स्वदेशी उत्पादनले मूल्य नपाएपछि कृषक आन्दोलित

स्वदेशी उत्पादनले मूल्य नपाएपछि कृषक आन्दोलित


आफ्नो उत्पादनले उचित मूल्य नपाएको भन्दै किसानहरूले आज (३१ असार) काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । भारतीय गोलभेडाको निर्बाध आयातका कारण स्वदेशी उत्पादनले मार खेप्नुपरेको नेपाली कृषकहरुको गुनासो छ । प्रदर्शनका क्रममा उनीहरुले गोलभेँडालगायतका तरकारी सडकमा फ्याँकेर राज्यप्रति असन्तुष्टि प्रकट गरेका थिए ।

किसानहरूले स्वदेशी कृषि उत्पादनको संरक्षण, बजारको सुनिश्चितता तथा बिचौलियाको नियन्त्रणको माग गरेका छन् भने । किसान आन्दोलनको सन्दर्भमा प्रतिक्रिया दिँदै नागरिक शक्ति नेपालका कृषि विभाग प्रमुख रेशम डुम्रेले किसानले उत्पादनको उचित मूल्य नपाउनुको मुख्य कारण कृषिबजारमा बिचौलियाको बढ्दो प्रभाव र विदेशी कृषि उत्पादनको अनियन्त्रित प्रवेश रहेको धारणा राखे ।

किसानको उत्पादनमा बिचौलिया हाबी रहेसम्म र विदेशी उत्पादनले निर्बाध रूपमा नेपाली बजारमा प्रवेश पाइरहेसम्म किसानका समस्या समाधान नहुने उनको तर्क छ ।

सरकारले स्वदेशी उत्पादनको संरक्षण, आयात व्यवस्थापन र किसानमैत्री कृषि नीति अवलम्बन गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले किसानको मेहनतको उचित मूल्य सुनिश्चित गर्न, कृषि उपजको बजार व्यवस्थापन गर्न तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति तत्काल लागू गर्न सरकारसँग आग्रह गरे ।

प्रदर्शनमा सहभागी किसानहरूले स्वदेशी कृषि उत्पादनको संरक्षण नगरे कृषकहरू क्रमशः खेतीबाट पलायन हुने चेतावनीसमेत दिएका छन् ।