प्रतिबन्धित नेकपाद्वारा आयोजित कार्यक्रमको रिपोर्टिङ गर्ने सञ्चारकर्मी पक्राउ

प्रतिबन्धित नेकपाद्वारा आयोजित कार्यक्रमको रिपोर्टिङ गर्ने सञ्चारकर्मी पक्राउ



जिल्ला प्रहरी कार्यालय कास्कीले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी कास्कीका नेता, कार्यकर्ता तथा पत्रकारलाई सोमबार साँझ ७ बजे पक्राउ गरेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कास्कीले ७औँ पार्टी पुनर्गठन दिवसको सन्दर्भमा ‘जनसभा’ गरेर फर्कंदै गर्दा बाटोमा प्रहरीले घेरा हालेर सञ्चारकर्मीसहित नेता–कार्यकर्ताहरूलाई पक्राउ गरेको हो ।

नेकपा कास्कीले सोमबार पोखरा महानगरपालिका वडा नं. ३३ देउरालीवस्तीस्थित सुकुम्वासीबस्तीमा कार्यक्रमको आयोजना गरेको थियो । जनसभा भनिएको सो कार्यक्रमलाई नेकपा कास्कीका सेक्रेटरी विश्वासले सम्बोधन गरेका थिए ।

साँझ ७ बजे समाचार संकलन गरेर फर्किंदै गर्दा बाटैमा प्रहरीले स्थानीय सञ्चारकर्मी राजकुमार घिमिरेलाई समेत पक्राउ गरेको बताइएको छ । प्रतिबन्धित नेकपाका अन्य नेता तथा कार्यकर्ता को–को पक्राउ परे भन्ने विषयमा एकिन हुन नसकेको नेकपा कास्कीले जानकारी दिएको छ ।

सञ्चारकेन्द्र डटकमका पोखरा प्रतिनिधि तथा पोखरापाटी डटकमका सञ्चालक समेत रहेका घिमिरेलाई यसअघि पनि पक्राउ गर्दा नेपाल पत्रकार महासंघको मिसन टोलीले पोखरामा प्रहरी प्रशासनसँग छलफल गरी रिहा गरेको थियो ।

प्रतिबन्धित नेकपाको कार्यक्रममा समाचार संकलनका लागि सहभागी हुने पत्रकारमाथि यसअघि पनि सुरक्षाकर्मीले दुःख दिँदै आएका बताइन्छ ।

झण्डै आधा दर्जन पत्रकारहरुलाई विभिन्न स्वार्थ र नियतवश दुःख दिन थालेपछि नेपाल पत्रकार महासंघ केन्द्र र कास्कीका प्रतिनिधिसहितको टोलीले छलफल गरी यो विषय टुङ्ग्याएको थियो ।