कांग्रेस महाधिवेशन आगामी चैत-वैशाखमा गर्न नेता शेखरको सुझाव

कांग्रेस महाधिवेशन आगामी चैत-वैशाखमा गर्न नेता शेखरको सुझाव



नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशन निर्धारित समयमै गर्नुपर्ने जिकिर गरेका छन् । कांग्रेसको सुनसरी-काठमाडौँ सम्पर्क समितिले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा उनले कोरोना भाइरस सङ्क्रमण कारण निर्धारित समयमा गर्न नसकिए आगामी चैत-वैशाखसम्म भए पनि सम्पन्न गर्नुपर्ने धारणा राखेका हुन् ।

महाधिवेशन समयमा गर्नुपर्ने भए पनि पार्टी नेतृत्व अल्मलिएको जस्तो देखिएको औंल्याउँदै उनले जिल्लामा क्रियाशील सदस्यताको विषयमा चनाखो भएर लाग्न कार्यकर्तालाई निर्देशन दिए । नेता कोइरालाले कांग्रेसमा अधिवेशनका बेला मात्र चलायमान हुने परम्परालाई हटाउँदै वर्षभरी नै चलायमान हुँदा मात्र पार्टी बलियो हुने प्रष्ट्याए ।

डा. कोइरालाले कांग्रेसले पार्टीका आधारभूत सिद्धान्तमा कुनै पनि हालतमा सम्झौता नगर्ने उल्लेख गर्दै कांग्रेस पुनःबलियो अवस्थामा फर्कन देशभरका सबै कार्यकर्ता एकजुट हुनुपर्ने औंल्याए ।