नेकपा विवाद : निर्णायक भूमिकामा वामदेव

नेकपा विवाद : निर्णायक भूमिकामा वामदेव



नेकपा सचिवालयको मङ्गलबार (मङ्सिर १६) भएको बैठकमा प्रचण्डले अर्काे लिखित स्पष्टिकरण दिएका छन् । केपी शर्मा ओली र प्रचण्डले प्रस्तुत गरेका लिखतहरूबारे सहभागी सबै सदस्यहरूको राय प्रस्तुत भएपछि त्यसलाई संश्लेषण गरी मिलाउन प्रयास गरिने र मिल्न नसकेका विषयहरू स्थायी समितिको बैठकमा छलफलका लागि पेस हुने बुझिएको छ । नेकपाले मङ्सिर १६ मा सचिवालयको, १८ गते स्थायी समितिको र २५ गते केन्द्रीय समितिको बैठक तय गरेको थियो । छलफल लम्बिन सक्ने भएकोले बैठकको तालिका केही परिवर्तन हुनुपर्ने सोच बनेको बुझिएको छ ।

प्रचण्डले सचिवालयको बैठकबाट केपीलाई पदमुक्त गराउन निर्णय लिने र त्यसैलाई स्थायी समिति र केन्द्रीय समितिबाट अनुमोदन गराउने योजना बनाएका थिए । संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गर्दा अनपेक्षित जोखिम उत्पन्न हुन सक्ने भएकोले पार्टीमा रहेको बहुमतको आडमा केपीविरुद्ध निर्णय लिने योजना बनेको हो । तर आन्तरिक परिस्थिति केही बदलिएकोले तत्कालै पार्टी विभाजन हुने सम्भावना न्यून भएको सङ्केतहरू देखिएका छन् ।

पार्टी विभाजन हुन नदिन वामदेव गौतमको भूमिका निर्णायक हुने विश्वास गरिएको छ । यदि यसपटक पनि वामदेवकै कारण केपीलाई विस्थापित गर्ने योजना सफल नहुने भयो भने प्रचण्ड पक्षले कस्तो रणनीति अवलम्बन गर्ला, प्रतीक्षाको विषय बनेको छ । नेकपाभित्रको स्थिति र मनस्थिति नियाल्दा फेरि पनि प्रचण्ड पछारिने या पार्टी विभाजन गरेर बाहिरिनुपर्ने सम्भावना देखापरेको छ ।