कालीबाबाले डुबाए निखिललाई

कालीबाबाले डुबाए निखिललाई


यतिबेला निखिल उप्रेती दोधारमा छन् । ठूलो सपना र महत्त्वाकाङ्क्षा बोकेर भारत छिरेका उनको हात खाली छ भने यता नेपालमा पनि एकपछि अर्को सिनेमा असफल भएपछि उनको बजार क्रमशः खस्कँदो अवस्थामा छ । सबैको ‘हाइहाई’ पाउँदा-पाउँदै दर्शकहरूको माया, साथ र स्नेहलाई लत्याउँदै नायिका सञ्चिता लुइँटेललाई च्यापेर मुर्म्बई छिरेका निखिलको मुर्म्बई छिर्नुको रहस्य र कारण क्रमशः खुल्दै आउन थालेको छ ।
पछिल्लोपटक निखिलले विभिन्न आश्वासन दिएर एक भारतीय लगानीकर्तालाई आफ्नो वशमा मात्र पारेनन् कि सिनेमा पनि बनाउन लगाएर । निखिलको गफ र आश्वासनमा परेर भारतमा बस्ने आकाश पाण्डेले एउटा सिनेमा बनाए- परिचय । यो सिनेमामा एक समयकी विवादास्पद भारतीय हिरोइन मोनिका वेदी नायिका पनि भइन् । पोखरामा छायाङ्कनको क्रममा बढी खर्च भएपछि यसको निर्माण पक्ष निखिलसँग रिसाएको थियो र यो चलचित्र परिचय माघ १३ गतेदेखि पर््रदर्शनमा आउँदै छ । तर, निखिल भने चलचित्रको युनिटसँग छैनन् । ‘हामीलाई निखिलले धोका दिए । पचास लाख भारतीय रकममा फिल्म पूरा हुन्छ भनेका थिए, तर एक करोडभन्दा बढी लाग्यो । उसको फिल्म नचलिरहेको समयमा कसरी उठ्ला यत्रो रकम -‘ पाण्डे दिक्क मान्दै भन्छन् । गत साता मात्र चलचित्र परिचयको प्रमोशनका लागि उनी नेपाल आएका थिए । पाण्डेका अनुसार निखिलले परिचयबाट पारिश्रमिकबापत ६ लाख भारतीय रुपैयाँ लिएका थिए र टे्रनिङका लागि भनेर थप दुई लाख हात पारेका थिए । ‘यति रकम हामीले खुसीले दिएका थियौँ तर हाम्रो सोझोपनको उनले गलत फाइदा उठाए,’ युनिट भन्छ ।
परिचयको सम्पूर्ण छायाङ्कन पोखरामा गरिएको थियो र छायाङ्कन अवधिभर मिडियासँग निखिलले आफूहरूलाई नजिक हुन नदिएको दाबी पनि निर्देशक पाण्डेले गरे । ‘ऊ पारिवारिक तनावमा रहेछ । त्यसकारण पनि मिडियासँग हामीलाई नजिक हुन दिएनन् निखिलले । सिनेमा रिलिज हुने अवस्थामा पुग्दा पनि परिचयप्रति निखिलले बेवास्ता गरेकोमा चित्त दुःखेको छ,’ परिचयका निर्देशक आकाश पाण्डेले सञ्चारकर्मीसमक्ष भने । परिचयका निर्देशक पाण्डे पनि नेपालको ‘शान’ लाई लत्याएर निखिल मुर्म्बई छिरेकोमा अचम्ममा परेका छन् । ‘यहाँको सुपरहिट हिरो मुर्म्बईमा काम पाउने आशामा गल्ली-गल्लीमा भौंतारिरहेको देख्दा माया लाग्छ । मैले बुझ्न सकेको छैन,’ उनले भने । त्यसो त, पछिल्लो जानकारीअनुसार निखिल कालीबाबाको अत्यन्तै भक्त थिए र कालीबाबाले ‘तँलाई मुर्म्बईमा राम्रो मान्छेसँग भेट गराइदिन्छु’ भनेपछि उनी पनि कालीबाबासँग मुर्म्बई गएका रहेछन् । यसबारे स्पष्ट पार्दै परिचयका निर्देशक आकाश पाण्डेले भने, ‘कालीबाबाले निखिललाई अमिताभ बच्चनसँग फिल्म खेलाइदिन्छु भनेका रहेछन् तर उनले अभिताभ बच्चनलाई भेट्टाउन नसकेपछि पुराना चलचित्रकर्मी केसी बोकाडियालाई भेट्टाइदिए । बोकाडिया आफ्नै हालत अहिले नराम्रो भएको अवस्थामा उनले निखिललाई के गर्न सक्थे र ?’ पाण्डेले भने ।
कालीबाबाको सङ्गतले गर्दा निखिल उप्रेतीको क्यारियर ओरालो लागेको दाबी परिचयका निर्देशक आकाश पाण्डेले गरे । ‘निखिलले नेपालबाटै नाम र दाम छाडेर कालीबाबाको पछाडि लाग्नुहुन्नथ्यो । निखिल डुब्नुमा कालीबाबाको ठूलो हात छ,’ उनले ठोकुवाका साथ भने ।
आफ्नो युनिटलाई भ्रममा पारेर करोडौँ डुबाए तापनि एउटा प्रतिभाशाली कलाकार नराम्ररी बिग्रेकोमा भने आफूलाई दुःख लागेको कुरा बताए निर्देशक आकाश पाण्डेले । ‘कर्म गर्न छाडेर कालीबाबाको पछाडि लाग्दा निखिलले दुःख पाएका हुन्,’ उनले थपे, ‘मलाई लाग्छ हामीसँग लिएको रकम पनि निखिलले कालीबाबालाई दिए होलान् ।’
‘चलचित्रका ठेकेदार के हेर्छन् ?’
सिनेमालाई रहर होइन, व्यावसायिक रूपले नै अगाडि बढाउने सोचका साथ सिनेमा निर्माणमा आएका हुन् मधकुमार श्रेष्ठ । पहिलोपटक उनले निर्माण गरेको चलचित्र हो बजार । पुस २९ गतेदेखि पर््रदर्शनमा आउने भएको छ-चलचित्र- बजार । बजार उनले निर्माण गरेको पहिलो चलचित्र भए तापनि एउटै चलचित्रबाट धेरै अनुभव संगालेका छन् उनले ।
त्यसो त चलचित्रको हित र विकासका लागि स्थापना भएको चलचित्र विकास बोर्डको नीति नै मधुलाई मन परेको छैन । उनी भन्छन्, ‘पहिले बोर्डले चलचित्रको ग्रेड छुट्याउनुपर्‍यो । २० लाख अनि एक करोडमा बनेको सिनेमा एउटै हलमा लगाउने कस्तो नीति हो बोर्डको -‘ श्रेष्ठ प्रश्न गर्छन् । उनको भनाइमा जबसम्म सिनेमाको वर्गीकरण हुँदैन तबसम्म यहाँ सिनेमा च्याउसरी नै बनिरहने छन् । विगत केही समययतादेखि जो पनि निर्माता बन्ने र कम लगानीमा सिनेमा निर्माण गर्ने गलत परम्परा बसेकाले यसमा सम्बन्धित निकायको ध्यान जानुपर्ने कुरा औंल्याउँछन् बजारका निर्माता मधुकुमार श्रेष्ठ । ‘पाँच लाख हातमा बोकेर आउनेलाई होइन पचास लाख सिनेमाको नाममा बैंक ब्यालेन्स गर्न सक्ने क्षमता भएकालाई बोर्डले चलचित्र निर्माणका लागि अनुमति दिनुपर्छ,’ उनको सल्लाह छ ।
राम्रो कथा र परिवेश अनि वातावरण भएमा सिनेमा निर्माणलाई निरन्तरता दिने उद्देश्यका साथ सिनेमा निर्माणमा छिरेका मधु चलचित्र बजारको मेकिङबाट सन्तुष्ट नै छन् । तर, एकसाथ आफ्नो सिनेमा लागेको दिन अरू तीन चलचित्र पनि लाग्ने भएकोले व्यावसायिक रूपले आफूलाई पनि असर पर्ने कुरा उनी लुकाउँदैनन् । ‘यदि चारवटा सिनेमा लाग्ने दिन एउटा मात्र सिनेमा लाग्यो भने राम्रो हुन्थ्यो, तर चलचित्रको विकासको आफूलाई ठेकेदार भन्नेहरूको यसमा ध्यान गएको छैन,’ मधुको आक्रोश छ । यस्तो समस्या आफूलाई मात्र होइन, अरूलाई पनि परेकोमा उनको दुःखेसो छ ।
चलचित्र विकास बोर्डमा नयाँ अनुहार
यो साता चलचित्र विकास बोर्डले नयाँ अनुहार पाएको छ । सञ्चार मन्त्रालयले उदय सुब्बा, मौसमी मल्ल र विजय बस्नेतलाई निकालेर यिनीहरूको स्थानमा चलचित्र विकास बोर्डको सदस्यको पदमा विकास आचार्य र रामा मण्डललाई नियुक्त गरेको छ ।
नयाँ सदस्य विकास आचार्य लामो समयदेखि नेपाली सिनेमाको लेखन, निर्देशन र निर्माण क्षेत्रमा सक्रिय नाम हो भने रामा मण्डल मूलतः गायक हुन् । नेपाली चलचित्रहरूमा थुपै्र हिट गीत गाएका रामा रेडियो नेपालसँग आबद्ध रहेका छन् । प्रत्यक्ष रूपमा नेपाली चलचित्र क्षेत्रसँग आबद्ध यी दुईको नियुक्तिले चलचित्रको विकासका लागि टेवा पुग्ने आशा गरिएको छ । यता अध्यक्ष गणेश भण्डारीले नेपाली सिनेमा क्षेत्रको विकास र विस्तारका लागि देखाउनुभएको चासो र लिन खोज्नुभएको सकारात्मक बाटोको निमित्त भने उहाँको सर्वत्र प्रशंसा गरिएको छ । सञ्चार मन्त्रालय जुन पार्टीको हातमा गए तापनि चलचित्र विकास बोर्डको अध्यक्षमा भने भण्डारी नै हुनुपर्ने कुरा उठेको छ ।