बीपीको विचार र यसको सान्दर्भिकता

बीपीको विचार र यसको सान्दर्भिकता


(सन्दर्भ : ३९औँ बीपी स्मृति दिवस)
  • श्याम लम्साल

आज साउन ६ गते अर्थात् नेपालको राजनीति र साहित्यिक क्षेत्रका मूर्धन्य व्यक्तित्व विश्वेश्वरप्रसाद कोइराला भौतिक रूपमा यस संसारबाट विदा हुनुभएको दिन । वि.सं. १९७१ भदौ २४ गते बनारसमा पिता कृष्णप्रसाद र माता दिब्या कोइरालाको प्रथम पुत्ररत्नको रूपमा जन्मिनुभएका बीपी कोइरालाको २०३९ साल साउन ६ गते आजकै दिन निधन भएको थियो । राणा प्रधानमन्त्री चन्द्र शमसेरले देश निकाला गरेका कारण भारतमा प्रवासी जीवन बिताइरहेका पिताजी कृष्णप्रसादका दुई पत्नीमध्ये कान्छी पत्नी दिब्याको कोखबाट जन्मिनुभएका बीपीको न्वारानको नाम चुडामणि थियो भने परिवारले काशी विश्वनाथको प्रसाद ठानी विश्वेश्वर प्रसाद राखिदिएको भन्ने कुरा उहाँको जीवनी अध्ययन गर्दा थाहा लाग्छ । कहिले बिहारको भागलपुर, कहिले बनारस त कहिले कलकत्तामा रहेर जीविकोपार्जन गर्दैगरेको परिवारको सदस्य भएका कारण विभिन्न स्थानमा रही अध्ययन गर्नुभएका बीपीले बीए/बीएलको पढाई पूरा गरिसकेपश्चात् केही समय भारतको दार्जिर्लिङमा वकालतसमेत गर्नुभएको थियो । भारतीय संग्राममा संलग्न रहेवापत हजारीवाग जेलमा जेल जीवन बिताउने क्रममा राजेन्द्रबावु (पछि भारतका राष्ट्रपति), जगजीवन राम जस्ता भारतका ठूला नेताहरूसँग सान्निध्यमा रहनुभएका बीपीले अंग्रेजको पञ्जाबाट भारत स्वतन्त्र भएपश्चात् मात्र राणा शासनबाट नेपाललाई मुक्त गर्न सकिन्छ भन्ने बुझ्नुभएको थियो । बीपीले दुनियाँदार, रैती, प्रजा हुँदै नेपाली जनतालाई नागरिक बनाउने आन्दोलनको सिर्जनाका लागि वि.सं. २००३ सालमा नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना गर्नुभयो ।

२००५ सालमा स्थापना भएको सुवर्णसम्सेर राणा नेतृत्वको नेपाल प्रजातन्त्र काङ्ग्रेससँग एकीकरण गरी २००६ साल चैत्र २७ गते बनेको नेपाली काङ्ग्रेसले क्रान्तिमार्फत् २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र ल्याउन सफल भएको इतिहास हाम्रासामु छ । प्रत्यक्ष रूपमा प्रमुख कार्यकारी पदमा रहँदा होस् या अरुलाई बनाउँदा नै किन नहोस् नेपाली काङ्ग्रेस र नेपालको तत्कालीन राजनीति सधैं बीपीकै वरिपरि नै हुनपुगेको देखिन्छ । २००७ सालको राणा काङ्ग्रेस संयुक्त सरकारमा गृहमन्त्रीको जिम्मेवारी सम्हालेर नेतृत्व गर्न पुग्नुभएका बीपीको ‘मन्त्री होउँला, ठूल्ठूला कुर्सीमा बसौँला, मोजमस्ती गरौँला भनेर हामी राजनीतिमा लागेका होइनौं, खान नपाएका हरूका पेटमा अन्न परोस्, हाँस्न नपाएका ओठहरूमा हाँसो छाओस् दुनियाँदार, रैति, प्रजा हुँदै नागरिक बन्न पाएको नेपाली जनताले स्वतन्त्रता र सुखशान्ति अनुभूति गर्न पाओस् भनेर हामी राजनीतिमा लागेका हौँ’ भन्ने बीपी-विचार आजको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक छ ।

बीपीका स्मृति दिवस र जन्मजयन्तीमा बीपीको तस्बिरमा माल्यार्पण गर्ने, आफूलाई बीपी विचारका अनुयायी दावा गर्ने, तर व्यवहारमा ठिक विपरीत काम हुने परिपाटीको विकास किन भयो ? विश्वेश्वरको सुवास छाउनुपर्ने उहाँद्वारा प्रशिक्षित कार्यकर्ता पंक्तिमा जुद्धसम्शेरको जस्तो गन्ध कहाँबाट कसरी आयो ? यी र यीजस्ता यावत प्रश्नको जवाफ बीपी जन्मजयन्तीको सन्दर्भ पारेर समयले खोजिरहेको छ ।

‘हामी गाउँको विकासबिना देशको विकास सम्भव छैन त्यसैले योजना बनाउँदा राष्ट्रिय योजना आयोगमा राजाको फोटोसँगै हलो जोतिरहेको गरिब किसानको फोटो राखेर उसको हित के गर्दा हुन्छ भन्ने हेक्का राखी योजना बनाउनुपर्छ’- यो कुरा २०१६ सालमा आफू नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री हुँदाको बीपीको भनाइ हो । आफूले निरन्तर १५ वर्ष सरकारको नेतृत्व गर्न पाए एशियाली स्तरमा सबै नेपालीलाई ल्याइपु¥याउने उहाँको सदिच्छा नियतिले पूरा हुन दिएन । त्यसको फलस्वरूप आज पनि नेपाली जनता दीनहीन गरीब दुःखी जीवन जिउन विवश छन् ।

नेपाल र नेपाली जनताको जीवनस्तर उन्नत बनाउने दृढ आकाङ्क्षाका धनी बीपीले प्रजातान्त्रिक समाजवाद नामको ‘वाद’ प्रतिपादन गर्नुभएको थियो । सोसलिष्ट इन्टरनेशनलको संस्थापक उपाध्यक्ष उहाँलाई एसियाको लेनिनसमेत भनिएको थियो । वि.सं. २०१६ मा आफ्नो नेतृत्वको दुई तिहाई जनमतको सरकार निर्माण गरी नेपालको इतिहासमै प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्ने सौभाग्य पाउनुभएका बीपीले त्यो सरकार सञ्चालन गर्ने क्रममा शुरुमै प्रधानमन्त्री र मन्त्रीहरूको तलब घटाउनु, दक्षिण एसियाकै प्रथम मन्त्री द्वारिकादेवी ठकुरानीलाई बनाउनु, बिर्ता उन्मूलन गर्नु, जोताहाको हक सुरक्षित हुने गरी नीति निर्माण गर्नु, ब्लक डिभलपमेन्ट कार्यालयहरू स्थापना गरी गाउँको विकासलाई ध्यान दिनु, प्राथमिक विद्यालयहरू स्थापनामा जोड दिनु, बेठ-बेगारी प्रथाको अन्त गर्नु, समावेशी (सबै तह र तप्काको प्रतिनिधित्व हुने गरी) मन्त्रिमण्डल निर्माण गर्नु, राजा र प्रजाको एकताबाट मात्र मुलुक बनाउन सकिन्छ भन्ने भावनाको विकास गर्नु, चीन र भारत (दुई छिमेकी) देशहरूका बीचमा सन्तुलन कायम गरी मुलुकको विकासमा सहयोग जुटाउनु, इजरायलसँग दौत्य सम्बन्ध कायम गर्नु, साझा चुचुरोको रूपमा चीन र नेपाल दुवैले आफ्नो दाबी गर्दै आएको सगरमाथा नेपालको एकलौटी बनाउन सफल हुनु, योग्यता-क्षमताको आधारमा अवसर पाउने वातावरण तयार गर्नु जस्ता अनगिन्ती सुकर्महरूबाट आजको राजनीतिले पनि पाठ सिक्न सक्छ भन्ने पङ्क्तिकारलाई लागेको छ ।

२०१७ साल पुस १ गते नेपाल तरुण दलको सम्मेलनबाट बीपी र उहाँका सहयोद्धाहरूलाई पक्राउ गरी जेल हाली पञ्चायती व्यवस्थाको प्रारम्भ गरिएपछि ८ वर्ष सुन्दरीजल जेलमा बन्दी जीवन बिताउँदाका अवस्थामा पनि उहाँले साहित्य सिर्जनामा समय खर्च गर्नुभयो । नेपाली साहित्यको भण्डार भर्नमा योगदान दिनुभयो, उहाँ कहिल्यै पनि बेकामे बन्नुभएन । जेलमुक्त भएपछि आफू जुन ठाउँमा उभिएको छु त्यही ठाउँमा राजालाई उभ्याउन चाहन्छु, राजा र प्रजाको एकताबिना मुलुकको भविष्य उज्ज्वल छैन भन्ने विचार एलिट क्लब विराटनगरको कार्यक्रममा राखेपछि बीपीविरुद्ध सत्ताधारीहरूको चलखेल शुरु हुन्छ र, बीपी प्रवासीजीवन बिताउन भारत जान बाध्य पारिनुहुन्छ । भारत प्रवासमा रहेर पनि प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनलाई सशक्त बनाउन विभिन्न कृयाकलापहरू हुन्छन् । त्यसबीचमा इन्दिरा गान्धीको इमरजेन्सी प्रकरणसँगै मुलुकको राष्ट्रियता सङ्कटमा परेको बोध भएपछि राष्ट्रियताको सवालमा राजासँग मेरो घाँटी जोडिएको छ, देश रहेमा न प्रजातन्त्रको अर्थ रहन्छ, राजासँग हाम्रो लडाइँ प्रजातन्त्र प्राप्तिका लागि हो भन्ने अभिव्यक्ति बीपीबाट सार्वजनिक गरियो ।

जनतालाई दुःख दिने राजाका तन्तुहरू कमजोर पारी प्रजातन्त्र पुनर्स्थापना गर्नु परेको छ तथापि राष्ट्र बचाउनु पहिलो काम हो भन्ने उद्घोषका साथ २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभयो । त्यसपछिका दिनहरूमा पनि सयौँ गोता र हण्डर खानु परे पनि आफ्नो अडानमा कत्ति पनि विचलित नभइ आफ्नो निष्ठा, सिद्धान्त, मूल्य-मान्यतामा दृढ रही सतिसाल झैँ ठिङ्ग उभिनुभएका बीपी र उहाँको व्यक्तित्वकै कारण २०३६ सालमा जनमत सङ्ग्रह हुन्छ । जनमत संग्रहको परिणामलाई स्वीकार गरी प्रजातान्त्रिक आन्दोलनलाई जीवन्त राख्दै नेपाली काङ्ग्रेसको सँग ठन देशव्यापी रूपमा सुदृढीकरण सञ्चालन गरिरहेकै अवस्थामा २०३९ साल साउन ६ गते बीपीको भौतिक शरीरले यस लोकबाट बिदा लिन्छ ।

आजको पुस्ताले विश्वेश्वरप्रसाद कोइराला भन्ने मान्छे पनि दुनियाँमा रहेछ, उसले नेपाली जनताको भाग्य र भविष्यका लागि आजन्म संघर्ष गरेछ, उसले समय-समयमा व्यक्त गरेका विचारले मुलुकलाई सही बाटो हिँडाउन अभिप्रेरित गर्दोरहेछ भनेर इतिहासका पानामा मात्र पढ्न पाउने कि अहिलेका नेतृत्वगणबाट बीपीको सुवासको केही प्रतिशत नै सही, आश गर्ने ?

बीपी भौतिक रूपमा आज हाम्रासामु नहुनुभए पनि उहाँले स्थापना गरेको जन्माएको हुर्किएको नेपाली काङ्ग्रेस हामीसमक्ष छ । उहाँले प्रतिपादन गर्नुभएको प्रजातान्त्रिक समाजवाद, उहाँले सिर्जना गर्नु भएको कृतिहरू तथा उहाँको संघर्ष र बलिदानीबाट आर्जन गर्नु भएको इतिहास हामीसँगै छ । नेपाल गाउँ नै गाउँ भएको मुलुक हो र गाउँको विकासबिना मुलुकको विकास सम्भव छैन भनेर मुलुकको राजनीति, विकास, सामाजिक, सांस्कृतिक, राष्ट्रिय अन्तर्राष्ट्रिय नीति र रोडम्यापहरू पनि छन् । यति हुँदाहुँदै पनि किन हामी निरीह कमजोर नागरिकको देश बनाउँदै छौँ ? बीपी जन्मजयन्तीको सन्दर्भ पारेर आमनेपालीले आफैंलाई सोध्नुपर्ने भएको छ । भोका, नाङ्गा जनताले प्रजातन्त्र पुनर्स्थापनापछिका दिनमा पनि विगतमा भन्दा तात्विक फरक बोध किन गर्न पाएन ? बीपीले देखेको, भोगको र सोचेको समयान्तरले किन आफूमा अन्योलता सिर्जना गऱ्यो ? नेपाली जनताले विश्वरंगमञ्चमा आफूलाई प्रस्तुत गर्दैगर्दा बीपीको सदिच्छाअनुरूपको भूमिका निर्वाह हुन किन सकेन ? बीपीले जानेको, मानेको र ठानेको पद्धति, चालचलन, संस्कार र आज मुलुक सञ्चालन गर्ने पुस्ता र नेतृत्वका बीचमा कहाँनेर कुरो बुझाबुझ हुन सकेन ? बीपीका स्मृति दिवस र जन्मजयन्तीमा बीपीको तस्बिरमा माल्यार्पण गर्ने, आफूलाई बीपी विचारका अनुयायी दावा गर्ने, तर व्यवहारमा ठिक विपरीत काम हुने परिपाटीको विकास किन भयो ? विश्वेश्वरको सुवास छाउनुपर्ने उहाँद्वारा प्रशिक्षित कार्यकर्ता पंक्तिमा जुद्धसम्शेरको जस्तो गन्ध कहाँबाट कसरी आयो ? यी र यीजस्ता यावत प्रश्नको जवाफ बीपी जन्मजयन्तीको सन्दर्भ पारेर समयले खोजिरहेको छ । जवाफ कसले दिने ?

जिम्मेवारीबोध, इमानदारिता, नैतिकता, निष्ठा, त्याग तपस्या जस्ता कुरा बीपीसँगै लोप भएर गएका त होइनन् भनेर प्रश्न सोध्नुपर्ने दिन पनि आउँदोरहेछ ! आजको पुस्ताले विश्वेश्वरप्रसाद कोइराला भन्ने मान्छे पनि दुनियाँमा रहेछ, उसले नेपाली जनताको भाग्य र भविष्यका लागि आजन्म संघर्ष गरेछ, उसले समय-समयमा व्यक्त गरेका विचारले मुलुकलाई सही बाटो हिँडाउन अभिप्रेरित गर्दोरहेछ भनेर इतिहासका पानामा मात्र पढ्न पाउने कि अहिलेका नेतृत्वगणबाट बीपीको सुवासको केही प्रतिशत नै सही, आश गर्ने ?

अप्ठ्यारो नमानी भन्ने हो भने बीपीको सोचअनुरूपको कार्य उहाँको वैचारिक अनुयायी गर्ने पार्टीबाटै भएको छैन भन्ने मत नेपाली जनताको छ । २०४८ सालमा पूर्ण बहुमत प्राप्त नेपाली काङ्ग्रेसको बीपीकै कान्छा भाइ गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले कौडीको भाउमा उद्योग धन्दाहरू बेच्यो । समाजवादका नाममा उदारवाद हाबी गराइयो । नेपाली काङ्ग्रेस एकताका मोहन चापागाईंहरूको समाजवादमा रम्यो भन्ने कुरा पनि चर्चामा आएकै हो । प्रजातान्त्रिक समाजवादका विज्ञ मानिएका व्याख्याताहरू सिके प्रसाई, डुण्ढीराज शास्त्री, चार दारी (सुशील कोइराला, मोहन चापागाईं, डा. रामशरण महत र वीरेन्द्र दाहाल) र चार सारी (लीला कोइराला, नोना कोइराला, शैलजा आचार्य र सुजाता कोइराला) को कब्जामा छ भनेर त्यसबेला पत्रपत्रिकाले लेखेकै हुन् । बीपीले सोचेको कुरा के थियो भन्ने विषयमा बीपीका केही विचारहरू यहाँ प्रस्तुत गरी यो लेख बिट मार्न चाहन्छु-

■ राष्ट्र भनेको जनता हो, राष्ट्रियता भनेको जनताको भावना हो ।
■ समाजवादको नाममा हामी प्रजातन्त्रको हत्या गर्न दिँदैनौँ भने प्रजातन्त्रको नाममा हामी शोषण स्वीकार गर्दैनौँ ।
■ समाजवाद भनेको साम्यवाद नै हो । त्यसमा प्रजातन्त्र थपिएको हुन्छ र साम्यवाद भनेको समाजवाद हो त्यसमा प्रजातन्त्र झिकिएको हुन्छ ।
■ म पूर्ण परिवर्तन चाहन्छु, सामाजिक परिवर्तन चाहन्छु. । आर्थिक परिवर्तन चाहन्छु मेरो लडाई यहाँको गरिबी हटाउनुसँग छ ।
■ सबै नेपालीको एउटा सानो घर होस्, गरिखान पुग्ने खेतबारी होस, एउटा दुहुना गाई होस्, छोराछोरी स्कूल पढ्न पाउन्, स्वास्थ्य उपचार गर्न पाउन् यही हो नेपालको सन्दर्भमा समाजवाद हो ।
■ प्रजातान्त्रिक समाजवाद भन्नु नै प्रजातन्त्रभित्रको सामाजिक न्याय हो । प्रजातन्त्र र राष्ट्रियता अन्योन्याश्रित छन्, राष्ट्रियता प्रजातन्त्रको देन हो । संविधान भनेको गरिब किसान, मजदूरको भलाई गर्ने दस्तावेज हो ।
■ प्रजातन्त्र आएपछि सत्तामा मोटाघाटा चिल्ला सुकिला र अवसरवादीहरू हाबी हुनेछन्, तिनीहरूका विरुद्ध इमानदार र त्यागी कार्यकर्ताले एकपटक पुन संघर्ष गर्नुपर्ने छ ।
■ राष्ट्रियताको सवालमा राजासँग मेरो घाँटी जोडिएको छ । मैदान रहे न भुकुण्डो खेल्ने हो, चाहे गोल राजाले गरुन् या हामीले, हाम्रो लडाइँ प्रजातन्त्रका लागि हो । राजा हुनलाई देश त चाहिन्छ यो कुरा महाराधिराजलाई पनि हेक्का हुनुपर्छ ।
■ प्रजातन्त्र र समाजवाद नेपाली काङ्ग्रेसका लक्ष्य र आदर्श हुन् ।
■ जुन कुरा गर्दा जनताको हित हुन्छ त्यही नै हो आजको सन्दर्भमा प्रजातान्त्रिक समाजवाद ।

(लेखक बीपी चिन्तन प्रतिष्ठानका केन्द्रीय सदस्य हुन् ।)