एन्फा ‘राजीनामा’ प्रकरण : देखाउने र चपाउने दाँत भिन्दाभिन्दै

एन्फा ‘राजीनामा’ प्रकरण : देखाउने र चपाउने दाँत भिन्दाभिन्दै


एन्फाको प्रवक्ताबाट प्रवक्ता किरण राईले राजीनामा दिए पनि हालसम्म अध्यक्ष कर्मा छिरिङ शेर्पाले राजीनामा स्वीकृत नगर्दा उनले मासिक रूपमा तलव बुझ्दै आएका छन् । राजीनामा दिएको लामो समय बितिसक्दा पनि स्वीकृत नगरी पुनः सोही पदमा फर्काउन अध्यक्ष शेर्पाले किन प्रयास गरिरहेका छन् भन्ने कुरा रहस्यमयी छ । कतै राईको राजीनामा यी दुवैको अवान्छित साँठगाँठको उपज त होइन भनी शंका गर्ने ठाउँ प्रशस्त रहेको छ ।
  • श्रीविक्रम भण्डारी

यतिबेला अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा राजीनामाको बाढी नै आएको छ । एन्फाबाट राजीनामा दिनेहरूमा एन्फा पदाधिकारीदेखि एन्फाअन्तर्गत गठित समिति र उपसमितिका पदाधिकारीहरू रहेका छन् । आफ्नो व्यक्तिगत स्वार्थ सिद्ध गर्न राजीनामा दिएका यी पदाधिकारीहरूमध्ये प्रायजसोले चर्चामा आउन राजीनामाको नौटङ्की गरेका छन् भने केहीले चाहिँ साँच्चै राजीनामा दिएका छन्, जुन राजीनामा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले स्वीकृतसमेत गरिसकेका छन् । यसर्थ, एन्फाको राजीनामा प्रकरण ‘हात्तीको देखाउने र चपाउने दाँत’ भन्ने उक्तिसँग ठ्याक्कै मिलेको छ ।

यी पदाधिकारीहरूले चर्चामा आउन र भविष्यमा पदको लागि बार्गेनिङ गर्न एन्फाबाट राजीनामा दिएको नाटक मात्र मञ्चन गरेका हुन् । खासमा भन्नुपर्दा उनीहरूले एन्फाअन्तर्गतका समिति र उपसमितिबाट देखावटी राजीनामा दिए पनि एन्फाको कार्यकारी समितिको पदबाट भने राजीनामा दिएका छैनन् । यी व्यक्तिहरूले अहिले पनि एन्फाबाट पाउने सेवा/सुविधाको उपभोग गर्दै मासिक ५० देखि ६० हजार रकम बुझ्दै आएका छन् । यसबाट पनि उनीहरूले एन्फाबाट राजीनामा नदिएको पुस्टि हुन्छ । एन्फाको निर्वाचन नजिकिँदै जाँदा आफ्नो दुनो सोझ्याउन देखावटी रूपमा राजीनामा दिएर पक्ष र विपक्षसँग बार्गेनिङ गर्न यो उनीहरूले चालेको चाल भनी सम्बद्ध सबैले बुझेका छन् ।

आवरणमा राजीनामाको हौवा पिटाएर चर्चामा आएका यी व्यक्तिहरू यतिबेला एन्फा ‘डुङ्ग्रे मूसा’को भूमिका देखिएका छन् । जसले एन्फामा भ्वाङ पार्ने कोशिस गर्नुका साथै नेपाली फुटबलको माहोललाई धुमिल तुल्याएर विवादतर्फ धकेल्ने दुःस्साहस गरिरहेका छन् ।

प्रायजसो एन्फाबाट राजीनामा दिने व्यक्तिहरूले आफ्नो स्वार्थ सिद्ध नभएपछि राजीनामा दिएका हुन् । यसको पहिलो उदारहण हुन् नवीन पाण्डे । एन्फाका विदेश विभाग प्रमुख रहेका पाण्डेले आफ्नो स्वार्थअनुकुल एन्फालाई डोऱ्याउन असफल भएपछि राजीनामा दिएका हुन् । फुटबलसँग गोरु बेचेको साइनो समेत नभएका पाण्डेले औंला दिँदा डुँडुलो नै निल्न खोज्दै समानान्तर रूपमा एन्फा सञ्चालन गर्न खोजेका थिए, तर असफल भएपछि राजीनामा गर्न बाध्य भए । त्यस्तै एन्फाअन्तर्गत सूचना तथा सञ्चार समितिका सह-संयोजक बद्री भट्टराईले नवीन पाण्डेकै दबाबमा राजीनामा दिएका बुझिएको छ । पाण्डेलाई आफ्नो गडफादर मान्ने र उनकै कृपाले दुई-चार पटक युरोप घुम्ने अवसर पाएका भट्टराईले राजीनामा दिनु स्वभाविकै थियो । ‘गडफादर’ नै एन्फामा नरहेपछि पाण्डेसँग सती जानुबाहेक भट्टराईको अर्को विकल्प पनि थिएन ।

त्यस्तै, एन्फाबाट राजीनामा दिएपछि पाण्डेले जर्मन राजदूतावासका एक कर्मचारीसँग साँठगाँठ गर्दै फुटबलसँग सम्बन्धित व्यक्तिलाई आफ्नो पक्षमा पार्न जर्मनीको भिसा लगाएर युरोपको भ्रमण गराएका थिए । त्यसपछि सामाजिक सञ्जालमा अनधिकृत व्यक्तिले ‘चेन्ज एन्फा’ पेज खोली नेपाली फुटबल र एन्फाको व्यापक विरोध गर्दै आएबाट पनि यो कुरा पुष्टि हुन्छ । यो कार्य गर्न गराउनमा पाण्डे, भट्टराईलगायत एकजना सञ्चारकर्मी ज्यान छोडेर लागेका छन् ।

नातावाद, कृपावाद, चाकरी/चाप्लुसी गर्नेलाई विशेष प्राथमिकता दिएको भन्दै पूर्व एन्फा अध्यक्ष गणेश थापाको विरोध गर्दै वर्तमान एन्फा उपाध्यक्ष बन्न सफल कृष्ण थापाले राजीनामा दिनुको कारण ‘नातावाद’को मुद्दा भन्नु आफैमा शर्मनाक विषय बनेको छ ।

प्राप्त जानकारीअनुसार थापाले अण्डर १३ मा नातिलाई स्कलरसिपमा नपारेका कारण रुष्ट हुँदै राजीनामा दिएको बुझिएको छ । त्यस्तै एन्फाका सहायक महासचिव तथा एन्फा होस्टेल सञ्चालक समितिका सदस्य अरुणमान जोशीले राजीनामा दिएर जग हँसाउने कार्य गरेका छन् । जोशी एन्फाका कर्मचारी हुन् र उनी एन्फाबाट मासिक ५० हजार तलब खान्छन् । जोशीले राजीनामा दिएपछि पनि एन्फाबाट मासिक ५० हजार बुझिरहेका छन् । अब प्रश्न उठ्छ- के राजीनामा दिने कर्मचारीले तलब लिन मिल्छ ? मिल्दैन भने जोशीले राजीनामा दिएपछि कसरी तलब खाइरहेको छन् ? अहिले गम्भीर चर्चाको विषय बनेको छ । अर्को कुरा एकातिर राजीनामा दिने अर्कोतिर तलब खान पनि नछोड्ने जोशीले राजीनामा दिनुको तात्पर्यचाहिँ के हो ? त्यसले जोशीमाथि नैतिकताको प्रश्न खडा हुनु स्वभाविकै हो । जोशीले समितिको सदस्यबाट राजीनामा दिए पनि एन्फाको सहायक महासचिव पद भने छाडेका छैनन् । देखावटी रूपमा उनले एन्फाबाट राजीनामा दिएको देखिए पनि यो झूठो प्रचार मात्रै हो ।

त्यस्तै एन्फाका सह-कोषाध्यक्ष तथा काठमाडौं वडा नं.३२ का सदस्य राजेन्द्र न्यौपानेले एन्फाअन्तर्गतको होस्टेल सञ्चालक समितिको सदस्यबाट राजीनामा दिएका छन् । न्यौपानेले एन्फाको सह–कोषाध्यक्षबाट नभइ समितिको सदस्यबाट मात्रै राजीनामा दिएका हुन् । तर, भ्रमको खेती गर्नेले न्यौपानेलाई एन्फाको कार्यसमितिबाटै राजीनामा दिएको हल्ला फैलाइरहेको छन् । वास्तविक राजीनामाको अनुशरणचाहिँ एन्फाअन्तर्गतको अनुशासित समितिका संयोजक विजय मानन्धरले गरेको देखिन्छ । यसर्थमा कि उनले समितिबाट राजीनामा दिनुको कारणमा व्यक्तिगत कार्यब्यस्तता र निजी समस्या दर्शाएका थिए । मानन्धरले राजीनामा दिएपश्चात अहिलेसम्म एन्फा वा कसैको व्यक्तिगत स्वार्थमा हिलो छ्याप्ने कार्य पनि गरेका छैनन् । कुनै पनि गुटलाई सहयोग र समर्थन उनले गरेको देखिँदैन । मानन्धरले एन्फाबाट अहिलेसम्म कुनै लाभ लिएको पनि देखिँदैन ।

एन्फाको कार्यकारी समितिबाट राजीनामा दिने पहिलो ब्यक्ति वसन्त अर्याल हुन् । अर्यालले एन्फाको सहायक महासचिवबाट राजीनामा दिएका हुन् । एन्फासँग जोडिएका अन्य ब्यक्तिले समिति र उपसमितिबाट राजीनामा दिए पनि अर्याल मात्रै त्यस्ता व्यक्ति हुन् जसले कार्यसमितिबाट राजीनामा दिएका थिए । नैतिकताको कुरा गर्दा राजीनामा दिने अन्य व्यक्तिले अर्यालबाट पाठ सिक्नुपर्ने हुन्छ । अर्यालको यही इमान र नैतिकताको कदर गर्दै अध्यक्ष शेर्पाले तत्कालै उनको राजीनामा स्वीकृत गरेर लालमोहर लगाएका थिए । ललितकृष्ण श्रेष्ठ एन्फाको कार्यवाहक अध्यक्ष हुँदाहुँदै उनलाई वाइपास गरेर फिफा कंग्रेसको भोटिङ राइट लिन सफल अर्यालले किन एन्फाको कार्यकारी समितिबाट राजीनामा दिए- रहस्यपूर्ण विषय बनेको छ । अर्याल जहिले पनि नेतृत्वप्रति बफादार सिपाही हुन् । तर पछिल्लो समय उनले राजीनामा दिएर नेतृत्वलाई नै चुनौती दिएपछि फुटबलसँग आवद्ध व्यक्तिहरू आश्चर्यचकित बनेका छन् । अर्यालको यो कदमले कतै उनी पुनः गणेश थापाको खेमामा जान लागेका त होइनन् भन्ने आशंका जन्माएको छ ।

एन्फाअन्तर्गत होस्टेल सञ्चालक समितिका संयोजक दिनेश ब्यन्जनकारले आफूलाई एन्फा सचिवालयले होस्टेल सञ्चालन सम्बन्धमा पटक-पटक बाइपास गरेको झोकमा रिसाएर उनले राजीनामा दिएको बुझिएको छ । ब्यन्जनकार पूर्व राष्ट्रिय फुटबल खेलाडी हुनुका साथै इमान्दार र पारदर्शी व्यक्तिको रूपमा समेत परिचित छन् । साथै उनले एन्फाको समितिमा भोलेन्टियरको रूपमा काम गर्दै आएका थिए । त्यस्ता इमान्दार ब्यक्तिबाट आफ्नो दुनो नसोझिने देखेपछि एन्फा सचिवालयले उनको काममा अवरोध पुऱ्याउँदै आएको खुलासा भएको छ ।

एन्फा कार्यकारी सदस्य तथा प्रवक्ता किरण राईले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङलाई सघाउन प्रवक्ताबाट राजीनामा दिएका हुन् । एन्फाका विदेशी प्रशिक्षक मोहम्मद अब्दुल्लाह अल्मुताइरीको विरुद्धमा पंकजलाई सघाउन राईले प्रवक्ताको ओहदा छोडे पनि कार्यकारी सदस्यबाट भने राजीनामा दिएका छैनन् । त्यस्तै एएफसीको मिडिया कमिटीको संयोजक तथा एन्फा सूचना तथा सञ्चार समितिको सदस्य पदबाट पनि राईले राजीनामा दिएका छैनन् । बाहिर एन्फाबाट राजीनामा दिएको हल्ला पिटाएर चर्चा बटुले पनि राई अहिले पनि यी पदमा यथावत रहेर मासिक रूपमा ४० देखि ५० हजार रुपैयाँ एन्फाबाट बुझ्दै आएका छन् । उनले एन्फाको प्रवक्ताबाट राजीनामा दिए पनि हालसम्म अध्यक्ष कर्मा छिरिङ शेर्पाले उनको राजीनामा स्वीकृत नगर्दा उनले मासिक रूपमा तलव बुझ्दै आएका हुन् । प्रवक्ता राईले राजीनामा दिएको लामो समय बितिसक्दा पनि अध्यक्ष शेर्पाले राजीनामा स्वीकृत नगरी पुनः सोही पदमा फर्काउन किन प्रयास गरिरहेका छन् भन्ने कुरा पनि रहस्यमयीे छ । कतै किरण राईको राजीनामा यी दुवैको साँठगाँठ र मिलेमतोको उपज त होइन भनी शंका गर्ने ठाउँ प्रशस्त देखिन्छ । अन्यथा राजीनामा दिने भनेर राईले पत्रकार सम्मेलनको आयोजना गर्नु र पछि अध्यक्ष शेर्पासँग लन्च मिटिङ गरी पत्रकार सम्मेलन स्थगित गर्नुले पनि यो कुरालाई पुस्टि गर्नुको साथै यी दुईबीच छुट्टै खिचडी पाकेको अनुमान लगाउन सकिन्छ । राईको राजीनामा प्रकरण रोकिएपछि एन्फाका केन्द्रीय सदस्य दावा लामाले सामाजिक सञ्जाल (फेसबुक)मा लेखेको स्टाटसले पनि यो कुरालाई मलजल गर्छ । लामाले राईको राजीनामा नआएकोमा गालीगलौज समेत गरेका थिए । त्यसपछि फोनको स्वीच अफ गरेर बसेका राईले भोलिपल्ट पंकज नेम्वाङको दबाबमा आफूले एन्फाको प्रवक्ताबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

वर्ल्ड ट्रेड अर्गनाइजेशन (डब्लुटीओ) को विधानअनुसार कुनै पनि कर्मचारीले आफ्नो राजीमाना स्वयमले दिन्छ भने त्यस्तो राजीनामालाई राजीनामा दिएकै दिनदेखि स्वीकृत मानिन्छ र यो सर्वव्यापी सिद्धान्त नै भैसकेको छ । अन्तर्राष्ट्रिय रूपमा ऐना जस्तो छर्लङ्ग विधान हुँदाहुँदै अध्यक्ष शेर्पाले के स्वार्थको आधारमा राईलाई तलव खुवाएर एन्फामा मोजमस्ती गराइरहेका छन्, बुझ्न सकिएको छैन । कतै ‘तँ कुटेको जस्तो गर, म रोएजस्तो गर्छु’ भन्ने उक्ति झैँ शेर्पा र राईले नाटक त मञ्चन गरिरहेका छैनन् ? त्यो अहिले निकै चासोको विषय बनेको छ । वर्तमान राजनीतिक सत्ता-गठबन्धनको प्रभाव र शक्ति सन्तुलनको रणनीतिअनुरुप शेर्पा र राईले यस्तो खेल खेलेका हुन् भने त्यो नेम्वाङ समुहको लागि भारी पर्ने पक्का छ । यसले उनीहरूमा औडाहाको छटपटी मात्र पैदा गर्ने छैन, त्योबाहेक नेम्वाङ कम्पनीलाई रसातलमा पुऱ्याउन कुनै कसर बाँकी राख्ने छैन भन्दा हुन्छ । अन्यथा राईले राजीनामा दिनु र शेर्पाले स्वीकृत नगर्नुको पछाडिको रहस्य के हो त ? यो कुनै रणनीति भन्दा पनि षडयन्त्र नै हो भन्दा फरक नपर्ला ।

पंकजकै इसारामा एन्फाका थुप्रै पदाधिकारीले राजीनामा दिएर यतिबेला अध्यक्ष कर्मा छिरिङ शेर्पालाई चुनौती दिइरहेको अवस्थामा प्रतिद्वन्द्वी पंकज नेम्वाङले भने अहिलेसम्म राजीनामाको ‘र’ समेत उच्चारण गरेका छैनन् । आश्चर्यलाग्दो कुरो, नेम्वाङले शंकास्पद काम कारवाही गरेको आरोपमा एन्फाले नेम्वाङलाई पदपूर्ति समितिबाट हटाएको थियो । उनलाई उक्त पदबाट हटाउनुको कारण अरु केही नभई आर्थिक चलखेल नै प्रमुख कारण थियो । दुई वर्षअघि विराटनगरमा सम्पन्न भएको महिला साफ च्याम्पियनसिपको संयोजकको जिम्मेवारी नेम्वाङले पाएका थिए । नेम्वाङले आफूले पाएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न नसक्दा एन्फाले करिव १ करोड नोक्सानी व्यहोर्नुपरेको कसैबाट छिपेको छैन । नेम्वाङले त्यतिबेला अनावश्यक भत्ता बाँडेर एन्फालाई दोहन-केन्द्रको रूपमा स्थापित गरेका थिए । नेम्वाङको यही गैरजिम्मेवार कार्यको हिसाबकिताब अहिले पनि एन्फामा माग्न आउने थुप्रै व्यक्ति छन् ।

प्राप्त जानकारीअनुसार भत्ता पाउनेमा भत्तै नलिएको व्यक्तिहरूको नाम समेत नेम्वाङले उल्लेख गरेको पाइएको थियो । दशकौँ फुटबलमा बिताएका तर तिनैको मानमर्दन गर्ने कार्य नेम्वाङबाट भएपछि यतिबेला नेम्वाङजस्ता व्यक्तिको हातमा फुटबलको बागडोर पुगेमा नेपाली फुटबलको हविगत कस्तो होला त्यो सोझै अनुमान लगाउन सकिन्छ । यसपछि नेपाली फुटबल सुपारी व्यापारीहरूको अखडा बन्यो भने अन्यथा मानिने छैन । जुन अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विचाराधीन अवस्थामा छ ।