काठमाडौं शहर

काठमाडौं शहर


  • राजेशमान केसी

देशकै प्रचीन नगर हाम्रो काठमाडौं शहर ।
अनेकथरी मानिस बस्छन् अनेकन् छन् रहर ।।

काम होस् या घुमघाम यहीँ आउनुपर्ने ।
दुई दिनको काममा पनि महिनौँ धाउनुपर्ने ।।

काठमाडौं पहिले थियो सुन्दर प्राचीन नगर ।
जताततै देख्छौँ अहिले प्रदूषण र फोहर ।।

जता हेऱ्यो त्यतै धुलो, धुवाँ, प्रदूषण ।
तैपनि पाएको छ राजधानीको आभूषण ।।

कहिले ग्यासको अभाव त कहिले खानेपानी ।
वहाँ भने काठमाडौं देशकै राजधानी !

खेती गर्ने जमिनमा उम्रेका छन् घर ।
क्रङ्किट जङ्गल पो बन्दैछ काठमाडौं शहर !

पिचमाथि पिच कतै ढलकै छैन निकास ।
मुख नछोपी हिँड्नै गाह्रो यही हो त विकास ?

काठमाडौंमा अच्चकाली भयो बसाइँ-सराइ ।
पुग्नुपर्छ विकास अब हिमाल-पहाड-तराइ ।।

काठमाडौं हाम्रो देशकै महानगरपालिका ।
ब्यवस्थित विकास गर्ने खै त कार्य तालिका ?

काठमाडौंको विकास गरौँ जोगाई संस्कृति ।
आधुनिकताको नाममा नत्र आउँछ विकृति ।

काठमाडौंमै सबै कुरा हुँदा केन्द्रिकरण ।
खेतीयोग्य जमीन पनि भयो खण्डीकरण ।।

काठमाडौंमा घर ठड्याउने धेरै गर्छन् रहर ।
त्यही रहरले बनेको छ अव्यवस्थित शहर ।।

लिच्छवीकालीन-मल्लकालीन हाम्रो सम्पदा ।
संरक्षण र सम्बर्धनमा छैन तत्परता ।।

काठमाडौंलाई ज्ञान-विज्ञानको बनाऔँ संगमथलो ।
यसैमा छ हामी सबै नेपालीको भलो ।।

  • गट्ठाघर, भक्तपुर