यसकारण बीपीलाई व्यवहारमै अवलम्बन गरौँ

यसकारण बीपीलाई व्यवहारमै अवलम्बन गरौँ


सन्दर्भ : बीपी स्मृति दिवस
– रमेश बस्ताकोटी

नेपालमा मात्र नभइ विश्वमै उच्च छवि बनाएका एक महान् राजनीतिज्ञ हुन् बीपी कोइराला । नेपाली काङ्ग्रेस पार्टीका संस्थापक नेता बीपी कोइराला आफ्नो जीवनभर प्रजातन्त्रका लागि लडिरहे । बीपीको आदर्श, विचार र सिद्धान्त आजको दिनमा पनि उत्तिकै सान्दर्भिक छ ।

यो लेख पढ्ने जो-कोहीले बीपीबारे बुझेका छैनन् भन्ने पङ्क्तिकारको मनसाय होइन, तथापि यसले बीपीलाई बुझ्न केही न केही सहयोग पुग्छ भन्नेमा म विश्वस्त छु । बीपीबारे सानैदेखि धेरै कुरा पढ्दै आइयो । उनी बहुमुखी प्रतिभाका धनी हुन्, नेपाली साहित्यको श्रीवृद्धिमा विश्वेश्वरप्रसाद कोइरालाको योगदान अतुलनीय छ जस्ता सन्दर्भ यहाँ उल्लेख गरिरहनु परेन । मैले यो लेखमार्फत् बीपीका राजनीतिक जीवन र उनका प्रेरणादायी कुरालाई प्रकाश पार्ने प्रयास गरेको छु ।

हामी सानै हुँदा बीपीबारे प्रशस्त किस्साहरू सुनिन्थ्यो । बीपी यस्ता थिए, उस्ता थिए भनेर स्कुलमा सरहरूले सुनाइरहन्थे । हामी बुझ्ने भएर स्कुल पढ्न थाल्दा नेपालमा प्रजातन्त्र आइसकेको अवस्था थियो । त्यसकारणले पनि बीपीसँगसँगै हिँडेका, बीपीलाई नजिकबाट चिनेका र बीपी बिचारबाट अत्यन्त प्रभावित शिक्षकहरूले हामीलाई पढाउँदा बीपी र उनका विचारबारे भनिररहन्थे । त्यसकारण बीपीप्रति सानैदेखि सकारात्मक प्रभाव परेको थियो । कक्षा उक्लँदै गर्दा बीपीबारे पढ्न पाइयो । बीपीका राजनीतिक जीवन, उनका सिद्धान्त र विचारहरूबारे अध्ययन गर्न थालियो । स्कुले जीवनमा नै बीपीलाई प्रसस्त पढियो । सानैदेखि पढ्ने लेख्ने कुरामा रुचि भएका कारण म पढिसकेपछि त्यसको सारांश तयार गर्थे र अरुलाई पनि सुनाउँथेँ । त्यो मेरो सानैदेखिको बानी हो र अहिलेसम्म पनि कायमै छ ।

सानैमा मोहन शमशेर र बीपीबीच भएका सम्वादका कुरा पढेँ जहाँ मोहनसमशेरले बीपीलाई प्रधानमन्त्री भएपछि सोधेका हुन्छन्- ‘बीपी, तपाईं अब प्रधानमन्त्री हुनुभयो, तपाईंको उद्देश्य के छ त ?’ बीपीले सरल उत्तर दिएका थिए- ‘म एउटा मध्यमवर्गीय परिवारको मान्छे हुँ, बिहान-बेलुका खान हामीलाई दुःख छैन । मेरो अलिकति खेत पनि छ, त्यहीँबाट गुजारा हुन्छ, मेरो अबको उद्देश्य भनेको हरेक नेपालीलाई मेरै हैसियतमा पु¥याउने हो ।’

बीपीको यस्तो विचार सानैमा पढेको थिएँ मैले, जुन आजसम्म पनि मनमा अमिट छाप बनेर बसेको छ । यस्ता अनेकौँ कुरा बीपीका बारेमा पढिन्थ्यो, सुनिन्थ्यो । बीपीका बारेमा अग्रजबाट बुझिन्थ्यो । त्यसकारण त्यतिबेलाको मेरो बाल मस्तिष्कबाट स्कुलेजीवनदेखि नै बीपी विचार र सिद्धान्तप्रति झुकाव बढेको थियो । अहिले पनि बीपीको त्यो विचार छाडिएको छैन । बीपीकै आदर्श र सिद्धान्तलाई आत्मसात गरिएको छ ।

हामीले आत्मकथामा बीपीलाई पढ्यौँ, सुन्दरीजलमा बीपीलाई पढ्यौँ, बीपीका अन्तर्वार्ताहरू पढ्यौँ, बीपीका लेखहरू पढ्यौँ, बीपीबारेका विचार गोष्ठीमा सहभागी भएर बीपीलाई सुन्यौँ । मेरा बा, हजुरबाले रुखमा भोट हाल्थे भनेर म रुखमा भोट हाल्ने भएको होइन । बीपीलाई पढेर बुझेर बीपीका आदर्श सिद्धान्त र विचार मन परेर रुखलाई भोट हाल्ने भएको हुँ । त्यसकारण मलाई अहिले रुखमा भोट हाल्ने बनाउनुमा कसैको योगदान छैन, म यो ढुक्कसँग भन्न सक्छु । म रुखमा भोट हाल्ने हुनुको पछाडि एउटै कारण छ त्यो हो बीपी विचार जसलाई मैले गहिरोसँग अध्ययन गरेँ ।

बीपी बारेको एउटा प्रसङ्ग करिब ६ वर्ष पहिले एक म्यागाजिनमा प्रकाशित भएको थियो, त्यो मैले पढ्ने अवसर पाएको थिएँ । कुरा के थियो भने तत्कालीन सोभियत संघको अफगानिस्तानमाथि हमला, इन्डोनेसियामा साम्यवादी दलले ‘एडिट फर्मुला’अन्तर्गत सुकार्नोको सत्तापलट गर्ने असफल प्रयास, भारतमा सिक्किमको विलय, भारतमा बढ्दो सोभियत प्रभाव तथा दरबारमा ‘रोयल कम्युनिस्ट’को झ्याङ्गिदो उपस्थितिको विश्लेषण गर्दै बीपीले ‘राष्ट्रिय मेलमिलाप’को नीति अख्तियार गरे । जसको फलस्वरुप उनी २०३३ सालमा नेपाल फर्किने तयारी गर्न थाले । बीपीको त्यो निर्णय भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीका लागि स्तब्ध पार्ने खालको थियो । इन्दिराको विश्लेषण थियो, आफ्नो देशमा ज्यानको सजाय बोकेको मान्छे, यति सजिलै, त्यो पनि दरबारसँग कुरा नमिलाइकन कसरी जान सक्छ ? पूर्वकाङ्ग्रेस नेता बद्रीनारायण बस्नेत भन्छन्, ‘इन्दिराको त्यस बेलाको फर्मुला बेलायतीहरूको जस्तै थियो, फुटाऊ र राज गर । बीपीलाई देखाएर दरबारलाई तर्साउने, दरबार देखाएर बीपीलाई । दरबार पनि चिनियाँ कार्ड देखाएर इन्दिरालाई बेलाबेलामा तर्साउँथ्यो ।’

बीपी नेपाल फर्किएपछि दरबारलाई तर्साउन इन्दिरासँग कुनै कार्ड नहुने भयो । त्यसैले उनले भारतीय काङ्ग्रेसका अध्यक्ष देवकान्त बरुवालाई बीपीकहाँ पठाइन् । आसामका बरुवा बीएचयूमा पढ्दैताका बीपीका मिल्ने साथी थिए । ‘इन्दिरा इज इन्डिया, इन्डिया इज इन्दिरा’को नारा दिँदै इन्दिराको आशिर्वाद पाएका बरुवाले बीपीलाई फकाउने अनगिन्ती प्रयास नगरेका होइनन् । बस्नेत सम्झन्छन्, ‘तर, बीपीले महारानी मान्नुभन्दा आफ्नै देशको राजा मान्छु भन्दै इन्दिराको प्रस्ताव अस्वीकार गरिदिए ।’

तत्कालिन भारतकी शक्तिशाली प्रधानमन्त्री इन्दिरा गान्धीका प्रस्तावलाई ठाडै अस्विकार गर्ने हैसियत राख्थे बीपी, उनीसँग हरेक कुरामा सवाल जवाफ गर्न सक्थे बीपी, त्यो थियो त्यो बेलाको बीपीको राजनीतिक उचाइ । यसले आजका दिनमा पनि म तिनै बीपीका आदर्श मूल्य मान्यता, नीति र सिद्धान्तलाई मान्ने मान्छे हुँ भन्दा गर्वले छाती फुल्छ ।

इन्दिराकै देशमा बसेर लोकतन्त्रको हत्या गर्दै ‘इमर्जेन्सी’ लगाउने इन्दिराको निर्णयलाई बीपी ‘प्रजातन्त्रमार्फत् फासिवाद’तर्फ उन्मुख बताउँथे । त्यसैले उनले धेरै ठाउँमा लेखेका पनि छन्, ‘भारत अब ठूलो जेल भयो । सानो जेल नेपालमै फर्किन्छु ।’ बनारसस्थित मामुरगञ्जको निराला नगर कोलोनीमा बस्दा बीपीले भनेका कुरा बीएचयूका प्राफेसर सिंह अझै सम्झन्छन् । भन्छन्, ‘इमर्जेन्सीपछि भारत पनि जेल भइसक्यो । तर, हाम्रो जेल सानो छ, त्यहीँ जान्छु । नभन्दै बीपी मेलमिलापको नीति लिएर नेपाल फर्किए र लगत्तै जेल पनि परे ।’

बीपीबारे अर्को एक प्रसङ्ग पनि त्यहाँ उल्लेख गरिएको छ, त्यो के थियो भने बीपी प्रधानमन्त्री हुँदै सीमानजिकै चिनियाँ सेनाको गोलीले नेपाल पुलिसका एक हबलदार बमबहादुर मारिए । त्यतिबेला भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले कडा वक्तव्य दिए, ‘हाम्रो उत्तरी हिमालयन सीमामा जुन हमला भयो, त्यसलाई हिन्दूस्तानले आफूमाथि भएको हमला ठान्छ ।’

तर, बीपीलाई सार्वभौम राष्ट्रका प्रधानमन्त्रीका रूपमा नेहरूको त्यो प्रतिक्रिया मन परेन । उनले भोलिपल्टै नेपाली संसद्बाट नेहरूलाई प्रत्युत्तर दिए, ‘उत्तरी सीमामा जुन घटना भयो, यसप्रति हिन्दूस्तानले जुन प्रतिक्रिया जनायो, हामी भन्न चाहन्छौँ, हाम्रो भू-भागको रक्षा गर्न हामी सक्षम छौँ ।’ पछि भारतीय राजधानी नयाँ दिल्लीमा पत्रकारहरूले बीपीको प्रत्युत्तरका विषयमा नेहरूलाई सोधेका थिए । नेहरूले जवाफ दिए, ‘बीपीले भनेको ठीक हो ।’ यो घटनामा चीनले आफ्नो गल्ती स्वीकार्दै मारिने पुलिसका परिवारलाई नेपाल सरकारमार्फत ५० हजार रुपियाँ प्रदान गरेको थियो, जुन पछि महेन्द्रलाई विदेशी राष्ट्रमाझ बीपी चीनतर्फ ढल्किँदै गएको ‘प्रोपोगान्डा’ गर्न सजिलो भयो ।

यसरी राष्ट्रियताको सवालमा बीपीको अडान अविचलित थियो । उनी कुनै पनि दृष्टकिोणबाट भारत या चीनले नेपाललाई हेपेको मन पराउदैँनथे र तत्काल प्रतिक्रिया जनाइहाल्थे, तत्कालिन भारतीय र चीनका शासकहरू बीपीसँग यसकारण डराउँथे कि बीपीले विस्तारै आफ्नो छवि अन्तर्राष्ट्रिय स्तरमा एक ख्याति प्राप्त राजनेताको रूपमा स्थापित गर्दै लगेका थिए ।

नेपाल र नेपालीका लागि बीपीले थुप्रै विचार, नीति र सिद्धान्तहरू छाडेर गएका छन् । जुन नीति अहिले पनि उत्तिकै सान्दर्भिक छ, ती नीतिहरू अहिले लागू गर्न सकियो भने मात्र देशको कायापलट हुन्छ । तर, बिडम्बना आज सान्दाजुको पुण्य स्मृति दिवसमा यो भन्न करै लाग्छ, उनले जीवनभर प्रजातन्त्रका लागि भन्दै लडेर स्थापना गरेको पार्टी नेपाली काङ्ग्रेसले त सान्दाजुका कुरा लागू गर्न सकेन, चाहेन अरुको के कुरा गर्नु ! आज काङ्ग्रेस बीपीलाई बेच्छ मात्र तर बीपीका आदर्श, सिद्धान्त र विचारहरूलाई व्यवहारमा लागू गर्दैन । यसले बीपीका अनुयायीहरूलाई ठूलो चोट पुगेको छ । काङ्ग्रेस प्रजातन्त्र स्थापनापछि लामो समय सत्तामा बस्यो त्यतिबेला उसले न बीपी सम्झियो न त बीपीका विचार सिद्धान्त र आदर्शहरू नै सम्झियो । जसले गर्दा देशमा काङ्ग्रेसको लोकप्रियता क्रमशः घट्दै गयो र काङ्ग्रेस कमजोर प्रतिपक्षा सीमित हुन पुग्यो । बीपीका आफ्नै भाइ-भतिजा यो देशका प्रधानमन्त्री पटकपटक भए । उनकै शिष्य शेरबहादुर पटक-पटक प्रधानमन्त्री भए, अहिले काङ्ग्रेसको सभापति र प्रधानमन्त्री छन् । बीपीकै कान्छो छोरा डा. शशांक कोइराला अहिले काङ्ग्रेसका महामन्त्री छन् । तर, पनि काङ्ग्रेसको नेतृत्व तहले कहिल्यै नेपाली राजनीतिमा र सत्ता सञ्चालनमा बीपी विचार र नीति लागू गर्न सकेन । यसले बीपीको अनुयायीहरूलाई त चोट परेको छ नै स्वयम् सान्दाजुको आत्मा समेत पक्कै पनि खुसी भएको छैन होला । यतीबेला काङ्ग्रेस फेरि सत्तामा पुगेको छ । यो अवसर पनि हो । यो अवसरलाई खेर नफाली काङ्ग्रेसले बीपीका विचार र नितिलाई लागु गर्न ढिला गर्नु हुँदैन ।

वर्षको एक-दुई दिन बीपीलाई सम्झिएर चर्को भाषण गर्ने, उनकै आदर्शको बाटोमा हिँड्ने प्रण गर्ने तर भाषण गरेको पाँच मिनेटमा नै सबै कुरा भुल्ने काङ्ग्रेस नेतृत्वको प्रवृत्ति नै समस्याको मूल जड हो । काङ्ग्रेसले अब पनि बोलीमा मात्र होइन व्यवहारमा नै बीपीको सिद्धान्त अंगिकार गर्न सकेन भने काङ्ग्रेस फेरि पनि बामपुड्के हुँदै जानेमा दुईमत छैन । यही सन्दर्भमा स्वयम् बीपीले भनेको एउटा भनाइ स्मरण हुन्छ । ‘एक दिन एकजना कार्यकर्ताले बीपीलाई सोधेछन्, सान्दाजु प्रजातन्त्र आएपछि हामी जस्ता कार्यकर्तालाई के हुन्छ ?’, बीपीले भनेछन्, ‘प्रजातन्त्र आएपछि एकपटक फेरि पार्टीभित्र सुकिला मुकिलाहरू हाबी हुन्छन्, तिनले आदर्श बिर्सन्छन्, त्यस्ताहरूका विरुद्ध पार्टीभित्रै फेरि तिमी जस्ता कार्यकर्ताहरूले संघर्ष गर्नुपर्छ । बीपी कति दूरदर्शी थिए भन्ने यही कुराले पुष्टि गर्छ, नभन्दै प्रजातन्त्र आएपछि त्यस्तै भयो । बीपीका आदर्श र सिद्धान्तहरू बिर्सिन थालियो र सुकिलामुकिलाहरू हाबी भए । तर, इमान्दार कार्यकर्ताहरूले अझै तिनीहरू विरुद्ध संघर्ष गरेका छैनन् । अति हुँदै गयो भने एक दिन त्यो पनि अवश्य हुन्छ । त्यसकारण काङ्ग्रेस नेतृत्वले यसबारेमा बेलैमा सोचोस् । बीपी व्यक्ति मात्र नभएर विचार र सिद्धान्त हो तसर्थ बीपीलाई अब काङ्ग्रेसले व्यवहारमा नै अवलम्बन गर्न आवश्यक छ । काङ्ग्रेस महाधिवेशन आउँदैछ, यही बेलामा बीपीका सिद्धान्त, विचार र नितिलाई महाधिवेशनबाट समेटेर अघि बढ्न आवश्यक छ ।

आफू पनि केही नयाँ दिन नसक्ने अनि ७० वर्ष पहिले बीपीले प्रतिपादन गरेका सिद्धान्तलाई पनि व्यववहारमा अवलम्बन नगर्दा काङ्ग्रेस नेतृत्व चक्रव्युहमा फसेको छ । चक्रव्युहबाट निस्कने एकमात्र सुत्र बीपीकै आदर्श नीति र सिद्धान्त हो । यसलाई तुरुन्त व्यवहारमा नै अवलम्बन गर्न एक पटक सबै इमान्दार काङ्ग्रेसीहरूले नेतृत्वलाई दबाब दिन आवश्यक छ । सधै बीपीलाई भजाउने मात्र तर उनका आदर्शलाई पटक्कै व्यवहारमा नउतार्ने प्रवृत्ति नै अहिलेको मूल समस्या हो । तसर्थ बीपीलाई अब व्यवहारमा नै अवलम्बन गर्न ढिला गर्नु हुन्न ।