सामाजिक दूरी कायम गरी दशैँ मनाउन राष्ट्रपतिको आग्रह

सामाजिक दूरी कायम गरी दशैँ मनाउन राष्ट्रपतिको आग्रह



राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बर्द्धन गर्न आह्वान गर्नुभएको छ । बडादशैँ, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले कोभिड–१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैँ मनाउन आग्रह गर्नुभएको हो ।

‘आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व हुन आएको छ’, शुभकामना सन्देशमा भनिएको छ, ‘विजयादशमी, २०७७ ले हामी सबैमा नयाँ उत्साह, उमङ्ग, जोश र जाँगर थप्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको कामना गर्दै मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।’

यस पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकले व्याप्त अनेक असत्यताको अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास राष्ट्रपतिले गर्नुभएको छ ।

विजयादशमीका दिन भगवतीले सत्य हासिल गरेका उपलक्ष्यमा नवदुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आशीर्वाद ग्रहण गरिन्छ । असत्यमाथि सत्य तथा अन्यायमाथि न्याय र अमानवीय तत्वमाथि मानवताको विजयको प्रतीकका रूपमा मनाइने यस पर्वमा घटस्थापनादेखि नवमीसम्म माता नवदुर्गाको पूजा गर्दै सप्तशती पाठ गरी विशेष अर्चना र आराधना गरिन्छ ।