एनआरएन बेल्जियममा जुलाई १८ को सन्देश

एनआरएन बेल्जियममा जुलाई १८ को सन्देश


एनआरएनए बेल्जियममा सहमति हुन सक्ने आधार र परिणामबारे सामयिक बहस

  • डिल्लीराम अम्माई, बेल्जियम

‘यदि राम्रो परिस्थिति बन्यो भने हामी जित्छौैँ’- बेल्जियमका तीनैजना अध्यक्षका उम्मेदवार र तिनका गठबन्धनहरुको तुफानी गफको निचोड यत्ति हो । जहिले पनि त्यो कहिन्छ तर हुन्छ अर्कै ! मतदाता जहिले पनि आफ्नो आदेशको पालना गरिरहन्छन् भन्ने सामन्ती प्रवृत्ति बेल्जियमको नेपाली नेतृत्वमा देखिन्छ । त्यसैले एनआरएनको चुनावमा समुदायको दबाबमा बाहेक सहमतिको पहल भएको देखिँदैन । त्यति हुँदाहुँदै पनि बेल्जियममा सहमति भएका केही अभ्यासहरु छन् ।

निवर्तमान अध्यक्ष चित्र सुवेदीको टीम सहमतिको पछिल्लो उदाहरण हो । ‘सहमतिू अनुकुल अवस्थामा मात्र हुने कुरा गरिन्छ। अथवा आफू पूर्ण रुपमा हार्ने ग्यारेन्टी भएपछि मात्र सहमति गरिने प्रचलन देखिन्छ । जस्तै, अघिल्लोपटकको सहमतिमा त्यही मनोविज्ञानले काम गरेको थियो । त्यो अवसरवादी कुरा हो । मैले यहाँ राख्न खोजेको कुरा समुदायको हितलाई ध्यानमा राखेर सहमतिलाई प्रणालीको रुपमा विकास गरौँ भन्ने अर्थमा हो ।

आमसहमति भनेको आफ्नो अध्यक्षताको ग्यारेन्टी गर्दै सहमति गरे जायज अन्यथा नाजायज भन्दै साथीहरु टाढिने वा समुदायको हितमा गरिने कुनै पनि सहमतिलाई अस्विकार गर्ने अर्थमा बुझ्नु जायज हैन । समाजको हितको अधिनस्थ आफ्नो हित जोड्ने र सन्तुलित पहलकर्ताहरुको होमवर्कलाई सम्मान गर्ने परम्पराले सहमतीय अभ्यासलाई हुर्कन मद्दत गर्छ । अपवादबाहेक सहमतीय प्रजातान्त्रिक अभ्यास बेल्जियम, लग्जेम्बर्ग लगायत धेरै मुलुकका नेपाली संघसंस्थाहरुमा आंशिक रुपले सफल भएका छन्, त्यो सुखद अभ्यास हो ।

बेल्जियममा अहिले सहमतिको प्रयास घनिभूत देखिएको छैन र, बेल्जियमभित्र रहेका संघ–संगठनहरुको गतिविधि र रवैयालाई हेर्दा अबको परिस्थिति पनि सहमतिको लागि सहज हुने देखिँदैन भनेर जुलाई १८ को अधिवेशनमा केही मित्रहरुले गुनासो गरेको देखियो । त्यसलाई एक अर्थमा नेपालका राजनैतिक गतिविधिको प्रभाव पनि भनिने गरेको छ । केहि हदसम्म त्यो सत्य पनि होला ।

यदि अहिलेको अवस्थामा सहमतिको प्रयासलाई कमजोरहरुको हतियार वा मार्गको रुपमा बुझ्ने हो भने त्यसले केन्द्रिय निर्वाचनमा समेत बेल्जियमको एकीकृत मतलाई विभाजन गरेर केन्द्रको शीर्ष नेतृत्वमा पुग्दै गरेका शिव बरुवाल, लोक दाहाल, जानकी गुरुङ लगायत केही अग्रजहरुको आगामी अभियानमा नकारात्मक प्रभाव पार्नेछ । त्यसैले त्यसको नकारात्मक प्रभाव रोक्न, हाम्रा नेतृत्वलाई केन्द्रमा स्थापित बनाउन र युरोपको राजधानीबाट संसारभर सहकार्य तथा सहमतिको सकारात्मक संवेगलाई प्रवाहित गर्न सहमति अति आवश्यक छ । प्रतिस्पर्धामा परस्पर उभिएका साथीहरुले यो संस्थाको अलिक परको क्षीतिजसम्म हेर्नु आवश्यक छ । अहिलेका प्रतिष्पर्धीहरु भोलिका डिआरसी, आरसी र केन्द्रका नेतृत्वकर्ता पनि हुन् । यदि त्यो दृश्यलाई जुम गरेर हेऱ्यौँ भने अहिलेको प्रतिष्पर्धालाई सहमतिमा टुङ्ग्याउन पक्कै बल मिल्ने छ।

बुझ्नु आवश्यक छ कि नेतृत्वमा जाँदै गर्दा यो समाजको मतले शत्रुतापूर्ण रुप नलिओस् । त्यसले हाम्रा अग्रज नेतृत्व जो केन्द्रमा स्थापित हुँदैहुनुहुन्छ, उहाँहरुलाई नकारात्मक असर नपरोस् । यदि त्यो अवस्था पछिसम्म रह्योभने अर्को पुस्तालाई पनि केन्द्रमा जाने बाटो बन्द गरिदिने छ । केन्द्रमा जान र आफ्ना अभियानहरुलाई सफल बनाउन सर्वप्रथम घर बलियो हुनुपर्छ, जुन सहमतीय एकताबाट मात्र सम्भव छ।

त्यसैले बेल्जियममा रहेका विभिन्न आस्थाका भातृ संगठनमा देखिएका अन्तरविरोधहरुलाई चुनावी माहोलमा मजाले जमाउन खोज्ने परम्परालाई तोड्नु आवश्यक छ । ति अन्तरविरोध एनआरएनमा छिराउनु पनि त्यति जायज हैन । तर भित्रि या बाहिरी गतिविधिहरुलाई नियालेर हेर्दा मिलेका शक्तिहरुमा पनि संगठनको निर्णयलाई मान्ने र संगठनलाई जिताउने संकल्पहरु जुँगाको लडाइँले गर्दा सुकेको च्याउ जस्तो खुम्चिएका केही नजिरहरु छन् । यसलाई एनआरएनए अभियानको सहमतीय एकताले रोक्नुको अर्को विकल्प छैन।

मित्रहरु ‘जुँगाको सिँगौरीले आफ्नै जुँगामा खोइरो लाग्ने हो । नेपालको वर्तमान राजनैतिक प्रवृत्तिलाई सम्बन्धित संगठनको नेतृत्वले बेल्जियममा छिर्न दिनु हुँदैन र अझ कमसेकम चार–चार जना केन्द्रमा जाँदै गरेका अग्रजहरुको अभियानमा असर पर्ने गरेर प्रतिस्पर्धा गर्नु जायज हो जस्तो लाग्दैन । हाम्रो समुदायभित्रको मजबुत एकताले एनआरएनएको केन्द्रिय नेतृत्व जित्ने परिस्थिति बन्दै जाने देखिन्छ । त्यसले आगामी पुस्ताको केन्द्रमा पुग्ने पहुँचलाई समेत सहज बनाउने छ।

तुरुन्त असिम त्यागको भावनासहित सहमतिमा नेतृत्व चुन्न हामीहरुले अब ढिला गर्नु हुँदैन । किनकि हामीहरु एनआरएनए बेल्जियमको समिति घोषणाको सन्मुख छौँ । सहमतिलाई तात्कालिक रुपमा भए पनि समाधान गर्न ढिलाई गर्नु भनेको बेल्जियमको सानो समुदाय र केन्द्रको नेतृत्वको तयारि गर्नुभएका अग्रजहरुलाई समेत रोक्न खोज्नुसरह हो ।

सहमतिको सम्भावना :

बेल्जियममा आमसहमतिको सम्भावना हुँदै नभएको हैन, हर प्रकारले सहमतिको सम्भावना छ । अझैसम्म राजनैतिक संगठनबीचको प्रतिष्पर्धा सन्तुलित हुँदाहुँदै पनि यहाँ रहेका ठुला संगठनभित्र बुझिनसक्नुका गुटउपगुट झाङ्गिदो अवस्थामा छन् । नेपालमा पार्टी फुट्दा फुट्ने र जुट्दा मिलिहाल्ने रोगले यहाँ पनि समस्या पैदा गरेको छ । त्यो विषयमा धेरै टिप्पणी गर्नुभन्दा बुझेर यहाँको धरातलमा उभिनु जायज होला ।

नेपालको राजनैतिक छायांकन र स्थानीय ब्यक्तिगत इगोबाट जन्मिएका यिनै उपगुटहरुको कारणले नेतृत्वलाई निर्णयमा पुग्न र निर्णय भैहाले पनि कार्यान्वयनमा जान बाधा उत्पन्न गरिरहेको छ भन्ने मेरो बुझाइ हो । कुनै खेमामा त झन् आफ्नो इमान्दार कार्यकर्तालाई अर्को खेमाको कुनै ब्याक्तिले पदको लागि प्रस्ताव गऱ्यो भने पनि शंका गर्ने अवस्था छ। ‘गुट हाबी हुनुहुन्न’ भन्नेहरु नै स्वार्थवश बनेका गुटको हर्ताकर्ता छन् । त्यसैले संगठनभित्रको मुख्य समस्या उनीहरुका कार्यकर्तामा हैन सारतः नेतृत्वमा देखिन्छ । यसलाई पनि बेलैमा करेक्सन गर्दा केन्द्रमा जाने र यहाँ नेतृत्व गर्ने साथीहरुलाई सहज हुनेछ । विमतिमा रमाउने ती मनोरोगी कथित नेतृत्वकर्ताहरुलाई समुदायले उनीहरुका चलखेल गर्ने प्वालहरु बेलैमा टालीदिने हो भने पनि सहमतिको परम्परालाई दीगो बनाउन सहज हुने तर्क गर्न सकिन्छ ।

धारणा :

केन्द्रमा जाने अग्रजहरुले पनि आफ्नो जितको मुख्य आधार बाहिर बाहिर खोज्नु कदापि जायज हैन । बाहिरको कमजोरीमा खेल्न सक्नु राम्रो हो तर जित्नको लागि आन्तरिक एकता मजबुत बनाइनु नै मुख्य कुरा हुन्छ । एकीकृत समुदायमा विगतदेखिका अन्तरविरोधहरु समाधान हुने दिशातर्फ गए, प्रतिष्पर्धी खेमाले आफ्नो एकतालाई मजबुत बनाउँदै गयो भने क्षेत्र र केन्द्रमा जाने उम्मेदवारले जित्ने सम्भावना प्रवल देखिन्छ ।

सहमतिका तत्वहरु :

समावेशिता ,समान क्षेत्रीय, जातिय र लैंगिक प्रतिनिधित्वको ग्यारेन्टी, जनसमुदायका सबै तह र तप्कालाई अपनत्वको अनुभूति हुने गरेर सहमतिका आधार बनाइनुपर्छ। त्यसले समुदायको एकतालाई मजबुत बनाउँछ। यही जुलाई १८ मा बेल्जियममा भएको अधिवेशनले केन्द्रले ल्याएका रुपान्तरण योजनालाई अभ्यासमा लैजाने, सहमतिको अभ्यासलाई निरन्तरता दिने र क्षेत्रदेखि केन्द्रसम्म आफ्नो देशको प्रतिनिधित्वलाई स्थापित गराउने दिशामा पहल गर्ने संकल्प गरेको छ । त्यसको मर्मलाई सहजतापुर्वक बुझ्दै सबै बेल्जियमबासी नेपालीले गम्भीर भएर सोच्नु जरुरी छ।

यिनै निर्धारित मार्गमा टेकेर केन्द्रमा समेत बेल्जियमको सुन्दर प्रतिनिधित्वको लागि अग्रजहरुसँग ऐक्यबद्धता जाहेर गर्दै सहमतिको पहल गरौँ। त्यही बिन्दुमा सहमतिको लागि निर्णायक वार्ताले सार्थकता पाउने सम्भावना रहन्छ, अन्यथा गुट उपगुटहरुको जेलो नफ़ुकाइकन गरिने सहमतिको वार्ता केवल कफीगफ मात्र हो । त्यसले हामीलाई सही ठाउँमा पुऱ्याउँदैन।

(पङ्क्तिकार पत्रकार महासंघ युरोपका सल्लाहकारका साथै एनआरएनए अन्तर्राष्ट्रिय मिडिया समितिका सदस्य हुन् ।)