पाशविकता

पाशविकता


(यौनकथा)
  • यश घिमिरे

गर्मी र जाडोको दोसाँधमा उभिएको दशैँले बिहानीपखको पातलो कुहिरो ओढेर मुखैमा आइपुगेको सङ्केत गर्दै थियो । घटस्थापनाको अघिल्लो दिनदेखि नै काठमाडौंलाई शुन्य-शुन्य बनाएर हिँड्ने मान्छेहरूको लर्को लाग्न शुरु भयो ।

‘यो शहरले अहिल्यै आवश्यकता भन्दा बढी मान्छे आफुभित्र अटाइसकेको छ । रामराम कति धेरै मान्छेहरू ! हामीजस्ता बाहिरिया हुन्थेनम् भने काठमाडौंका घरबेटीहरू भोकै मर्थे होलान् !’ – उसले मनमनै सोच्यो ।

आज दशैँको घटस्थापना । बिहान चारैबजे उठेर नुहाइधुवाइ र नित्य कर्म गऱ्यो । दिउँसो गर्मी भए पनि बिहान जाडोजाडो नै थियो, जाकेट लगायो । पछाडि भिर्ने झोलामा एक-दुई जोर कपडाहरू र आवश्यकीय केही सरसामानहरू राख्यो । एक जना आफ्नै गामठामको चिनेको बसचालकलाई भैरहवा जाने डिलक्स गाडीको सिट छ कि भनेर बुझ्न फोन लगायो, सबै भरिभराउ भैसकेछन् । अब कलंकीबाटै जे-जस्तो भए पनि कुनै गाडी समाउनुको विकल्प थिएन – त्यसै गऱ्यो । ६ बजे बिहान कलंकी आइपुग्दा मेला लागेको जसरी भीडभाड भइसकेको रहेछ । सुर्यको रातो किरण भने क्षितिजमा भर्खर पोखिन शुरु गर्दै थियो ।

‘सीट छैन, मुग्लिनबाट खाली हुन्छ । जाने हो ?’ – एउटा बसको खलासीले उतिर हेर्दै करायो ।

बसको झ्यालको सीसाबाट देख्यो, बीचको गल्लीमाधरि टन्नै मान्छेहरू उभिइरहेका । सिटको आशमा चार-पाँचओटा बस पहिल्यै छुटाइसकेको थियो । लगाइरहेको नाडी घडी हेऱ्यो- पौने आठ भैसकेछ । अब पनि छुटाए घर ढिलो पुगिन्छ भन्ने सोच्यो अनि बिस्तार-बिस्तार गुड्दै गरेको बसमा दौडेर छिऱ्यो । यात्रुहरू बीच धकेलाधकेल गरेर केही भित्र गएर उभ्भियो ।

केही बेरमै बसले थानकोटको ओरालो यात्रा तय गर्न थाल्यो । एक त भरिभराउ मान्छेहरू र कानै खानेगरि घन्किएको चर्को हिन्दी गीत, त्यहीमाथि गाडी चल्नासाथ वाक्न सुरु गरेका यात्रुले खोलेको झ्यालबाट मनग्य धुँवाधुलो भित्र पस्न थाल्यो । उसलाई समय रहँदैमा अल्लि राम्रो गाडी ‘बुक’ नगरेकोमा थक्क-थक्क लाग्न थाल्यो । ‘नचढ्नु चढिहालेँ अब के गर्नु ? उभिएरै जानुभन्दा अरु उपाय छैन’ – मन बुझायो ।

बसले काठमाडौंको खाल्डो छोडेर नौबिसे छुनासाथ हपक्क गर्मीको महसूस भयो । पछाडि भिरेको सानो झोलालाई काँधबाट निकालेर भिडभाडमा अटेसमटेस गरि-गरि लगाइएको ज्याकेट फुकाल्यो र झोलामा खाँद्यो । निहुरेर झोला मिलाउँदै गर्दा बसले कुनै यात्रु चढाउन होला, घ्याच्च ब्रेक लगायो । घोप्टो परेको बेला ब्रेक लाग्दा हुत्तिएर अगाडिको मान्छेको ढाडमा नाक ठोस्सियो । त्यो मान्छे रिसाउँदै बोल्यो-

‘उभिइ-उभिइ निदाएको हो कि क्या हो ?आँखा छैन ? अल्लि पछाडि सरेर बस्नुस् ।’

ठाउँ-ठाउँमा बस रोकेर यात्रु चढाउने कार्य चलिरह्यो । डन्डीमा समाएर उँभिदा-उँभिदा हातखुट्टा फतक्क गल्न थालिसकेका थिए । मुग्लिन कतिखेर आउला र अलिकति आनन्दसँग बस्न पाइएला भनेर उसलाई अत्यास लाग्यो । यत्तिकैमा यात्रु चढाउन गाडी फेरि रोकियो । काँधमा मुन्टो अढ्याएर निदाइरहेकी सानी बच्ची बोकेर करिब बाइस-पच्चीस वर्षकी सुन्दर युवती भीडलाई छिचोल्दै उसको अगाडि उभीन आइपुगिन् ।

‘अल्लि भित्र-भित्र सर्नुस्’- खलासीले बसको ढोकामा झुण्डिएर पछाडितिर हेर्दै आदेश दियो । यो आदेशसँगै उनी अलिकति पछाडि हटिन् । यसरी हट्दा ती युवतीको शरीरको नरम पृष्ठभागले उसको अग्रभागमा हल्का स्पर्श गऱ्यो । काखीबाट आएको एकप्रकारको नारी सुगन्ध नाकभित्र सरर पस्यो । उसलाई त्यो गन्ध कुनै उत्तम ब्रान्डको परफ्युम जस्तै रूचिकर लाग्यो । शायद त्यही नारी-सुगन्धले होला, मनभित्रको मदहोसी ह्वात्तै बढायो । सानी बच्ची उसैगरि काँधमा मुन्टो अड्याएर आँखा चिम्लिइरहेकी थिइन् । हल्का गुलाबी साडी र उस्तै रंगको ब्लाउज लगाएकी ती युवतीको, हात उचालेर डन्डी समाउँदा छातीको कुनोबाट देखिने उन्नत ऊरोजलाई चोरआँखाले नियाल्यो । कसिलो ब्लाउजभित्रको उभारले उ मनमनै रोमाञ्चित भयो ।

गाडीमा गुन्द्रुक खाँदेजसरी मान्छे खाँद्ने क्रम चल्दै थियो । बस पुनः रोकियो, केही मान्छेहरू बसभित्र छिर्ने प्रयत्न गरे । खलासी फेरि करायो-

‘पछाडि जानुस् भनेको सुन्नुभएन ?’

यो आदेशसँगै उनी अझै पछाडि सरिन् । भीडले उनलाई धकेल्यो, नरम नितम्बले उसलाई । भीडले खाँदेर दुवै शरीर बीचमा पातलो कागजसम्म छिराउन नसकिने स्थान बन्यो । बिस्तारै उभित्र लुकेको गोबन सर्पले बासनाको फणा उठायो । आँखाहरू त्यसै-त्यसै लोलाउन थाले । केहिबेरअघिसम्म कर्कश लागेको हिन्दी गीत र यात्रुहरूको कल्याङमल्याङ आवाज कतै टाढाबाट बज्दै गरेको सुमधुर संगीतमा परिवर्तन हुन थाल्यो । त्यो गुम्फनमा पनि मान्छेहरूको पसिनाको गन्ध हराइसकेको थियो । अघिसम्म उभिँदा-उभिँदा गलेका हातखुट्टाहरूमा यति धेरै तागत भरिन थाल्यो कि उ सोच्न लाल्यो- ‘यो यात्रा यसैगरि कहिलै नटुङ्गियोस् । यसरी नै चलिरहोस् निरन्तर ।’

निकै बेरपछि अचानक उसको शरीरभित्र कतै झिलिक्क गरेर बिजुली चम्कियो । आँखा चिम्म गऱ्यो । असीम सुखानुभूतिले एकछिनको लागि चेतना गुम भएजस्तै भयो । लगत्तै एकझर पानी पऱ्यो । अनि छ्याङ्ग आकास खुल्यो । खुल्नासाथ उही कर्कश हिन्दी गीत, यात्रुहरूको कल्याङमल्याङ आवाज, हपक्क गर्मी, मान्छेहरूको पसिनाको नमिठो गन्ध सप्पै फर्कियो । उस्का हातगोडा पहिलेको भन्दा झन् गलेर आयो । अब भने अझै उभिइरहन निकै गाह्रो भएको महशुस गऱ्यो ।

बसबाट एक नजर बाहिर फ्याँक्यो, मुग्लिन नजिक कुरिनटार आइपुगेछ । आडैको सीटको एउटा मान्छे कुरिनटार झऱ्यो । ठाउँ खाली देख्यो, हत्त न पत्त सीटमा बस्यो । बच्चा बोकेर उभिएकी उनले बस्न पाउने आशमा एकनजर उसलाई हेरिन् । आँखाको भाव यस्तो थियो मानौ उनी भन्दैछिन्- ‘ए स्वार्थी मान्छे ! बच्चा बोकेर उभिएकी छु, अलिकति दया त देखाउ !’

उसले देखेकोनदेख्यै जस्तो गऱ्यो ।

मुग्लिन आइपुगेपछि भने उस्को आडको अर्को मान्छे पनि झऱ्यो । ठाउँ खाली भयो, उनी सानी बच्चीलाई काँखमा लिएर गम्भीर अनुहार बनाउँदै बसिन् । बस्दा, काखमा राखिएको बच्चीको पैतालाले उसको नाडीमा छोयो । बच्चीको गोडा आगोको भुङ्ग्रो जस्तो तातो थियो । हातले पिँडुला छाम्यो पक्कै १०४ डिग्री भन्दा कम ज्वरो आइरहेको थिएन । झल्यास्स भयो । बच्ची निदाएकी होइन रहिछे, ज्वरोले अर्धचेत भएर लडेकी रहिछे । ती नारीको अनुहारमा नियालेर हेऱ्यो, त्यहाँ गहिरो वेदना र चिन्ताको भावहरू प्रष्ट देख्यो । आफैंलाई मनमनै धिक्काऱ्यो । आफूभित्र लुकेको वासनाको पाशविकतालाई थुक्यो ।

‘कति भो’ यो नानीलाई ज्वरो आएको ?’- बच्चीको निधार छाम्दै सोध्यो ।

‘पाँच दिन भयो दाइ !’- उतिर हेर्दै आँखाभरी आँसु पारेर यसरी बोलिन् मानौँ कसैले उनको वेदनाको जालेघाऊ सियोको टुप्पोले फुटाइदिएको होस् । दुई थोपा मोतीदाना आँखाको कुनोबाट गोरो चेहरामा गुडुल्किँदै खसे ।

‘किन एक्लै त ? श्रीमान् हुनुहुन्न घरमा ?’

‘वहाँ मलेसियामा हुनुहुन्छ । घरमा वृद्ध भइसकेका सासू-ससुरा मात्र हुनुहुन्छ । खासै हिँडडुल गर्न सक्नुहुन्न । छोरीलाई गाउँकै हेल्थपोस्टमा देखाएको पाँच दिन भइसक्यो, औषधिले छुँदै छोएन । अहिल्यै भरतपुर लै’हाल्नुस् भन्यो । त्यहिँबाट सोझै नानी बोकेर बस चढेँ । भरतपुरमा पनि आफन्त चिनेजानेको कोही छैन । कुन हस्पिटल लाने ? कुन डाक्टरलाई देखाउने ? केही थाहा छैन दाइ ।’ – एकैसासमा बोलिन् ।

‘घर काँ हो बैनी ?’ – सोध्यो ।

‘मझीमटार !’

‘मझिमटार कुन गाउँ ?’

‘सेतोमाटे !’

सेतोमाटे भन्नासाथ टाढाको बसाइँ हुनाले उसको खासै आवतजावत नहुने आफ्नै स्वर्गीय कान्छो हजुरबुबालाई सम्झियो । वहाँ पनि सेतोमाटेमै बस्नुहुन्थ्यो । गाउँलेहरूले ‘तल्लाघरे कार्की बा’ भनेर चिन्थे । हजुरबुबाको मृत्यु भएपछि निकै वर्ष भएको थियो त्यतातिर जान नभ्याएको । दुई वर्षअगाडि सोही हजुरबुबाको नाति सुधनको बिहेको निम्तोमा पनि जान भ्याएन । सोधिहाल्यो-

‘तल्लाघरे कार्कीबाको छोरालाई चिन्नुहुन्छ ?’

‘आफ्नै ससुरालाई नि किन नचिन्नु ?’- उतिर केही अचम्मित हुँदै सोधिन् – ‘बरु हजुरले कसरी चिन्नुभयो ?’

उत्तर नदिइ प्रतिप्रश्न गऱ्यो- ‘परार बिहे हुने सुधन भाइ तिम्रो श्रीमान् हो ?’

उनको ‘हो’ उत्तरसँगै उस्को मनमा फेरि एकपल्ट झिलिक्क बिजुली चम्केर चट्याङ पऱ्यो । फेरि एकपल्ट आफ्नो पाशविकतालाई थुक्यो ।