सोलुखुम्बुको लिखु पिके गाउँपालिकामा ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बा निर्माणको शिलान्यास गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष मीना बस्नेत र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजयकुमार सिंहले संयुक्त रुपमा गुम्बा शिलान्यास गर्नुभएको दूतावासले जनाएको छ ।
भारत सरकारको करिब रु तीन करोड ३० लाख आर्थिक सहयोग उक्त गुम्बाको निर्माण गरिनेछ । त्यस गाउँपालिकामार्फत कार्यान्वयन गरिने उक्त उच्च प्रभाव सामुदायिक विकास परियोजना सोलुखुम्बुको छैटौँ हो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बस्नेत तथा अन्य सरोकारवालाले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गर्नुभयो । उहाँहरूले नयाँ पूर्वाधारले सोलुखुम्बुको लिखु पिके गाउँपालिकाको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्न मद्दत पुऱ्याउने विश्वास व्यक्त गर्नुभयो ।
भारत र नेपालबीच बहुक्षेत्रीय सहकार्य रहिआएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास र समृद्धिलाई अगाडि बढाउने नेपालको प्रयासलाई सहयोग गर्नेछ ।
प्रतिक्रिया