सरकारको सर्वसत्तावादी प्रवृत्तिविरुद्ध काङ्ग्रेसले देशैभर विरोध प्रदर्शन गर्ने

सरकारको सर्वसत्तावादी प्रवृत्तिविरुद्ध काङ्ग्रेसले देशैभर विरोध प्रदर्शन गर्ने



प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले कम्युनिष्ट सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । वर्तमान सरकार निरन्तर रूपमा दमन, भ्रष्टाचार र कोरोना महामारी अव्यवस्थापनको पर्याय बन्न पुगेको आरोपसहित काङ्ग्रेसले ७७ वटै जिल्लामा यही मंसिर २९ गते विरोध प्रदर्शन गर्न लागेको हो ।

शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी बैठकको निर्णय सार्वजनिक गर्दै कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सम्वर्द्धन नेपाली कांग्रेसको ऐतिहासिक अभिभारा रहेको बताए ।

तनहुँमा मंसिर १७ गते सरकारले प्रस्तुत गरेको दमनकारी व्यवहारलगायत देशका विभिन्न भागमा पटक–पटक सरकारबाट प्रस्तुत विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड–१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता र अकर्मण्यता तथा स्वास्थ्य सामग्री खरिदमा गरिएको भ्रष्टाचारलगायतका अनेक भ्रष्टाचार काण्ड र बेथितिविरुद्ध २९ मंसिरमा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय भएको मुख्यसचिव पौडेलले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

यस्तै, संसद बैठक बोलाउनु अत्यावश्यक भएको भन्दै तत्काल संसदको बैठक बोलाउन पनि कांग्रेसले माग गरेको छ ।