विद्यार्थीलाई मात्र पोल्छ महङ्गीको रापले ?

विद्यार्थीलाई मात्र पोल्छ महङ्गीको रापले ?


पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विभिन्न दलसम्बद्ध तेह्र्र विद्यार्थी सङ्गठन केही दिनदेखि सडक-आन्दोलनमा छन् । मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने भन्दै उनीहरू विरोधका विभिन्न शैली प्रदर्शन गरिरहेका छन् र प्रदर्शन देशैभर चलिरहेको छ । अरू त अरू, सरकारको नेतृत्व गरिरहेको दलसम्बद्ध विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीसमेत आन्दोलनको अग्रपङ्क्तिमा देखिएको छ भने मूल्यवृद्धिको निर्णय फिर्ता नलिए कडा प्रकृतिका थप विरोध-कार्यक्रम अघिसारेर सरकारलाई झुकाइछोड्ने दृढता सो सङ्गठनले दर्शाएको छ । उपत्यका बन्दसम्मको कार्यक्रम सार्वजनिक भइसकेको अवस्थामा भावी ‘कडा’ कार्यक्रम के-कस्ता रहने हुन्- प्रतीक्षाकै विषय छ । तर, यसरी आफ्नै कार्यकर्तासमेत सडकमा उत्रिँदा पनि सरकार भने निर्णय फिर्ता लिन नमिल्ने तर्क गर्दै जनताको सास्ती टुलुटुलु हेरिबसेको छ ।
सर्वहारा, शोषित, पीडित, गरिब, मजदुर, निमुखाजस्ता शब्द प्रयोग गर्दै तिनका आँसु पुछ्ने गीत गाएर सत्तासम्मको यात्रा पूरा गरेको ‘क्रान्तिकारी पार्टी’ विगतका ‘सामन्ती-दलाल-पुँजीवादी-प्रतिक्रियावादी सरकार’का निर्णयहरूलाई समेत ओझेल पार्नेगरी निर्लज्ज रूपमा इन्धनको भाउ बढाउँछ र सोही पार्टीका ‘क्याडर’हरू आफ्नै नेतृत्वविरुद्ध आवाज उठाउन विवश हुन्छन् भने दुनियाँका लागि यो तमासा सावित नहुने त प्रश्नै रहेन । यस्तो मूल्यवृद्धिले दैनन्दिनीसँग जोडिएका अन्य क्षेत्र वा वस्तुमा पनि सर्वसाधारणले थेग्न नसक्ने गरी मूल्य बढाउँछ भन्ने सत्यप्रति आँखा चिम्लिएको भट्टराई-सरकार वर्तमान परिवेशमा किर्ंकर्तव्यविमुढ बन्नु अस्वाभाविक नभए पनि आमजनतालाई राहत दिने सवालमा सरकारी दृष्टिकोण र तयारी पटक्कै नरहेको देखिनुचाहिँ घोर विडम्बनाको विषय हो । सर्वत्र रूपमा आशापेक्षा गरिएका विद्वान् प्रधानमन्त्री यति ‘रित्ता’ र निरीह सावित होलान् भन्ने अनुमान कसैले सायदै गरेका थिए ! यस्तै, नेताहरूको उक्साहटमा ‘पुरानो सत्ता’का शासकहरूको अन्धाधुन्ध विरोध गर्दै पार्टीलाई सत्तामा पुर्‍याएका कार्यकर्ताले पनि यति चाँडै आफ्नै पार्टी र नेतृत्वको विरोधमा सडकमै उत्रिनुपर्ला भन्ने अनुमान अवश्य गरेका थिएनन् होला । हिजो युद्धमोर्चामा सँगै काँधमा काँध मिलाएर हिँड्ने नेताहरूले यति छिट्टै आफ्ना आवाज सुन्न छोड्लान् भन्ने कल्पना गर्न सकेका भए सम्भवत: तिनका यात्रा हिजै अन्यत्र मोडिने थियो कि !
यस्ता कल्पना र अनुमानसँगै विद्यार्थीद्वारा मूल्यवृद्धिविरुद्ध जारी आन्दोलनले यतिबेला एउटा अहम् प्रश्न पनि खडा गरिदिएको छ- के पेट्रोलियममा गरिएको मूल्यवृद्धिबाट सिर्जना हुने दूरावस्था वा कष्ट विद्यार्थीले मात्रै झेल्नुपर्ने हो ? अर्थात्, यो मूल्यवृद्धि विद्यार्थीका लागि मात्रै हो र ? होइन भने सडकमा टायर बाल्न, बाटो छेक्न, बजार, यातायात, कलकारखाना बन्द गर्न उनीहरू मात्रै उद्यत् बनेका किन ? आन्दोलनको ठेक्का के विद्यार्थीले नै पाएको छ ? आमनागरिक तप्का किन सुस्ताएको छ ? मुलुकमा पटक-पटक कल्पना गरिएका या नगरिएका परिवर्तनको बाहक बन्दै आएका ँनेपाली जनता’ यतिबेला कहाँ छन् ? व्यवस्था बदलिए पनि अवस्था बदलिँदैन भने शासन-व्यवस्था परिवर्तनको औचित्य रहन्न भनी आफूलाई सचेत नागरिक भन्न रुचाउने नेपाली जनताले आफै बुझ्नुपर्ने होइन र ? हो भने मुलुकको भविष्यका रूपमा चिनिने विद्यार्थी वर्गको टाउकोमा गिर खेल्ने धृष्टता ‘आमनेपाली’ले अब त्याग्नैपर्छ । कि आन्दोलनमा उत्रिएका विद्यार्थीलाई ‘यो औचित्यपूर्ण छैन, हामी बढेकै मूल्य व्यहोर्न तयार छौँ’ भनी पछि हटाउन सक्नुपर्छ होइन भने आफ्नै नागरिकको दु:ख-दर्द बुझ्न र आँसु पुछ्न नसक्ने लाछी सरकारविरुद्ध आफैं आन्दोलनमा उत्रन सक्नुपर्छ । के मूल्यवृद्धिको रापले विद्यार्थीलाई मात्र पोल्छ र ?