राजदूत युसुफ बिन मोहम्मद अल हेलले भने- ‘नेपाल स्वर्ग हो’
नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपाल स्वर्ग रहेको प्रतिक्रिया दिएका छन् । नेपालका नागरिक विश्वकै राम्रा र यहाँको प्राकृतिक वातावरण हराभरा सुन्दर भएको उनको भनाइ छ ।
कपिलवस्तुवासी नेपालीको अवस्था बुझ्न आइतबार (९ कात्तिक) कपिलवस्तु पुगेका राजदूत हेलले नेपाल अति नै सुन्दर रहेको उल्लेख गर्दै कपिलवस्तुका नागरिक कतारमा बढी नै सङ्ख्यामा भएकाले उनीहरूको परिवार र बाललिबालिकाको अवस्था बुझ्न आफू आएको जानकारी दिए । रोजगारीका सिलसिलामा कतारमा रहेका लगनशील नेपालीको रहनसहन, बोली, भाषा, दैनिकी, जीविकोपार्जनको अवस्था बुझ्न आफू आएको राजदूत हेलको भनाई थियो ।

कतारी राजदूतले यहाँका बालिबालिका संसारकै राम्रा रहेको जनाउँदै तिनको शैक्षिक अवस्था सुधार गर्न स्थानीयवासीसँग आग्रह गरे । कपिलवस्तुको भौतिक संरचना, सडक, बत्ती, स्वास्थ्य, शिक्षालगायत विभिन्न क्षेत्रको विकासका लागि कतार नेपाल सरकारसँग हातेमालो गर्न तयार रहेको उनले बताए ।
राजदूत हेलले रूपन्देहीको लुम्बिनी र कपिलवस्तुको कृष्णनगर क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीय बालबालिकाका अवस्थाका बारेमा जानकारी लिएका थिए । सो अवसरमा जनता समाजवादी पार्टीका केन्द्रीय नेता तथा पूर्वमन्त्री अकबाल शाहले राजदूतलाई कृष्णनगर क्षेत्रको अवलोकन गराई वस्तुस्थितिबारे जानकारी गराएका राससले जनाएको छ ।
नेकपाको भ्रातृ सङ्गठन मुस्लिम इत्तेहात संगठनका केन्द्रीय अध्यक्ष सिराज फारुकीले नेपालीले कतारमा दुःख गरेकाले कतार सरकारले तिनको तलब बढाउनुपर्ने प्रस्ताव राखेका थिए । बिहान कपिलवस्तु पुगेका राजदूत आइतबार साँझ काठमाडौँ फर्किएका थिए ।

तस्बिर : सनिउल्ला धोबी, कपिलवस्तु
प्रतिक्रिया