विदेशी बैंकमा करोडौँ रकम कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।
प्रहरीले नेपाल राष्ट्र बैंक ऐन, २०५८ सम्बन्धी कसुरमा पक्राउ परेका नुवाकोटको विदुर नगरपालिका-२ घर भइ हाल काठमाडौं महानगरपालिका-३ पानीपोखरी बस्ने ४१ वर्षीय अमित श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि मंगलबार डिल्लीबजार कारागार चलान गरेको हो ।
पक्राउ परेका श्रेष्ठले अष्ट्रेलियाको वेल्थ बैंकमा एक लाख ९४ हजार दुई सय ८५ अमेरिकन डलर, क्यानडाको रोयल बैंकमा १८ लाख ७४ हजार चार सय २१, एभरेष्ट बैंक लिमिटेडको खाताबाट रु दुई करोड ६ लाख ६ हजार ६ सय ९२, एनआइसी एशिया बैंक लिमिटेडको खाताबाट रु ६५ लाख २४ हजार नौ १०, नबिल बैंक लिमिटेडको खाताबाट क्यानेडियन ६७ हजार पाँच ९६ र नेपाली रु ६५ लाख अवैध कारोबार गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार श्रेष्ठको काठमाडौं महानगरपालिका–१४ कलङ्की तथा कामपा–३ लाजिम्पाटमा जग्गा र पानीपोखरीमा अपार्टमेन्टसमेत रहेको पाइएको छ । उनको साथबाट बरामद भएको दुई थान मोबाइल र दुई थान ल्यापटपबाट उक्त कारोबार पत्ता लागेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया