सवारी दुर्घटनामा घाइते चौधरीलाई नेपाल फर्काउन सहयोग अभियान सुरु

सवारी दुर्घटनामा घाइते चौधरीलाई नेपाल फर्काउन सहयोग अभियान सुरु


पोल्याण्डमा सवारी दुर्घटनामा परेर गम्भीर घाइते भइ उपचाररत नेपाली नागरिक अमित कुमार चौधरीलाई सुरक्षित रूपमा नेपाल फर्काउने उद्देश्यले एनआरएनए पोल्याण्ड (NRNA Poland) ले ‘अमित कुमार चौधरी फर्काऔं’ नामक सहयोग-अभियान सुरु गरेको छ ।

चिकित्सकको सल्लाहअनुसार चौधरीलाई विशेष चिकित्सकीय व्यवस्थासहित नेपाल फर्काउन आवश्यक प्रक्रिया अघि बढाइएको एनआरएनए पोल्याण्डले जनाएको छ । प्रारम्भिक अनुमानअनुसार उनलाई सुरक्षित रूपमा नेपाल फर्काउन करिब २२ हजार पोलिश ज्लोटी (PLN 22,000) खर्च लाग्ने अनुमान गरिएको छ ।

अभियानको सुरुवातस्वरूप एनआरएनए पोल्याण्डले आफ्नै तर्फबाट PLN 2,000 सहयोग प्रदान गरेको जनाएको छ । बाँकी आवश्यक रकम जुटाउन पोल्याण्ड तथा अन्य मुलुकमा रहेका नेपाली समुदाय, संघसंस्था तथा सहयोगीहरूलाई आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गर्न अपिल गरिएको छ ।

सहयोग रकम सान्तान्देर बैंक पोल्याण्डस्थित एनआरएनए पोल्याण्डको बैंक खातामा जम्मा गर्न सकिने जनाइएको छ । रकम पठाउँदा ‘Amit Kumar Chaudhary’ उल्लेख गर्न आग्रह गरिएको छ ।

एनआरएनए पोल्याण्डले सहयोग संकलन अभियान जुलाई २३, २०२६ सम्म सञ्चालन हुने जनाएको छ । आवश्यक रकम निर्धारित समयअघि नै संकलन भएमा अभियान तत्काल बन्द गरिने जनाइएको छ । यदि आवश्यकताभन्दा बढी रकम संकलन भएमा, उक्त रकम अमित कुमार चौधरी तथा उनको परिवारको सहमतिमा उपचार, पुनःस्थापना वा अन्य मानवीय प्रयोजनका लागि पारदर्शी रूपमा उपयोग गरिने संस्थाले जनाएको छ ।

यस अभियान तथा अमित कुमार चौधरीलाई नेपाल फर्काउने प्रक्रियाबारे जर्मनीस्थित नेपाली राजदूतावास र नेपाल सरकारको परराष्ट्र मन्त्रालयलाई पनि इमेलमार्फत जानकारी गराइएको एनआरएनए पोल्याण्डले जनाएको छ ।

एनआरएनए पोल्याण्डले सम्पूर्ण नेपाली समुदायलाई मानवताको भावनाका साथ अभियानमा सहभागी भई सहयोग गर्न अनुरोध गरेको छ।