पार्टी फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आश नगर्न खनालको चेतावनी

पार्टी फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आश नगर्न खनालको चेतावनी



सत्तारुढ दल नेकपामा गुटगत विवाद बढेर पार्टी नै फुटको संघारमा पुगेको चर्चा चल्दै गर्दा सो दलका वरिष्ठ नेता झलनाथ खनालले कुनै हालतमा पनि पार्टी नफुट्ने दाबी गरेका छन् । पार्टीभित्र लामो समयदेखि चलेको बहस देखेर फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आश नगर्न उनले चेतावनी दिएका छन् ।

‘नेकपा फुटिदिन्छ कि मैले ठूलो भाग खान पाउँछु कि मैले रोटी सेक्न पाउँछु कि भनेर रोटी नबेल्दा पनि हुन्छ, अहिलेदेखि कसैले रोटी बेल्दैछ भने सेकाउने ठाउँ पाउनुहुन्न !’, इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा अस्पतालको शिलान्यास गर्दै उनले भने ।

नेकपाको अहिलेको छलफल र बहस देखेर पार्टी फुटको सङ्घारमा पुगेको अड्कलबाजी मिथ्या सावित हुने जिकिर उनले गरे । मिडियाले प्रचार गरेजस्तो नेकपा कच्चा नभएको भन्दै उनले भने, ‘खास गरेर मिडियामा बसेका कच्चा मानिसले गलत कुराको प्रचार गरिरहेका छन्, नेकपा फुट्छ भनेर कुर्लिएका छन्, तर म तपाईहरुलाई भन्छु नेकपा फुट्दैन, नेकपा टुट्दैन, यसलाई कसैले पनि फुटाउन सक्दैन, पार्टीभित्रको अहिलेको चलेको बहस र छलफलले अझै मजबुत बनाउँछ ।’

अहिलेको बहस पार्टीको एकताका पक्षमा रहेकाले नडराउन कार्यकर्तालाई आग्रह गर्दै खनालले नेकपालाई कसले फुटाउन सक्छ, कुन नीतिले फुटाउन सक्छ कुन कानूनले फुट्न सक्छ, हामी हेर्न चाहन्छौँ भन्दै चुनौती दिए । हामीलाई फुटाउने भनेको संविधानबमोजिम कानूनबमोजिम फुटाउन सक्नुपर्छ तर संविधान र कानूनले पार्टी फुटाउन दिँदैन तसर्थ हामी पार्टीलाई जोड्ने पक्षमा छौँ, बहस छलफलबाट आतिनुपर्ने कुरा छैन भन्ने उनको तर्क थियो ।