नवौँ राष्ट्रिय खेलकुद कोरोनाको चपेटामा !

नवौँ राष्ट्रिय खेलकुद कोरोनाको चपेटामा !



सरकारले गऱ्यो, खेलाडीको ‘इमोसनल ब्ल्याकमेलिङ’

■ श्रीविक्रम भण्डारी

अधिकांश राष्ट्रिय खेलकुद सङ्घ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको पक्षमा सकारात्मक देखिए पनि खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद विपक्षमा देखिएका छन् । मन्त्रालय र परिषदले कोरोनाको बहाना बनाएर खेलाडीहरूको सुरक्षाप्रति संवेदनशील हुनुपर्ने तर्क राख्दै नवौँ राष्ट्रिय खेलकुदको आयोजनाबाट पन्छिएका हुन् । मन्त्रालय र परिषदले गत साता आयोजना गरेको राष्ट्रिय सङ्घहरूसँगको अन्तरक्रिया कार्यक्रममा आगामी फागुन महिनाको तेस्रो सातामा गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने निष्कर्ष निकालेका हुन् । खेलकुदमन्त्री र राखेपका सदस्यसचिवले तोकिएको समयमा नवौँ राष्ट्रिय खेलकुद नहुने सङ्केत गरेपछि अब उक्त प्रतियोगिताको नयाँ मिति कहिले तोकिन्छ, त्यसको छिनोफानो राखेपको बोर्ड बैठकले गर्ने तय भएको छ ।

अन्तरक्रिया कार्यक्रमको आरम्भमै सदस्यसचिव रमेशकुमार सिलवालले कोरोनाको कारण वर्तमान अवस्थामा नवौँ राष्ट्रिय खेलकुद हुन नसक्ने धारणा राखेका थिए । सिलवालले भौतिक पूर्वाधार तयारी अवस्थामा भए पनि प्रतियोगिताको लागि स्थानीय तहदेखि छनोट गर्नुपर्ने भएकोले त्यसको लागि यो समय अपुग हुने तर्क गरे । त्यस्तै, राष्ट्रिय पर्वको रूपमा आयोजना हुने राष्ट्रिय खेलकुदलाई हचुवाको भरमा आयोजना गर्नुभन्दा समय सार्दा नै उपयुक्त हुने उनको कथन थियो । राष्ट्रिय सङ्घका पदाधिकारीहरूको कुनै सुनुवाइबेगर नै कार्यक्रमको शुरुमै सदस्यसचिव सिलवालले नवौँ राष्ट्रिय तोकिएको समयमा नहुने धारणा राखेपछि अन्तरक्रिया गर्नुको औचित्य आरम्भमै समाप्त भएको थियो ।

त्यस्तै, आगोमा घ्यू थप्ने कार्य खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले गरे । उनले सदस्यसचिव सिलवालको बोलीमा सहमति जनाउँदै घुमाउरो पाराले समर्थन गरे । साथै सरकारको मुख्य चासो खेलाडीहरूको सुरक्षा भएको बताउँदै स्वास्थ्य-सुरक्षा मापदण्ड प्रयोग गरेर मात्र खेल गतिविधि सञ्चालन गर्न स्वीकृति दिएको खुलासा गरे । यस्तो गम्भीर अवस्थामा आफू सरकारी निर्णयको विरुद्धमा जान नसक्ने र खेलाडीहरूको सुरक्षाको लागि कुनै जोखिम उठाउन नसक्ने बताए । कोरोनाको सङ्क्रमण न्युन भए पनि महामारी कायमै रहेको भन्दै मन्त्री सुनारले भने– ‘यस्तो सन्त्रासको माहोलमा नवौँ राष्ट्रिय खेलकुद गर्नुको औचित्य पुष्टि हुन सक्दैन ।’ त्यस्तै, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पनि नवौँ राष्ट्रिय खेलकुदलाई ‘राष्ट्रिय पर्व’को संज्ञा दिँदै यस्तो प्रतियोगिता हचुवाको भरमा गर्न नमिल्ने र निर्धारित समय हुन नसक्ने बताए ।

यसरी खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीका पदाधिकारीले निर्धारित समयमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन नसक्ने बताएपछि उक्त कार्यक्रम अन्तरक्रिया भन्दा पनि ‘घोषणा–बैठक’मा परिणत भएको थियो । सम्बन्धित तीन वटै निकायले नवौँ राष्ट्रिय हुन आगामी फागुन २० गतेदेखि हुन नसक्ने सङ्केत गरेपछि सङ्घका पदाधिकारीको उपस्थिति कानेखुसीमै सीमित भयो । उनीहरू भन्दै थिए– ‘सम्बन्धित निकाय तयार भए हामी निर्धारित समयमै प्रतिस्पर्धामा खेलाडी उतार्न तयार छौँ ।’ तर सम्बन्धित निकाय नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने भन्दा पनि परतिर धकेल्र्ने नियतमा रहेकाले गर्दा सङ्घका पदाधिकारी तैँ चुप मै चुप भएका थिए ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा नगरी परतिर पन्छाउनुमा कोरोना र खेलाडीको सुरक्षा त एउटा बहाना मात्रै हो । गुह्य कुरो त सरकार नै फागुनमा प्रतियोगिता गर्न चाहँदैनथ्यो । यतिबेला सत्तारुढ दलको आन्तरिक कलहका कारण सरकारको हालत नै खतरापूर्ण बनेको छ । कुनबेला राजनीतिक दुर्घटनामा पर्ने हो- कुनै टुङ्गो छैन । यस्तो अवस्थामा सरकार बचाउने कि खेलकुद प्रतियोगिता गर्ने भन्ने सवालमा सरकार नै प्राथमिकतामा पर्नु स्वभाविकै हो । अझ १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा खेलकुद मन्त्रीदेखि सदस्यसचिव र नेकपाका कार्यकर्ताले अकुत कमाएर बदनाम भइसकेका कारणले पनि नवौँ राष्ट्रिय खेलकुदप्रति सरकारले त्यस्तो चासो नराखेको हुन सक्छ । अर्को कुरा यतिबेला मुलुक आर्थिक सङ्कटमा फसेको छ जसले गर्दा नवौँको लागि बजेट व्यवस्था गर्न नसक्ने अवस्थाले पनि समय सार्नुलाई नै विकल्पको हतियार बनाइएको हुन सक्ने अनुमान गरिएको छ । स्रोतका अनुसार राखेपले मन्त्रालयसँग नवौँ राष्ट्रिय खेलकुदको आयोजनाको बारेमा छलफल गर्दा यतिबेला मुलुकलाई आर्थिक भार पर्ने कुनै किसिमको गतिविधि सञ्चालन नगर्ने सरकारी निर्देशनअनुसार यस्तो निर्णय गरिएको बताइन्छ । त्यसैले अहिले सम्बन्धित निकायले प्रतियोगिताको उत्ताराद्र्धमा अन्तरक्रियामार्फत आफ्नो धारणा राखेको हो ।

सरकारको यो अप्रिय निर्णयले खेलाडीहरूको एक वर्षको मेहनत बालुवामा पानी हालेसरह भएको छ । उनीहरू आफ्नो खेल्न पाउने अधिकारबाट नै वञ्चित भएका छन् । नवौँ राष्ट्रिय खेलकुदको लागि भनेर खेलाडीले गरेको तयारीमा कुठाराघात भएको छ । कोरोना कहरका बाबजुद आफ्नो ज्यानलाई दाउमा लगाएर प्रशिक्षणलाई निरन्तरता दिएका विभिन्न खेलका खेलाडी र पदाधिकारीहरू अहिले निराश भएका छन् । अझ खेलाडीको सुरक्षाको मुद्दा बनाउँदै सम्बन्धित निकायले निर्णय गरेका कारण उनीहरू दबाबमा परेका छन् । अब नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति कहिले तोकिन्छ यसको प्रतीक्षामा छन् खेलाडी । मिति तोकिएला तर त्यो समयमा पनि कोरोनाको कहर सकिएन भने के हुन्छ ? अन्योलमा छन् खेलाडी । साँचो अर्थमा भन्नुपर्दा खेलाडीहरू नवौँ राष्ट्रिय खेलकुद हुन्छ कि हुँदैन भन्नेमा यकिन गर्न नै सकिरहेका छैनन् ।

यतिबेला विश्वका खालि रङ्गशालामा खेलप्रेमीहरूको उपस्थिति देख्दा खेलाडीहरूले कोरोना पराजित भएको महसुस गर्दै थिए । यस्तो दृष्य देख्दा अब चाँडै नेपालमा पनि खेलाडीका दिन फर्कने विश्वास गरिएको थियो । त्यसमाथि कोरोनाको भ्याक्सिन उत्पादन भइ विश्वका विभिन्न देशले खोप लगाउन शुरु नै गरिसकेका र नेपालमा पनि खोप झिकाउने प्रक्रिया भइरहेको सन्दर्भमा खेलाडीहरू पनि प्रफुल्लित हुनु स्वभाविकै थियो । तर कोरोना माहामारीपछि खेलकुदका कुनै पनि गतिविधि सञ्चालन गर्न नसकेको खेलकुद मन्त्रालय र राखेपले तीन महिनापछि आयोजना हुने प्रतियोगिताकै समय सारेर खेलाडीहरूलाई खेल्नबाट वञ्चित मात्रै नगरी उनीहरूको खेल भावनामा समेत ठूलो चोट पु¥याएको छ । उनीहरूले राष्ट्रिय प्रतियोगिताकै लागि बगाएको पसिनाको अवमूल्यन गरेको छ ।

सबैलाई ज्ञात भएकै कुरा हो, भर्खरै ढलान गरी पानी तपतप चुहिरहेको धनगढीको रङ्गशालामा छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना भएको थियो । सातौँमा विराटनगर रङ्गशाला बाहेक नेपालगञ्जमा आयोजना भएको आठौँ राष्ट्रिय खेलकुदमा पनि नेपालगञ्ज रङ्गशालाको प्यारापीट उद्घाटन समारोहसम्म फिटिङ हुँदै थियो । त्यतिबेला मुलुकमा कोरोनाको माहामारी नभए पनि भौतिक पूर्वाधारको कमी अत्याधिक थियो । यिनै कारणले ती राष्ट्रिय खेलकुदको आयोजनाप्रति प्रश्नचिन्ह समेत खडा भएको थियो । तुलनात्मक हिसाबले त्यतिबेला पूर्वाधारको मारामारी थियो भने अहिले कोरोनाको, फरक यति मात्रै हो । सरकारले चाहेको भए तीन महिनाभित्र आरामले नवौँ राष्ट्रियको आयोजना गर्न सक्थ्यो तर गरेन । साँचो अर्थमा भन्नुपर्दा सम्बन्धित निकायले कोरोनालाई पूर्वाधार भन्दा बढी जोखिमपूर्ण मान्यो । खेलाडीको सुरक्षाको कारण देखाउँदै ‘इमोसनल ब्ल्याकमेलिङ’ ग¥यो, यथार्थ पनि यही हो । जय होस् ।