यसकारण विरोधिको पनि दशैँ चाड !

यसकारण विरोधिको पनि दशैँ चाड !


  • मोहन लामा रुम्बा

धेरैलाई लाग्दो हो- दशैँ पर्व सिर्फ नेपाली सनातनीहरूलाई मात्रै लाग्छ ! तर होइन, दशैँ विदेशीलाई पनि लाग्छ ! तिनले पनि यही पर्वको ‘छेक’ पारेर विभिन्न क्षेत्रमा संलग्न आफ्नो ‘फुट सोल्जर’हरूलाई अभियान छेड्न ठुलै धनराशि खर्चेको हुन्छ ।

उदाहरणहरू हेरौँ-

दशैँको टीकाअगाडिको केही दिनसम्म गाडी दुर्घटनामा परेर मरेकाहरूलाई ‘फलानो ठाउँबाट घरमा दशैँको टीका थाप्न जाँदा गाडी दुर्घटनामा ठहरै’ भन्दै आग्रहपूर्ण प्रचार गर्न खोजिन्छ ! दशैँको टीका सकेपछिको पन्ध्र दिनसम्मको समाचारचाहिँ ‘वृद्ध बुबाको हातबाट टीका थापेर फर्कंदै गर्दा बाटोमा ठहरै’ भन्ने कोणबाट सम्प्रषण भएको देखिन्छ । अर्को, पश्चिमी फण्डिङबाट बाँच्ने सुकिला-मुकिला तथाकथित बुद्धिजीवीको पत्रपत्रिकामा दशैँसम्बन्धी भ्रमपूर्ण आलेखको बाढी त छँदैछ ! यो एक प्रकारले दशैँ मानेकै हो विरोधमा नै सही !!

कुनै जाति वा धर्मको पर्वमा यसरी ‘ईद मनाउन जाँदा’ या ‘क्रिस्मस मनाउन जाँदा/मनाएर फर्कंदा गाडीमा ठहरै’ भन्ने समाचार आउँछ ? कुनै धर्मावलम्बीको पर्वको मुखमा आलोचनात्मक समालोचना आन्द्राभुँडी केलाएर पर्वसम्बन्धी कसैको लेख आउँछ ? तर दशैँको मात्रै आउँछ, किन ? सोचेर हेर्नुस् एकपटक ।

पश्चिमी देशबाट फण्डेट जातिवादी संघसंस्थालाई पनि यही दशैँको बेला भ्याइनभ्याई चटारो पर्छ, किनकि यही बेला प्रोग्रामको प्याकेज आउँछ अरु बेलाभन्दा बढी, त्यसैले जतिसक्दो यही बेला प्रोग्राम आयोजना गर्न हतार हुने गर्छ ।

दलित मोर्चाको प्रशिक्षणमा तर्क दिइन्छ- ‘त्यो महिषासुर दलितको राजा हो, तिनलाई मारेको दिन हो दशैँ, त्यसैले हामी दलितले मान्न हुँदैन !

तामाङ मोर्चा : त्यो रिन्छेन दोर्जे तामाङको राजालाई मारेको दिन पारेर हिन्दुले मानेको पर्व हो, त्यसैले हामी तामाङले मान्न हुँदैन !

मगर मुक्तिमोर्चा : त्यो पृथ्वीनारायण शाहले हाम्रो मगर राजा मानसिंह खड्का मारेको दिन हो, त्यसैले हामी मगरले दशैँ मान्न हुँदैन !

राई र लिम्बुवान मोर्चा : दशैँ नमनाएको अभियोग लगाएर त्यो जंगबहादुरले रामरिदम हाङलाई मारेको दिन हो, त्यसैले हामी राई लिम्बूले दशैँ मान्न हुँदैन !

गुरुङलाई उरालिन्छ- त्यो पृथ्वीनारायण शाहले हाम्रो घले राजा मारेको दिन हो, दशैँ त्यही खुसियालीमा मनाएको हो, त्यसैले हामीले मान्न हुँदैन !

यस्तै-यस्तै भाषाशैलीमा प्रशिक्षण, तालीम, सेमिनार, गोष्ठी, भाषण दिएर दशैँमा भ्याइनभ्याइ हुन्छ । त्यसैले यो दशैँ चाड विदेशी दातालाई पनि आफ्नो ‘फुट सोल्जर’ अर्थात् बिना बर्दीका साम्राज्यवादका सिपाही परिचालन गर्न/पाल्न धौ-धौ हुन्छ, भलै विरोधमा नै किन नहोस् ? तर वरोध गर्नकै लागि पनि दशैँ मान्न त मान्छन् तिनले !

तिब्बती प्रभावमा परेका गुम्बामा पनि यही बेला भ्याइनभ्याइ हुन्छ । माघ पुर्णिामाको तिथिमा बस्नुपर्ने मौनव्रत (न्युङने) यही दशैँमा राखिन्छ, किनभने तामाङहरू दशैँ मान्न जालान् भनेर ! उता चर्चमा पनि एक हप्तासम्म निरन्तर प्रार्थनालगायत विभिन्न कार्यक्रम आयोजना गर्छन् । यसो गर्नुको कारण पहिले मानिआएको परम्परागत दशैँ फेरि मान्न जालान् भनेर मन भुलाउन यस्तो आयोजना गर्ने गरिन्छ । ठिक त्यही काम गुम्बामा न्युङने भन्दै आयोजना गराइन्छ । जे होस्, दशैँ बाहिष्कारको नाउँमा भ्याइनभ्याइ यतातिर पनि हुन्छ ।

अर्को झन् रोचक छ । बकर ईद पर्वमा सुतेको प्राणीप्रतिको मायामोह यही दशैँको बेला आन्द्राभुँडीदेखि जागेर आउँछ ! टाढा जान पर्दैन एउटा सानो उदाहरण लिउँ । यसपालिको ‘बकर ईद’मा कुनै संस्थाले कपनडाँडाको मुन्तिर रोहिंग्य शरणार्थी शिविरमा बस्ने इस्लाम दाजुभाइलाई पर्व मनाउन भनेर होला दुई ट्रक जति राँगाभैंसी ल्याएर झाऱ्यो । बकर ईदमा सबैले काटेर खाए । एकैदिन काट्दा रगतको आहाल भयो त्यो क्षेत्रमा । त्यो रगतको आहालभन्दा मास्तिर ठुल्ठूला कपन गुम्बा छन् तर सबै सुनसान ! मौन बस्छन् !! तर त्यतिबेला मौन बस्ने गुम्बाहरू पनि यही दशैँको छेकमा बौरिन थाल्छ । प्राणीको माया जाग्न थाल्छ र प्राणदान कार्यक्रम भन्दै ‘छेतार’ कार्यक्रमको आयोजना गर्छन् ! बडो अचम्म हो नि ! गुम्बाको मुन्तिर बकर ईदमा प्राण गएको प्राणी र दशैँमा प्राण गएको प्राणीमा भिन्नता प्रदर्शन !

जे होस्, यो पनि दशैँ मानेकै भन्नुपर्छ, भलै हिन्दु बौद्धमा मनोवैज्ञानिक फाटो ल्याउने परियोजना नै किन नहोस् ?!

अर्को सामाजिक संजालतिर ‘तामाङले दशैँ मान्दैन ल्होछार मान्छ !’ भन्दै पोस्ट हाल्नेको भीड लाग्छ, तर क्रिस्मस आउँदाचाहिँ ‘तामाङले क्रिस्मस मान्दैन ल्होछार मान्छ’ भनि पोस्ट गरिँदैन बरु शुभकामनाको ओइरो लाग्छ ! त्यसैले सामाजिक संजालमा पनि दशैँको रौनक अर्कै हुन्छ भलै विरोधमा होस् तर मान्छन् !

अर्को शाकहारी आन्दोलन पनि बेजोडको छ । क्रिस्चियनको पर्वमा दशैँमा भन्दा बढी राँगा बोका जान्छ । शक्तिखोर (चितवन) इलाकामा इस्लामको त प्रत्येक घरले एउटा बोका गाई गोरु उँट बली दिनैपर्छ । तर त्यतिबेला कतातिर सुत्न जान्छन् कुन्नी अहिंसावादीहरू !? यही दशैँको छेकमा बौरेर आउँछ यो यिनको करुणता !! साइत जुर्नु पनि संयोग मात्रै होइन होला, किनभने शाकहारी आन्दोलन त स्वास्थ्यसँग जोडिएको सधैंभरिको लागि एजेन्डा हो, तर वर्षको एक पटक मात्रै आउने पर्व नै कुरेर बस्नुमा त कुछ कुछ त जरुर है !