बीपीस्मृति दिवस र काङ्ग्रेसको नियति !

बीपीस्मृति दिवस र काङ्ग्रेसको नियति !


‘राष्ट्र भनेको जनता हो, राष्ट्रियता भनेको जनताको भावना हो’ भन्ने बीपीको सोच थियो, तर यो आदर्श आजको काङ्ग्रेसले चटक्कै बिर्सिएको छ । बीपीको काङ्ग्रेस आफ्नो मूल्य-मान्यताबाट यसरी स्खलित हुन पुगेको छ र, काङ्ग्रेसको आदर्श स्खलित तुल्याउने कर्मका लागि आजका मूल नेतृत्वकर्ता नै मुख्य जिम्मेवार देखिएका छन् । बीपीको सोच र मान्यताभन्दा एक सय असी डिग्री फरक रहँदै आज काङ्ग्रेस पार्टी कथित कम्युनिष्टको भरिया बन्ने अवस्थामा आइपुगेको छ ।


आज नेपाली काङ्ग्रेसका संस्थापक एवम् देशका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९औँ स्मृति दिवस । नेपालको राजनीतिक इतिहासका एक अहम् व्यक्तित्व जसको जीवन देशमा प्रजातन्त्र र समाजवादको स्थापनाको लागि चिन्तन एवम् सङ्घर्ष गरेरै सकियो र, प्रजातान्त्रिक समाजवादको दर्शनका लागि सह्राइएका उनै बीपी कोइरालाले स्थापना गरेको दलका प्रमुख व्यक्ति यतिबेला देशको शासन गर्ने मुख्य आसनमा विराजमान हुन पुगेका छन् । अर्थात्, आफूलाई बीपीको सच्चा कार्यकर्ता/अनुयायी भनेर चिनाउँदै पार्टीकै कमाण्डर ओहदासम्म पुग्न सफल पात्रको हातमा यतिबेला देशलाई डोऱ्याउने लगाम परेको छ । सम्झाइरहनु पर्दैन कि काङ्ग्रेसका सभापति रहेका यी पात्र प्रधानमन्त्रीको रूपमा पाँचौँ पटक शासनको बागडोर सम्हाल्ने अवसर पाउने दुर्लभ ‘भाग्यमानी’मध्ये पर्दछन् ।

बीपी जस्ता महामानवको स्मृति दिवस मनाइनुको आफ्नै महत्व र सार्थकता रहन्छ । हरेक वर्ष बीपी स्मृति दिवसको नाममा काङ्ग्रेसजनहरू विभिन्न कार्यक्रम आयोजना गरेर बीपीलाई स्मरण गर्छन्, उनको सोच/शैली/दर्शनको बखान गर्छन् । यो विडम्बना हो कि पछिल्ला निकै वर्षयता बीपी स्मृति र बीपी जयन्ति जस्ता कार्यक्रम फगत झारा टार्ने शैलीमा हुँदै आएका छन् । हुँदा-हुँदा अब त कर्मकाण्डीय तवरबाट पनि बीपीको नाममा सभा-समारोहको आयोजना हुन छोडेको छ । अर्थात्, बीपीको नाम जप्नेहरूले उनलाई हृदयबाट निकालिसकेका छन्, उनको आदर्श अनुशरण त परै रह्यो- अनुशरणको कुरा गर्ने ढोँग प्रदर्शनमा पनि कञ्जुस्याइँ गरिन थालिएको छ । ‘राष्ट्र भनेको जनता हो, राष्ट्रियता भनेको जनताको भावना हो’ भन्ने बीपीको सोच थियो, तर यो आदर्श आजको काङ्ग्रेसले चटक्कै बिर्सिएको छ । बीपीको काङ्ग्रेस आफ्नो मूल्य-मान्यताबाट यसरी स्खलित हुन पुगेको छ र, काङ्ग्रेसको आदर्श स्खलित तुल्याउने कर्मका लागि आजका मूल नेतृत्वकर्ता नै मुख्य जिम्मेवार देखिएका छन् । बीपीको सोच र मान्यताभन्दा एक सय असी डिग्री फरक रहँदै आज काङ्ग्रेस पार्टी कथित कम्युनिष्टको भरिया बन्ने अवस्थामा आइपुगेको छ ।

सच्चा काङ्ग्रेसजनहरू यतिबेला बीपीको पार्टीलाई ‘वामपन्थी काङ्ग्रेस’को विशेषण दिएर सम्बोधन गर्न विवश बनेका छन् । स्वदेशमा प्रजातन्त्र स्थापनार्थ सङ्घर्षको क्रममा आफू भारत निर्वासनमा रहँदा जब देश नै नरहने हो कि भन्ने आशङ्का बीपीभित्र पलायो, त्यस अवस्थामा आफ्नो जीवन र जीवन-दर्शनलाई नै धरापमा हालेर राष्ट्रिय मेलमिलापको नीतिका साथ बीपी स्वदेश फर्किएका थिए । २०३३ साल पौष १६ गतेको उक्त ऐतिहासिक दिनको सम्झना आजको काङ्ग्रेस नेतृत्वलाई अवश्यै होला, तर त्यो दिन सम्झेर पनि त्यसको महत्व बिर्सिएको अभिनय गर्दैछ आज काङ्ग्रेस नेतृत्व । परिणामतः फगत सत्ताको लागि कम्युनिष्टको तालमा नाच्नुमा आनन्द लिइरहेको छ काङ्ग्रेस यतिबेला । देश नरहला कि भन्ने चिन्ताका कारण बीपीले पदलाई महत्व दिएनन्, यसको ठिक विपरीत पदको लागि देशै नरहे नरहोस् भन्ने मानसिकताका साथ आजका नेता अघि बढिरहेका छन् । यस्तो परिवेशमा बीपीको सम्झना किन र कसरी गर्ने भन्ने अन्योलता काङ्ग्रेसभित्रका विभिन्न तह-तप्कामा पैदा हुनु अस्वाभाविक छैन ।

काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको साता दिन बितेको छ । यस अवधिबीच आम काङ्ग्रेसजनमा कुनै उत्साह-उमङ्ग देखिएको छैन । वास्तविक काङ्ग्रेस उत्साही बन्नुपर्ने कारण पनि छैन, किनकि यो आफ्नै बलबुताले स्वभाविक तवरमा बनेको काङ्ग्रेस पार्टीको सरकार होइन र, त्यसभन्दा पनि गम्भीर त काङ्ग्रेसका सभापतिलाई यो जिम्मेवारीमा पुऱ्याउन प्रत्यक्ष रूपमा हिजो हत्या-हिंसा मच्चाएर देशलाई रसातलमा पुऱ्याउनेहरू र तिनका मतियारहरूको भूमिका देखिएको छ भने परोक्ष रूपमा बाह्य शक्तिको विशेष चासो र सक्रियता रहेको जगजाहेर नै छ । यस्तोमा प्रधानमन्त्रीको रूपमा काङ्ग्रेस सभापति देउवाले देशका लागि त केही गर्न सक्ने अवस्था छैन भने दलको निम्ति गर्ने त सवाल नै रहेन । ‘जुन कुरा गर्दा जनताको हित हुन्छ त्यही नै हो आजको सन्दर्भमा प्रजातान्त्रिक समाजवाद’ भन्ने बीपीद्वारा प्रतिपादित विचार हो, यस्ता जनहितकारी सोच वा अवधारणा लागू गर्न सक्ने ल्याकत प्रधानमन्त्री देउवामा रहेको विश्वास आज सामान्य काङ्ग्रेसजनमा पनि रहेको अनुभूति गरिन्न । प्रधानमन्त्रीको रूपमा देउवाका आफ्नै चुनौती होलान्, काङ्ग्रेस र देश जोगाउने चुनौतीचाहिँ तमाम काङ्ग्रेसजन ताथ आमनेपालीका सामु खडा भएको छ । बीपीको ३९औँ स्मृति दिवसको सन्दर्भमा यति मात्र मनन गर्नु सम्बन्धित सबैको कर्तव्य हो भन्दा अत्युक्ति नहोला ।