भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीन दिवसीय भ्रमणका लागि यही कात्तिक १९ गते काठमाडौं आइपुग्ने तय भएको नेपाली सेनाले जानकारी दिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा जनरल नरवणे नेपाल भ्रमणमा आउन लागेका हुन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएअनुसार नेपाल भ्रमणमका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ ।
नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशको सैनिक प्रमुृखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा छ । रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनरल नरवणेले औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिएका छन् । बताइएअनुसार प्रधानसेनापति थापासँग जनरल नरवणेले औपचारिक भेटवार्ता र छलफल गर्नेछन् ।
सैनिक प्रवक्ता पौडेलका अनुसार कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग जनरल नरवणेले अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा जनरल नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जलि अर्पणका साथै जङ्गीअड्डामा सम्मान गारद निरीक्षण गर्नेछन् । जनरल नरवणेको भ्रमण दल चार सदस्यीय हुने बताइएको छ ।
प्रतिक्रिया