ब्रिटिश सेनाले चार सय निहत्था भारतीयको हत्या गरेको त्यो दिन

ब्रिटिश सेनाले चार सय निहत्था भारतीयको हत्या गरेको त्यो दिन


आजकै दिन अर्थात सन् १९१९ को १३ अप्रिलमा ब्रिटिश सेनाले भारतमा झन्डै ४०० निहत्था नागरिकको हत्या गरेको थियो । ब्रिगेडियर-जनरल रेजिनाल्ड डायरको ठाडो आदेशमा अमृतसरको जलियानवाला बागमा निहत्था मानिसको हत्या भएको थियो ।

जलियानवाला बागमा जम्मा भएका निहत्था भारतीयमाथि सेनाले अन्धाधुन्ध गोली हानेको थियो । आक्रमणमा सयौँ जना घाइते भएका थिए । प्रथम विश्व युद्ध (सन् १९१४ देखि सन् १९१८)को अवधिमा भारतको ब्रिटिश सरकारले विध्वंसात्मक गतिविधिविरुद्ध लड्न दमनकारी आपतकालीन शक्तिहरू लागू गरेको थियो ।

युद्धको अन्त्यमा ती कदम सहज हुने र राजनीतिक स्वायत्तता प्राप्त हुने आमभारतीयले अनुमान गरेका थिए । तर, सरकारले सन् १९१९ को सुरुमा ‘रोलट एक्ट’ भनेर चिनिने एउटा ऐन ल्याएको थियो, जसले दमनकारी युद्धकालीन कदमलाई प्रश्रय दिएको थियो ।

ब्रिटिश सरकारको सो कदमपछि विशेषगरी पन्जाबका भारतीयबीच व्यापक क्रोध र असन्तुष्टि बढेको थियो । ऐनले संदिग्धहरूलाई अदालतमा सुनुवाइबिना नै नजरबन्दमा राख्न अनुमति दिएको थियो ।

त्यसको विरोधमा महात्म गान्धीले एक दिने देशव्यापी आम हड्ताल आह्वान गरेका थिए । अमृतसरमा प्रमुख भारतीय नेताहरूलाई गिरफ्तार गरी सो सहरबाट निष्कासन गरिएको समाचारले १० अप्रिलमा हिंसात्मक प्रदर्शनहरू भएका थिए । अमृतसारमा चर्चित नेताहरु पक्राउ परेका थिए ।

ब्रिगेडियर जनरल रेजिनाल्ड एडवर्ड ह्यारी डायरलाई शान्ति सुव्यवस्था कामय गर्ने जिम्मा दिइएको थियो । उनको निर्देशनमा सार्वजनिक जमघटमा प्रतिबन्ध लगाइयो ।

१३ अप्रिलको दिउँसो करिब १० हजार पुरुष, महिला र केटाकेटीहरूको ठूलो भिड पर्खालले घेरिएको जलियावाला बागमा जम्मा भएको थियो । बैसाखी पर्व मनाउन वरपरका क्षेत्रबाट सो स्थानमा मानिसहरू भेला भएका थिए ।

डायरको आदेशमा त्यहाँ पुगेका सिपाहीले पर्खालले घेरिएको स्थानको बाहिर निस्कने बाटो बन्द गरे । बिनाचेतावनी डायरको आदेशमा सेनाहरूले भीडमा अन्धाधुन्ध सयौं राउन्ड गोली हानेको थियो । बारुद समाप्त नहुन्जेल सेनाले गोली हानेका थिए ।

रक्तपातमा कतिको मृत्यु भयो भन्ने यकिन छैन । तर, एक आधिकारिक रिपोर्टअनुसार अनुमानित ३७९ जना मारिनुका साथै १२ सय जना घाइते भएका थिए ।

सो हमलाले भारत-ब्रिटिश सम्बन्धमा स्थायी दाग लगाउनुका साथै भारतका राष्ट्रपिता महात्मा गान्धीले भारतलाई बेलायतबाट स्वतन्त्र गर्न पूर्णप्रतिबद्धता जनाएका थिए ।