धार्मिक तथा पर्यटकिय स्थल उग्रतारा मन्दिरमा देहीजाँत मेला हुने

धार्मिक तथा पर्यटकिय स्थल उग्रतारा मन्दिरमा देहीजाँत मेला हुने


  • डम्बर निदाल, डडेल्धुरा

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला देहीजाँत भोलि मंसिर ३ गते शुक्रबार दिउसेडी हुँदैछ । कोरोना भाइरस संक्रमण जोखिमले गत वर्ष नित्यपुजामा सीमित देहीजाँत मेला यस वर्ष भने पूर्ण रुपमा हुने भएको छ । मेलामा जोसुकैले पनि व्यापार व्यवसाय गर्न पाउने जनाइएको छ ।

यसअघि प्रशासनको निर्देशनमा व्यापार-व्यवसाय रोक लगाउन भनिएको थियो । यसअघि सम्पन्न भएका मेला शैलेश्वर, कैलपालमाण्डौ, बडालजाँतमा निर्वाध रुपमा व्यापार व्यवसाय भएकाले देहीजाँतमा पनि जोसुकैले पनि व्यपार व्यवसाय गर्न पाउने उग्रतारा क्षेत्र विकास समिति अध्यक्ष तेजबहादुर साँकीले बताए ।

जिल्ला सदरमुकामबाट करिव ५ किलोमिटर टाढा अमरगढी नगरपालिका वडा नं ८ को सुन्दर डाँडामा अवस्थित उग्रतारा भगवतीको मन्दिरमा सम्पन्न हुने मेलाका लागि भारत लगायत सुदूरपश्चिम समेत देशका विभिन्न स्थानबाट दर्शनार्थी आउने गर्छन् । यस वर्ष मंसिर २ गते राति रतेडी र ३ गते पुर्णिमाका दिन दिउसेडी मेला लाग्ने भएको छ । स्थानीय सेलागाउ-जिलोडा, खनमडा, छचोडा, दुमडाका भँडारबाट बाजागाजा समेत देउरो मेलाको दिन बिहानै पुग्ने र त्यसपछि जात्रा शुरु हुने प्रचलन छ ।

मेलामा स्थानीय उत्पादनलाई निःशुल्क स्टल उपलब्ध गराइने बताइएको छ भने भारतीय व्यापारीलाई तीन हजार रुपैयाँसम्म शुल्क लगाइने समितिका अध्यक्ष साँकीले बताए । स्थान हेरेर पाँच सयदेखि तीन हजारसम्म शुल्क तोकिएको उनको भनाइ छ ।

उग्रतारामा कार्तिक शुक्ल पूर्णीमाको रातमा रतेडी र दोस्रो दिन दिउसेडी लाग्ने गर्दछ । रतडीपछि बिहान चार बजे धार्मिक परम्परागत रुपमा दाइन दमाह, रुईसिंग, बिकुल, भोकर, शंखघण्टा लगायत बाजागाजाका साथ चार वटा गाउँबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पुजा शुरु हुन्छ । बिहानको पुजाआजापछि दिउँसो भगवती माताको गाँज मन्दिरलगायत सयौँ एकडमा फैलिएको मैदानको बिषेश चार स्थानमा बाजागाजाका साथ घुमाइन्छ । बिहान चारवटै गाउँको भँडारबाट ल्याइएको माताभगवतीको देउरो बेलुका पाँच बजेपछि पुनः चार वटै गाउको भ्राणमा लगे पछि मेला सम्पन्न हुन्छ ।

उग्रतारा मेला व्यापार व्यवसाय र आफन्तजनसँग भेटघाट हुने समय मौकाको रूपमा प्रख्यात छ । उग्रतारा मेलामा बिक्रीवितरण गर्ने पुर्वयोजनाका साथ स्थानीयहरुले विभिन्न सरसामानसँगै खाद्य वस्तु एवम् कृषिऔजार, तयार पार्ने गरेका छन् ।

किम्बदन्तीअनुसार २५ सय वर्षपहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा शिलामा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएकी थिइन् । त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पुजा गरिँदै आएको जनविश्वास छ । देही जातको महत्व र रोचक जात्रा भनेको सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृष्यहरू, इष्टमित्र, साथी–सङ्गी तथा परिवारजनमा वर्षदिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट गर्ने सुदूरपश्चिमको लोकप्रिय खाना माँडा देहीजाँतमा प्रशस्त देख्न सकिन्छ । स्थानीय लोपोन्मुख बस्तुको उत्पादनको बिक्री तथा प्रबर्द्धनका लागि पनि मेला प्रसिद्ध छ । वर्षमा एक पटक भव्य रुपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा प्राकृतिक प्रकोप नहुने, सुखप्राप्ति, मनोकामना पूरा हुने जनविश्वास रहीआएको छ । उग्रतारा देवीको मन्दिर पश्चिमनेपालकै एक महत्वपूर्ण शक्तिपीठका रूपमा रहेको स्थानीय बासिन्दा बताउँछन् ।