(जीएनएन) अष्ट्रिया
पत्रकार एवम् लेखक ददि सापकोटाको नयाँ कृति ‘वनको वैभव’ सार्वजनिक भएको छ । विश्वमै बढिरहेको कोरोना संक्रमणका बीच औपचारिक कार्यक्रमविनै गत मंगलबार पुस्तक बजारमा ल्याइएको हो । यसअघि ‘पन्छी जगत’, ‘त्यो नेपाल’ र ‘दुखेको युरोप’ लेखेका सापकोटाको यो चौथो पुस्तक हो । यो पुस्तक चराचुरुङ्गी एवम् वन्यजन्तुको उमेरको मनोविज्ञान बुझ्न मात्र होइन, उनीहरूका यौनका रहस्यमय विषयबारे जान्न चाहनेहरूका लागि पनि उत्तिकै उपयोगी रहेको बताइएको छ।
‘पुस्तक रमाइलो पाराले लेखिएको छ, सबै पाठ रोचक छन्,’ उनले भने, ‘यसरी गम्भीर अध्ययनअनुसन्धान गरेर नेपालीमा कमै पुस्तक लेखिएका छन् ।’ पुस्तकमा रहेका सन्दर्भसामग्रीले लेखनको गाम्भीर्यलाई बुझाउने उनको भनाइ छ । नेपाली वाङ्मयमा यस किसिमको पुस्तक लेखिनु खुसीको विषय रहेको उनले बताए । यो पुस्तक कतै पुस्तकालय, टेबलमा केही दिन, घण्टा बिताएर सिर्जना गरिएको होइन । तराईको चितवन, बर्दिया, पर्सा, कोसीटप्पु वन्यजन्तु आरक्षदेखि पहाडी भेगका संरक्षित क्षेत्र, आरक्षण केन्द्रदेखि सामुदायिक वनसम्म चहारेर लेखकले चराचुरुङ्गीहरूको स्वभाव एवम् आनिबानीबारे चर्चा गरेका छन् ।
‘भारतका केओदायो राष्ट्रिय निकुञ्ज, चितवनको भरतपुर चरा आरक्षण केन्द्रदेखि फ्रान्सका विभिन्न वन, पहाड, प्राकृतिक संरक्षण केन्द्र, नदीनाला चहार्दा देखेभोगेका तथ्यहरूको समग्र अनुभवलाई समेटेको छु,’ लेखक सापकोटाले भने, ‘यो पुस्तक लेख्नुअघि मैले धेरै क्षेत्र घुमेर बनाएका नोटहरूको सहयोग लिएको छु । जीवजन्तुबारे प्रकाशित धेरै पुस्तक अध्ययन र टिभीका कार्यक्रम हेरेको छु । त्यसैले यो पुस्तक मेरो समग्र साधनाको उब्जनी पनि हो ।’ पुस्तकमा जीवजनावरहरूको आनिबानी र स्वभावबारे रोचक चित्रण गरिएको छ । पुस्तकमा जनावरका स्वभावलाई मात्र चित्रण गरिएको छैन, उनीहरूका मनदेखि यौनसम्मका रमाइला प्रसङ्गलाई रमाइलै पाराले प्रस्तुत गरिएको छ । पुस्तक पढिरहँदा पाठकलाई लाग्छ- म कुनै जङ्गलमा गएर जीवजनावरहरूको स्वभाव र बानीव्यहोरा नजिकैबाट नियालिरहेको छु ।
जनावरहरूका रमाइला र गुह्य विषय सर्वसाधारणसमक्ष पुग्नुपर्ने र उनीहरूलाई ती विषयबारे जानकारी मिल्नुपर्ने फाइनप्रिन्टका सहसंस्थापक नीरज भारीले बताए । ‘वन्यजन्तु एवम् चराचुरुङ्गीका गुह्य कुरा रोचक पारामा लेखिएको पुस्तक पाउन गाह्रो छ,’ उनले भने, ‘ददि सापकोटाले त्यो अभाव पूर्ति गरिदिएका छन् ।’ यति सुन्दर कृति प्रकाशन गर्न पाउनु खुसीको विषय रहेको उनको भनाइ छ । पर्यटकीय क्षेत्रबाट पेसा सुरू गरेका सापकोटा विशेषगरी वातावरण, प्रकृति र जीवजन्तुका विषयमा चासो राख्छन् ।
युरोपमा रहेर सक्रिय पत्रकारिता गरिरहेका उनी नेपाललाई कर्मथलो बनाएका युरोपेली, युरोपको नेपाली समुदाय र प्रकृतिका विविध पक्षको खोजीमा छन् ।
प्रतिक्रिया