छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु


महोत्तरी, बारा, प्यूठान, रुकुम (पश्चिम), झापा, बाँके र दाङका छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

महोत्तरीको महोत्तरी गाउँपालिका-६ गोरिगामामा प्र।२–०२–००१ त ००६४ नम्बरको ट्रयाक्टर आइतबार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–५ बहेरा बस्ने १८ वर्षीय सरोज डोम छन् ।

बाराको पचरौता नगरपालिका-८ लंगडाचोक डोर पुलमा प्रदेश नम्बर २–०३–०१४ प ४०१६ नम्बरको मोटरसाइकलबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट ईशनाथ नागरपालिका–२ औरैया टोल बस्ने ३० वर्षीया मिना देवी रहेकी छन् ।

प्यूठानको प्यूठान नगरपालिका–४ बिजुवारमा रा।१ क ८८१ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने १५ महिने बालक युनिक कार्कीको आइतबार दिउँसो मृत्यु भएको छ ।

रुकुम (पश्चिम)को आठबिकोट नगरपालिका–४ तिलमा भे।२ त ५४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक सोही नगरपालिका–६ बस्ने ३९ वर्षीय मोति प्रसाद खड्काको घटनास्थलमै मृत्यु भएको छ ।

झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा ना. ६ ख ६४५५ नम्बरको ट्रकले बा।१५ प ८२०२ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका–२ बस्ने २९ वर्षीय संयम बजगाइँ रहेका छन् ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–११ बिपि चोकमा प्रदेश नम्बर ३–०१–०२३ च ८४८१ नम्बरको कारको ठक्करबाट ३ जना पदैलयात्रीको आइतबार राति मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही उपमहानगरपालिका–११ सोनारमण्डी बस्ने ६५ वर्षीया समिना ईद्रिसी, ५ वर्षीय अली अन्सारी र ५ बर्षीय कलिम इद्रिसी रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

दाङको घोराही उपमहानगरपालिका–७ नागडाँडामा रा।५ प ५१८५ नम्बरको मोटरसाइकल रा.१ त ४६७८ नम्बरको ट्रयाक्टरमा ठोक्किएर आइतबार राति दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–१६ बयरडाँडा बस्ने २२ वर्षीय निसान्त चौधरी रहेका छन् ।