(पुस्तक परिचय)
सञ्चारकर्मी तथा मिडिया अनुसन्धानकर्ता उमेश पोख्रेल र उहाँका भाइ-बैनीहरु उत्तम, कविता र शोभाले आफ्ना बुबा माधवप्रसाद पोख्रेलको सम्झनामा ‘बुबा’ पुस्तक प्रकाशित गर्नुभएको छ । दोलखाको मालु गाबिसमा जन्मिएर त्यही आफ्नो दुःखसुख गरी जीवन यापन गरिरहनुभएका माधव पोख्रेलका ६७ वर्षको उमेरमा अकस्मात निधन भएको थियो । घर तथा घरबाहिरको काममा सक्रिय जीवन बाँचिरहनुभएका आफ्ना बुबाको मृत्युको खबरले सन्तानलाई ठुलो चोट पऱ्यो । छोरा उमेश पोख्रेल काठ्माडौंमा थिए । विभिन्न पत्रपत्रिकामा काम गरेका उनी अहिले इन्टरनेशनल फेडरेशन अफ जर्नलिष्ट (आइएफजे) को दक्षिण एशिया संयोजक छन् । पुस्तकमा उनले लेखेका छन्- बुबाको आकस्मिक मृत्युको खबरले अकाश खसेजस्तै लाग्यो । बुबाले त्यति चाँडै छोडेर जानुहोला भनी हामीले सोचेका थिएनौँ ।
घटना र विचारसँगको कुराकानीमा उमेशले भने- ‘बुबाको शोकमा रहँदा अनेक तर्कनाहरू मनमा आए, बाँचुञ्जेल आफ्नै कामका ब्यस्त भइयो, बुबाको बारेमा सोच्नै पाइएन । एक्कासी बुबा हुनुहुन्न भन्ने स्वीकार गर्नै गाह्रो भयो । दुःखको बेला हामीलाई भेट्न आएका मानिसले बुबाको सम्झनामा धेरै कुरा गर्नुभयो । हामीलाई लाग्यो, यी कुराहरुको ‘डकुमेन्टेशन’ गरेर पुस्तक निकाल्न सकियो भने बुबालाई सच्चा श्रद्धाञ्जली हुनेछ । साथै बुबाको पुस्ता कस्तो थियो भनेर भावी पुस्तालाई जानकारी दिनपनि उहाँले भोगेका दुःखसुखलाई लिपिबद्ध गर्नुपर्छ जस्तो लाग्यो । त्यसपछि हामीले बुबासँग नजिक रहेका मानिसहरुसँग कुराकानी गरेर पुस्तक निकाल्यौँ । यो पुस्तकले बुबाको मृत्युको पीडाबाट मुक्ति पाउन अलि सहज बनायो ।’
गंगादेवी पोख्रेल प्रकाशक रहेको ‘बुबा’मा माधवप्रासदले जीवनमा गरेका दुःखसुखका कुरा छन् । गोदार डाँडादेखि डाडाँगाउँ बजारसम्म कसरी नुन बोकेर पुऱ्याउँथे भन्ने कथा झैँ लाग्ने वास्तविकतादेखि खरानी-पानीमा लुगा धोएको, हातले सिएका दौरा सुरुवाल लगाएको हुँदै जजमानी गर्दाका कुरासम्म समेटिएको छ । पुस्तकमा माधवका साथीभाइ, दौँतरीका सम्झनाहरू कुँदिएका छन् भने आफन्त, नातेदार र परिवारका सदस्यका आदर र ममताहरू पोखिएका छन् । मानिसको जीवनमा एकार्कासँग बिताएका सुखदुःखका क्षण र भावना महत्वपूर्ण कुरा हुन् । उहाँको पुस्ताले भोगेका र अहिले ‘त्यस्तो पनि हुन्थ्यो र?’ जस्ता लाग्ने धेरै कुरा पुस्तकमा छन् । यसरी एउटा कालखण्डका सम्झनाहरूलाई समेटी सन्तानले बुबाको नाममा पुस्तक प्रकाशन गर्नुलाई सच्चा पितृभक्तिको उदाहरण मान्न सकिन्छ ।
प्रतिक्रिया