे राजाहरूको पालामा नाला शहरका प्रसिध्द ब्यापारी देवनारायण श्रेष्ठ स्याङ्जा, भीरकोट, दारसिङतर्फ ब्यापार प्रवद्र्धन गर्न गएको र पछि उतै स्थाई बसोबास गर्न थालेको भन्ने रहेको छ । सूर्य विनय वंश नेवारहरूको वंश र थर पत्ता लगाउने शूत्र एउटा विधि मानिन्छ । यिनीहरूले अक्षय तृतीयलाई महान् पर्वका रूपमा भब्य चाड मान्दछन् र नालादेवीलाई उग्रचन्डी भगवतीलाई इष्टदेवीका रूपमा मान्दछन् । अक्षय तृतीयापछि आउने अष्टमीका दिन साइत हेरेर कूलपुजा गर्दैछन् ।
यिनै देवनारायण श्रेष्ठका छोरा लक्ष्मीनारायण श्रेष्ठका ६ भाइ छोराहरू सिद्धिमान श्रेष्ठ, जितमान श्रेष्ठ, शिवलाल श्रेष्ठहरू थिए । अन्य तीनभाइको नाम थाहा लाग्न सकेको छैन ।
(लेखक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वअधिकृत हुन् ।)
प्रतिक्रिया