‘पार्टीलाई निषेध गरिएको’प्रति नेता पौडेलद्वारा आपत्ति प्रकट

‘पार्टीलाई निषेध गरिएको’प्रति नेता पौडेलद्वारा आपत्ति प्रकट



नेता पौडेलबाटै पुल उद्घाटन गराइने काङ्ग्रेसको तयारी


निषेधाज्ञा तोडेको आरोपमा बुधबार अपराह्न नियन्त्रणमा लिई दमौली (तनहुँ)स्थित प्रहरी कार्यालयमा राखिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको साढे तीन घण्टापछि रिहा गरियो ।

तनहुँको व्यास नगरपालिका-१ र १० जोड्ने बुल्दीखोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्न जाने क्रममा निषेधाज्ञा तोडेको आरोपमा अपराह्न २ बजे ‘सुरक्षाका लागि’ भन्दै नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । वरिष्ठ नेता पौडेललाई ५ः३० बजे मुक्त गरिएको थियो ।

प्रहरीले वरिष्ठ नेता पौडेल, काङ्ग्रेसका तनहुँ जिल्ला कार्यवाहक सभापति जीतप्रकाश आलेसहित १२ जनालाई नियन्त्रणमा लिएको थियो । त्यसपछि स्थानीय काङ्ग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले पुल उद्घाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा नियन्त्रणमा लिइएकोमा आपत्ति जनाउँदै भने- ‘तनहुँमा भएको घटनाप्रति देशभर निन्दा भइरहेको छ, उक्त घटनाको जति विरोध गरे पनि कम हुन्छ ।’

प्रहरी शक्तिको दुरुपयोग गरी काङ्ग्रेसलाई निषेध गर्न खोजिएको भनी नेता पौडेलले आपत्ति जनाए ।

यस्तै, नेपाल विद्यार्थी सङ्घले पार्टी वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै राजधानीमा विरोध प्रदर्शन गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले बुधबार साँझ काठमाडौंको माइतीघरमा गरेको प्रदर्शनपछिको सभामा अध्यक्ष राजीव ढुङ्गानाले पौडेललाई पक्राउ गरेर सरकारले निषेधको राजनीति गरेको आरोप लगाए ।

नेविसङ्घका महामन्त्री उर्मिला थपलिया र युवराज पाण्डे, नेता बलदेव तिमल्सिनालगायतले वरिष्ठ नेतालाई नियन्त्रणा लिएको घटनाको निन्दा गर्दै घटनामा संलग्नलाई कारबाही गर्न माग गरे ।

जिल्ला काङ्ग्रेस तनहुँले बुधबार भएको घटनाको विरोध गर्दै बिहीबार बिहान ११ बजे बैठक बसेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ । काङ्ग्रेस जिल्ला कार्यवाहक सभापति आलेले घटनाको निन्दा गर्दै आन्दोलन शुरु गरिने घोषणा गरेका हुन् ।

बुधबार अपराह्न प्रहरीसँग भएको झडपमा संविधानसभाका तत्कालीन सदस्य रामचन्द्र पौडेल, जिल्ला सचिव लक्ष्मी आचार्य, नेपाल ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष सूर्यचन्द्र हड्खले, नेपाल महिला सङ्घका सभापति पवित्रा पौडेल र महासमिति सदस्य रामचन्द्र अधिकारी घाइते भएको काङ्ग्रेसले जनाएको छ ।

पूर्वाधार विकास कार्यालयमार्फत सम्पन्न भएको पुलको उपभोक्ता समितिले उद्घाटनको कार्यक्रम राखेपछि कार्यालयले पत्र काटेर कार्यक्रम स्थगन गर्न आग्रह गरेको बताइन्छ । उपभोक्ता समितिले वरिष्ठ नेता पौडेललाई प्रमुख अतिथि बनाएपछि नेकपानिकट युवा सङ्घले सोही पुलमा बिहान विरोधसभा आयोजना गरेको थियो ।

दुवै पक्षबीच झडप हुन सक्ने सम्भावनालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । वरिष्ठ नेता पौडेल काङ्ग्रेस कार्यकर्तासहित पुल भएको स्थानमा जान खोजेपछि प्रहरीले रोकेको थियो । सोही क्रममा प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच झडप भएको थियो ।

सो पुलको बिहीबार बिहान ११ बजे वरिष्ठ नेता रामचन्द्र पौडेलबाटै उद्घाटन गरिने कार्यक्रम रहेको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् ।