प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गरी जनकपुरधाम नगर क्षेत्रमा मासु, मदिरा तथा लागु पदार्थको सेवन र बिक्रीमा रोक लगाइएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्नप्रसाद उपाध्यायले एक सूचना जारी गरी आज (मङ्सिर १७)देखि सुरु हुने सीताराम विवाह पञ्चमी महोत्सवलाई मध्यनजर गर्दै मङ्सिर १७ गतेदेखि मङ्सिर २६ गतेसम्म मासु, मदिरा तथा लागुपदार्थ सेवन तथा बिक्री वितरण गर्न पूर्ण निषेध गरिएको जानकारी दिएका छन् ।
शुक्रबारदेखि सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सव सुरु हुँदैछ । यसैबीच विवाह पञ्चमी महोत्सवका लागि जनकपुरधामस्थित जानकी मन्दिरलाई दुलहीझैँ श्रृङ्गारिएको छ । मिथिलाको उत्सवमध्ये विवाह पञ्चमी महोत्सवलाई महामहोत्सवको रुपमा भव्यताका साथ मनाउने गरिन्छ । त्रेता युगमा भगवान् रामसीता विवाहको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी महामहोत्सव मनाउँदै आइएको छ ।
विवाह पञ्चमी महामहोत्सवको तयारी सकिएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जनाएका छन् । प्रत्येक साँझ मन्दिर परिसरमा मङ्गल गीत तथा झाँकीसमेत हुने गरेको बताइएको छ ।
अघिल्लो वर्ष विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण विवाह पञ्चमी औपचारिकतामा मात्र सीमित भएको थियो । यस वर्ष भव्य रुपमा विवाह पञ्चमी मनाउन विभिन्न १९ वटा समिति एवं उपसमिति गठन गरिएको छ ।
विवाह पञ्चमी महोत्सवका लागि शान्ति सुरक्षा, प्रचारप्रसार, यातायात, बजार, रङ्गभूमि मैदानमा पण्डाल एवं गेट व्यवस्थापन, भारतको अयोध्याबाट आउने जन्तीको स्वागत, विद्युत् आपूर्तिसहितका समिति गठन गरिएको छ ।
भगवान् रामको जन्मभूमि अयोध्याबाट हरेक पाँच वर्षमा सीता नगरी जनकपुरमा विशेष जन्ती आउने चलन रहेको छ । त्यसैले यसपटक औपचारिक रुपमा जन्ती नआए पनि साधुसन्त र ठूला महन्थ जन्तीकै रुपमा आउने महन्थ बैष्णवको भनाइ छ । विवाह पञ्चमी महोत्सवअन्तर्गत मङ्सिर १७ गते जनकपुर नगर दर्शन, १८ गते फूलवारी लिला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर र मङ्सिर २२ गते शुभविवाह तथा २३ गते रामकलेवा कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया