हिन्दू आस्थामाथि प्रहार भैरहे कडा रूपमा प्रस्तुत हुने चेतावनी
नवलपरासीमा हत्या गरिएका सन्तको हत्यारामाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद नेपालले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीमार्फत बुझाइएको ज्ञापनपत्रमा सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूको आस्थासँग जोडिएको साधु-सन्तहरुको सृंखलाबद्ध हत्या एवं साधु–सन्तमाथि सांघातिक आक्रमणले सम्पूर्ण सनातनी समाज मर्माहित एवम् आक्रोशित भएको उल्लेख गरिएको छ ।
यही कात्तिक ९ गते नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं. ४ नर्सही, पश्चिम डाडीस्थित हनुमान मन्दिरका सन्त श्री महगु केवटको हत्या गरिएको थियो । यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै विश्व हिन्दू परिषद, नेपालले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
परिषद्का नवलपरासी पश्चिमका जिल्ला संयोजक राजेश गुप्ताद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ-
‘नेपालमा साधुसन्त समेत सुरक्षित नरहनु दुर्भाग्यपूर्ण हो । सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूको आस्थासँग जोडिएको साधु-सन्तहरुको सृंखलाबद्ध हत्या एवं साधु-सन्तमाथि सांघातिक आक्रमणले सम्पूर्ण सनातनी समाज मर्माहीत तथा आक्रोशित भएको छ । उक्त अमानवीय घटनाको विहिप नेपाल कडा शब्दमा निन्दा गर्दछ । हत्यामा संलग्न अपराधीलाई यथाशीघ्र कानुनी दायरामा ल्याई सार्वजनिक गरी कारवाही गरियोस् साथै मृतक सन्तलाई शहीद घोषणा गर्दै सन्तसमाजको सुरक्षा–व्यवस्था मिलाउन सरकार समक्ष विहिप नेपाल माग गर्दछ ।’
‘बारम्बार हिन्दू आस्थामाथि आँच आउने गरी हत्या, हिंसा आक्रमणको घटना बढ्नुले नेपालको फितलो सुरक्षा व्यवस्थालाई प्रदर्शित गरेको छ । यस किसिमको हत्या–हिंसाविरुद्ध सरकारले विशेष पहल गरी समयमै आपराधिक तत्वलाई निरुत्साहित गर्न अपिल समेत गर्दछौँ ।’
‘बारम्बार हिन्दू आस्थामाथि प्रहार भैरहे हिन्दू समाज तथा हिन्दू संगठनहरु कडा रूपमा प्रस्तुत हुन बाध्य हुनेछ र तत्पश्चात् सिर्जना हुने परिस्थितिको जिम्मेवार सरकार स्वयम् हुनुपर्ने छ । जय श्रीराम ! नेपाल आमाको जय !!’
प्रतिक्रिया