कपिलवस्तु जिल्लाको कृष्णनगरमा एक अज्ञात मानिसको हाडखोर फेला परेको छ ।
मंगलबार बेलुकी साढे पाँच बजे कृष्णनगर नगरपालिका वडा २ गुरुद्वारास्थित नन्दलाल अग्रवालको घरको जीर्ण भग्नावशेषमा अज्ञात मानिसको अस्थिपन्जर फेला परेको हो । हाडखोरलाई थप अनुसन्धानका लागि फोरेन्सिक टेस्ट गराउन शिवराज अस्पताल बहादुरगंज पठाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।
अन्दाजी २० वर्ष पहिलेदेखि मानिस बस्न छाडेको नन्दलाल अग्रवालको छिमेकमा मर्मत भइरहेको घरका कामदारले हाडखोर देखेपछि प्रहरीलाई खबर गरेका हुन । हाडखोर फेला परेपछि कृष्णनगरका व्यापारीहरुमा त्रास सृजना भएको उद्योग वाणिज्य संघ कृष्णनगरका पूर्वअध्यक्ष गुरुशरण सिंहको भनाइ छ।
कृष्णनगर बजार भारतीय सिमासँग सटेको जिल्लाकै मुख्य नाका रहेकोले यस्ता संदिग्ध घटनाहरुले व्यापारीमा त्रास फैलाउँदै आएको पूर्वअध्यक्ष सिंहले बताए ।
प्रतिक्रिया