समाजका मूल्य-मान्यताहरूलाई समयसापेक्ष परिमार्जन गर्दै यसलाई समतामूलक बनाएर जातभेद उन्मुलन गर्न जातीय विभेदका सकारात्मक खेलाडीहरूको भूमिका महत्वपूर्ण छ (वर्गरहित समाज हुन सक्दैन भन्ने कुरा साम्यवादीहरूले देखाइसके) भने यस कार्यलाई सहजिकरण गर्न बलियो र असल सरकारको निर्माणको लागि ‘हाम्रालाई हैन, राम्रालाई चुन्न’ जगेडा खेलाडीको रूपमा प्रत्येक नागरिकको भूमिकाको कुनै विकल्प छैन !
- नवीन देवकोटा

जातीय विभेदले आधुनिक समाजलाई बेलाबखत खलबल्याइरहेको छ । रुकुममा नवराज वि.क.लगायतको हत्या र काठमाडौंमा प्रधान-सुनार डेरा-प्रकरणहरू सापेक्षिक उदाहरण हुन् । यिनै घटनाको सेरोफेरोमा पङ्क्तिकारले आफ्नो संस्मरण र चिन्तन गत २१ असार र २३ श्रावणमा यसै सञ्चारमाध्यम (घटना र विचार)बाट प्रस्तुत गरिसकेका हुन् । त्यसै श्रृंखलाको तेस्रो भाग यहाँ प्रस्तुत गरिएको छ ।
मानवीय विभेद मूख्य चार रूपमा देखिन्छ- नस्लभेद, लिङ्गभेद, भूगोलभेद र वर्गभेद । नस्लभेद र लिङ्भेद मानवको उत्पत्तिदेखि नै कायम थियो । होमोसेपियन्स नै अन्य मानव नस्लका नासक थिए भन्नेमा दुई मत छैन । लैङ्गिक समानताका स्वघोषित पण्डितहरूको महादेश युरोपमा नै महिलाहरूले समान राजनैतिक मताधिकार पाएको डेढ शताब्दी नाघेको छैन । जङ्गली जनावर (मानवसहित) का झुण्डहरूले अर्का झुण्डका सदस्यलाई गर्दै आएको व्यवहार र महाकाली नदी घटनामा मारिएका जयसिंह धामी भूगोलभेदका उदाहरण हुन् । यस्ता झुण्डहरूभित्रै पनि रक्षक र रक्षितबीच भेद थियो नै; मानव सभ्यताहरूको विकास सँगसँगै वर्गहरूका साथै तिनीहरूबीच भेद पनि बढ्दै गयो । वैदिक समाजका उत्तराधिकारीहरूको विकास क्रममा मनुस्मृति (बाह्र अध्यायको राज्य सञ्चालनको आधार) ले समाजलाई कामको आधारमा चार वर्णमा विभाजन गर्यो; भृगु ऋषिपछि यसमा समयसापेक्ष परिवर्तन गरिएन र ‘आरक्षण’वादले गाँजेपछि यो व्यवस्थाले मध्यकालमा जातीय रूप लियो । जातिभेद सङ्कुचिँदै गए पनि हाल यसको जरा नकारात्मक वर्गभेदको रूपमा व्याप्त छ ।
एकछाकेको दिन मैले खानासँग बजारिया अचार खान खोज्दा ‘सबैथोक घ्यूमा पकाएको छ, त्यो तेल हालेको विटुलो नखानु’ भन्दै श्रीमतीले रोकिन् । सोचेँ- तेल त प्राकृतिक हो; घ्यूमा गाईभैंसीको ज्यानको अंश हुन्छ; तेल नै चोखो हुनुपर्ने ! त्यही भनेँ । पछि उनले पनि त्यो अचार खाइन् । यथार्थमा, कृषिप्रधान समाजमा घ्यू घरभित्रै बन्थ्यो भने तेल बाहिरबाट भित्रिन्थ्यो । प्रायशः आफूभन्दा तल्लो जातकाले बनाएर ल्याइदिने हुनाले तेलको शुद्धतामाथि ‘शङ्का’ हुनुबाहेक त्यसलाई चोखो नमान्नुको अन्य कारण देखिँदैन, जसरी गर्मी गर्नेलाई बिटुलो (भण्टा), शीतल गर्नेलाई चोखो (लौका) मान्ने वा गुणको कारण महलाई चोखो (पञ्चामृत), तर माहुरीका लार्भाहरूको अंश हुन सक्ने हुनाले बिटुलो (कोरा बस्दा नखाइने) मान्ने कुरा तर्कसंगत देखिन्छन् । यसै सञ्चारमाध्यममा गत २ भाद्रमा प्रकाशित ‘स्वयंपाक्यदेखि पटुकासम्म : पुराना राम्रा कुरा’ मा पङ्क्तिकार बबिता बस्नेतले केही आदर्श आचरणहरू प्रस्तुत गरेकी छन् । तीमध्ये स्वयंपाक्य आचरण ब्रह्मकर्म हो, बाहुन मात्रको पेवा हैन; र, ब्रह्मकर्मी र बाहुन एक-अर्काका पर्याय होइनन् । तसर्थ, ब्रह्मकर्म पालना गर्ने व्यक्तिको दैनिकीलाई जातीय विभेदको कसीमा जाँच्नु उचित देखिन्न । आजको आयातित–खाद्यान्न पोषित, वैदेशिक रोजगारमुखी, बाँझा-खेतबारी सुसज्जित, उद्योगरहित शहरिया समाजमा ब्रह्मकर्म पालना गर्नु भनेको पौराणिक कालको ‘तपस्या गर्नु’ सरह नै हो; थोरैले सक्छन्; बाँकी आधुनिकतामै बहन्छन् । सबै जाति सबै काममा संलग्न हुने हुँदा आधुनिक समाजमा जातको व्यावसायिक महत्व हुँदैन, तर ‘आरक्षण’वादको भूतले हाम्रो अवचेतन मनलाई गाँजिरहेको चाहिँ हुन्छ । जसरी निरन्तर बग्ने पानीको धारोले ठूला चट्टानलाई खियाइदिन्छ, त्यसरी नै सामाजिक द्वन्द्वमा परिवर्तनशील समाजले रूढीवादीलाई खियाइदिन्छ । सामाजिक अस्तित्व जोगाउन आफ्ना कमजोरीहरू सुधार्दै समय सापेक्ष बन्दै जानु अपरिहार्य छ । जातीय विभेद पनि आधुनिक समाजको कमजोरी हो; सुधार हुनुपर्छ ।
छिड्की नहानिएको फुटबल खेल हुँदैन; बल खोस्ने क्रममा रोनाल्डो, मेस्सी जस्ताबाट पनि त्यो हुन्छ; साधारण छिड्कीलाई वास्ता गरिँदैन (लड्नेकै साथीको खुट्टामा भकुण्डो भए) भने जघन्यलाई रातो कार्डसम्म देखाइन्छ । समाजका (जातीय) ‘खेलाडीहरू’ भलिबलमा झैँ जालीको वारपार नभएर फुटबलमा झैँ एकै मैदानमा हुन्छन्; त्यहाँ कमजोरी (गलत पास, आत्मघाती गोल गरेजस्तै) र साना-ठूला छिड्की (फ्री-किक, पेनाल्टी दिनेजस्तै) भइरहन्छन् । अम्पायरको निर्णयलाई भिडियो पुनरावलोकनले उल्टाउन पनि सक्छ, जसरी तल्लो अदालतको निर्णय माथिल्लोले उल्टाउन सक्छ । सारमा, खोटविनाको समाज हुँदैन; हाम्रो उद्देश्य खोटहरूलाई विकृतिमा परिणत हुनबाट रोक्ने हुनुपर्छ ।
सीमित संविधान निर्माताहरू (ह्विप लगाएर पारित गरिएको हो, जनमतसङ्ग्रहबाट होइन) ले यो ‘जातीय खेल’लाई ‘फुटबल मैदान’मा नखेलाएर ‘दलित’ शब्दको जाली टाँगेर ‘भलिबल मैदान’मा खेलाउन रुचाए; यसले खेलाडीहरूबीचको मनोवैज्ञानिक द्वन्द्वलाई साम्य गर्ने अवसर दिने देखिंँदैन । ‘जातीय खेल’मा मूख्य रूपमा दुई नकारात्मक र दुई सकारात्मक गरेर चार किसिमका सामाजिक खेलाडीहरू देखिन्छन् । पहिलो नकारात्मक खेलाडी ती हुन् जो जातीय प्रथाका अन्धपक्षपाती छन्; उदाहरण- नवराज वि.क.लगायत व्यक्तिका हत्याराहरू । दोस्रो नकारात्मक खेलाडी ती हुन् जो निजी फाइदाको लागि अनन्तकालसम्म यो ‘दलित’ शब्द कानून र समाजबाट मेटाउन चाहँदैनन्; उदाहरण- राज्यले दिएको शिक्षा हासिल गरेर पनि विदेशी निकायहरूको सहानुभूति पाउन आफूलाई ‘दलित’कै रूपमा प्रस्तुत गर्नेहरू । पहिलो सकारात्मक खेलाडी ती हुन् जो जातलाई नभइ मानवको अस्तित्वलाई नै उच्च मान्छन्; उदाहरण- बाग्लुङ चैतन्य-विद्रोहका अगुवा भगत सर्वजित विश्वकर्माका साथै उनका ‘दलित’ तथा गैर-‘दलित’ सहयोगीहरू (setopati.com/social/242333), ‘बालकृष्ण सम (शमशेर)’ । दोस्रो सकारात्मक खेलाडी ती हुन् जो अरूका मान्यताले आफ्नो अधिकार हनन् नहुन्जेल समाजलाई खलबल्याउन चाहँदैनन् । उदाहरण- मेरो चउरमा बसेर वाइन खाने सुनार भाइ र जैसी बाहुनको भान्साको चौकामन्तिर बसेर आतिथ्य स्वीकार्ने म आफैं (ghatanarabichar.com/221888, ghatanarabichar.com/224414) । यी खेलाडीहरूको वरपर केही जगेडा खेलाडीहरू पनि हुन्छन्ः कसैले टिमको खाली ठाउँ मात्र भर्छन्; कसैले चमत्कारी खेल देखाएर टिमलाई जिताउँछन् । काठमाडौंको डेरा-घटनामा सुनारले ‘आफ्नो टिम’लाई जिताउने जाँगर देखाउनु र प्रधानले खेलको नियम नै नबुझ्नु यसका उदाहरण हुन् । रोचक कुरोः सामाजिक प्राणी कसैले यो खेल खेल्दिनँ भन्न पाउँदैन र, सकारात्मक खेलाडीहरूको एउटा र नकारात्मक खेलाडीहरूको अर्को टिम भन्ने पनि हुँदैन ! सबै टिममा सबै किसिमका खेलाडी हुन्छन्; विपक्षी टिमका सकारात्मक खेलाडीहरूँंग प्रतिस्पर्धा गर्दै र नकारात्मक खेलाडीहरूको सम्भावित छिड्कीसँग सतर्क रहँदै खेललाई स्तरीय र रोमान्चक बनाउनु, अर्को शब्दमाः समाजलाई समतामूलक बनाउनु, सकारात्मक खेलाडीहरूको निरन्तर प्रयास हुनुपर्छ ।
तीन खण्डको मेरो अध्ययन र तर्कनालाई यो सानो उपसंहारले टुङ्ग्याउन चाहेँ ।
कुनै पनि चलनको आफ्नै काल हुन्छ । केही महिनाअघि आधुनिक समाजद्वारा छोरी/बुहारीलाई दिइने आशीर्वादः ‘सौभाग्यवती हुनु’ मा लैङ्गिक विभेद देखेको तर, तत्कालीन समाजद्वारा छोरा/ज्वाइँलाई दिइने आशीर्वादः ‘चिरायु हुनु’ मा छोरी, बुहारीले विधवाको जिन्दगी बिताउन नपरोस् भन्ने कामना रहेको कुरामा अनभिज्ञ रहेको एक युवतीको लेख पढेथेँ (सामग्री भेटिनँ) । श्रीमान् /श्रीमतीले ‘तिमी पहिले स्वर्ग जाउ, म पछि आउँला’ भनेर ठट्टा गर्नु तिनै सनातन आशीर्वादहरूको आधुनिक रूप हो । तत्कालीन कृषि-निर्देशित (homogeneous) समाजको बाल-बिवाह (अनमेल हैन) मार्फत अरूको छोरी सानैमा भित्र्याएर आफ्नै रहनसहनअनुसार हुर्काउने चलन आजको आफ्नो योग्यताको पहिचान भएपछि मात्रै घरजमको बारेमा सोच्ने आधुनिक (heterogeneous) समाज सापेक्षिक हुँदैन । त्यसरी नै, वर्ण-व्यवस्थाको आरक्षणवादी रूपान्तरण, जातिवाद, आजको चेतनशील समाज सापेक्ष छैन ।
आधुनिक समाज जातिभेदको अवशेषले बिथोलिइरहँदा यो पुनः वर्गभेदतर्फ नकारात्मक रूपमा बढिरहेको तथ्य घामजत्तिकै छर्लङ्ग छ । मनुले तेस्रो वर्णमा राख्दा पनि चुँइक्क गर्न नसकेका वैश्यका आधुनिक प्रत्यक्ष (सत्ताको आडमा व्यापार गर्नेहरू) तथा नेपथ्यका (सत्ता र व्यापारीबीचका दलालहरू) ‘उत्तराधिकारी’हरू आज समाजको पहिलो वर्गमा आशन्न छन् (०१७, ०४६ र ०६३ सालपछि क्रमशः पञ्च, प्रजातन्त्रवादी र सर्वहाराको रूपमा उम्रिएर समाजमा समाहित भएका नव‘धनाड्य’हरू); सङ्कटमा प्रयोग हुनुपर्ने संवैधानिक प्रावधानहरू सङ्कुचित स्वार्थको लागि प्रयोग हुनु, सत्ताप्राप्तिको लागि कट्टर विरोधी दलहरू अङ्कमाल गर्नु, मन्त्रिपरिषद्को निर्णयले नियमावलीलाई निरीह पार्नु जस्ता आचरणहरू यसका उदाहरण हुन् । प्रष्ट हुनुपर्ने दुई कुरा- पहिलो, वर्ण व्यवस्थामा कामको बाँडफाँड भएको थियो; ब्रह्मकर्म पालन गर्न नसक्नेहरू कति ब्राह्मणबाट, मृत्युको डरका कारण कति क्षत्रियबाट, व्यापारमा टाट पल्टेर कति वैश्यबाट शुद्रमा र कति शुद्रहरू सत्तासामीप्यले गर्दा माथिल्लो वर्गमा पनि पुगे होलान् (तथ्याङ्क राखेको देखिँदैन); कोही अध्ययन/चिन्तन गरेर ऋषिमुनि पनि भए । दोस्रो, कामको बाँडफाँड हुँदा नै विद्रोह भएको कुनै अध्ययनले देखाउँदैन; यो तब शुरू भएको देखिन्छ जब शुद्रका योग्य सन्ततिहरूलाई माथिल्लो वर्गमा उक्लिन नदिन ‘आरक्षणवाद’को गजबार लगाउन थालियो ।
जाबो एउटा स्मार्ट फोनको लागि बाहुनपुत्रद्वारा पर्यटक युवतीको हत्या हुने (केही वर्षअघिको घटना; सामग्री भेटिनँ) निर्मला पन्त, जयसिंह धामीजस्ता उच्च वर्णकाले सुरक्षा नपाउने घटनाहरूले समाजमा वर्णभेद नकारात्मक वर्गभेदमा रूपान्तरण भइरहेको प्रमाणहरू हुन् । यस्तो संक्रमणकालीन (transitional) समाजमा रूपा सुनारजस्ताले तत्काल न्याय पाएको तर नवराज वि.क. का हत्याराहरू सत्ताको आडमा लामो समयसम्म कानूनबाट फुत्किरहेमा आश्चर्य हुने छैन । साथै, बाबुआमाको कारण प्रेमिकालाई त्याग्ने प्रेमी माथिल्लो जातको भएमा त्यो घटनालाई जातभेदको रूपमा प्रस्तुत गरी वा सुनार-प्रधानजस्ता घटनालाई मलजल गरी समाजलाई अस्थिर बनाएर निजी स्वार्थपूर्ति गर्ने छद्मभेषीहरू यो समाजमा छैनन् भन्नु गलत नै हुनेछ । तसर्थ, समाजका मूल्य-मान्यताहरूलाई समयसापेक्ष परिमार्जन गर्दै यसलाई समतामूलक बनाएर (सकारात्मक वर्गभेद कायम गरेर) जातभेद उन्मुलन गर्न जातीय विभेदका सकारात्मक खेलाडीहरूको भूमिका महत्वपूर्ण छ (वर्गरहित समाज हुन सक्दैन भन्ने कुरा साम्यवादीहरूले देखाइसके) भने यस कार्यलाई सहजिकरण गर्न बलियो र असल सरकारको निर्माणको लागि ‘हाम्रालाई हैन, राम्रालाई चुन्न’ जगेडा खेलाडीको रूपमा प्रत्येक नागरिकको भूमिकाको कुनै विकल्प छैन !
२० भाद्र २०७८
प्रतिक्रिया