विश्वकप : इङ्गल्याण्ड र अर्जेन्टिना भिड्दै गर्दा…

विश्वकप : इङ्गल्याण्ड र अर्जेन्टिना भिड्दै गर्दा…


  • के तपाईंलाई थाहा छ, लियोनल मेस्सीले आजसम्म इङ्गल्याण्डविरुद्ध एउटा पनि म्याच खेलेका छैनन् ?
  • मेस्सीले डेब्यु गेमको केही सेकेण्डमै रेड कार्ड पाएका थिए ।
  • २००५ मा भएको इङ्गल्याण्डविरुद्धको म्याचमा मेस्सी छनोट भएनन् । त्यसपछि २१ वर्षसम्म यी दुई टीमबीच कुनै म्याच नै भएन !
  • अँ, फुटबलमा देखाइने एल्लो र रेड कार्डको सुरुवात पनि अर्जेन्टिना र इङ्गल्याण्डकै खेलका कारण भएको थियो ।
  • १९६६ मा इङ्गल्याण्डमैं भएको र इङ्गल्याण्डले नै जितेको वर्ल्डकप अन्तर्गत क्वार्टरफाइनल खेलमा रेफ्रीले अर्जेन्टिनी खेलाडीलाई मैदानबाहिर जान भनेका थिए । तर भाषा नबुझेका कारण खेलाडी बाहिर गएनन् !
  • त्यसपछि अङ्ग्रेजी रेफ्री केन एस्टनको पहलमा ‘ल्याङ्गवेज ब्यारियर’ तोड्न कार्ड देखाउने जुक्ति निकालिएको हो । उनलाई उक्त जुक्ति ट्राफिक लाइटमा रोकिँदा फुरेको थियो !

यो त थाहा नै होला, अर्जेन्टिनाजस्तो इङ्गल्याण्ड ठ्याक्क ‘राष्ट्रिय टिम’ होइन ! राष्ट्रको नाम ‘युनाइटेड किङ्गडम’ (युके) हो जसभित्र ग्रेटब्रिटेन र उत्तरी आयरल्याण्ड पर्छन् ।

युकेभित्र ४ राज्यहरू छन् र सबैका आफ्नै फुटबल टिम छन् ! इङ्गल्याण्ड र स्कटल्याण्ड दुईवटा त यसपटक विश्वकपमै छनोट भएका थिए । नर्दन आयरल्याण्ड र वेल्स पनि राम्रो टिम मानिन्छन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले देश (कन्ट्री)लाई मात्रै मान्यता दिने हुनाले सिङ्गो युकेको एउटा मात्रै टिम हुन्छ, जसलाई Team GB भनिन्छ । फिफाले चाहिँ अलि लचिलो भएर कन्ट्रीसँगै ‘नेशन’हरूलाई पनि सदस्यता दिएकाले त्यहाँ युकेका चारवटै टिम सहभागी हुन्छन् । ओलम्पिकबाहेकका प्रायः सबै खेलहरूमा यस्तो देख्न पाइन्छ ।

ओलम्पिकमा एउटामात्र राष्ट्रिय टिम भए पनि उत्तरी आयरल्याण्डका खेलाडीले चाहिँ युके या आयरल्याण्डमध्ये एक देश रोज्न र त्यो टिमबाट खेल्न पाउँछन् ।

आज इङ्गल्याण्ड र अर्जेन्टिना भिड्दै गर्दा तपाईंले अर्जेन्टिनाको समर्थन गर्नुभएको हुनसक्छ । उसका समर्थक विश्वभरि छन् । विरोधीले त रेफ्री र फिफासमेत अर्जेन्टिनाको समर्थक भएको आरोप लगाउन भ्याउँछन् । रोचक त के छ भने कुनैबेला विश्वको हरेक कुनामा ब्रिटिश साम्राज्य फैलिएको थियो । आज बाँकी बचेको सानो ‘युके’ले पनि इङ्गल्याण्डको समर्थन गरिरहेको हुनेछैन । देशभित्रै पनि इङ्गल्याण्डबाहेकका अन्य राज्यमा आज इङ्गल्याण्डको समर्थन गर्नेहरू धेरै हुनेछैनन् । इङ्गल्याण्डभित्रै पनि अर्जेन्टिनादेखि नेपालसम्म विश्वभरका आप्रवासी छन् । तीमध्ये कतिले खुलेर अर्जेन्टिनाको समर्थन गर्छन् । इङ्गल्याण्ड र भारतबीच क्रिकेट खेल भयो भने सडक, यातायात र स्टेडियम भारतीय झण्डा र समर्थकले भरिन्छ । यहाँको समाजमा अचम्मको सहनशीलता छ ।

युके र अर्जेन्टिनाबीच मित्रवत् सम्बन्ध छैन । अर्जेन्टिनाको नजिकै रहेको फकल्यान्ड आइल्याण्डको स्वामित्वलाई लिएर यी दुई देशबीच द्वन्द्व मात्रै छैन, विगतमा दश हप्ता लामो युद्ध समेत लड़िसकेका छन् । त्यो युद्धमा थुप्रै नेपाली गोर्खा-योद्धाहरू समेत सहभागी थिए ।

याद गर्नुभएको होला, अर्जेन्टिनाको टिममा श्वेत खेलाडीहरूको बाहुल्य छ । अर्जेन्टिनामाथि रङ्ग र जातिभेदको आरोप पनि लाग्ने गरेको छ । आफूलाई युरोपेली मूलको रूपमा चिनाउन चाहने र अश्वेत, आदिवासी र जनजातिहरूलाई सामान्य जनगणनाबाट समेत वञ्चित गर्ने गरेको आरोप अर्जेन्टिनामाथि लाग्दै आएको छ ।

तर आजको स्पर्धा राजनीतिको होइन, खेलको हो । तपाईं हामीले गर्ने समर्थन खेलको हो ।

अन्तिममा खेलकै कुरो गरौँ । यी दुई टोलीबीच २१ वर्षयता कुनै खेल नभएकाले मेस्सी र केनजस्ता उत्कृष्ट स्ट्राइकरमात्रै होइन, अन्य खेलाडी पनि एकअर्काविरुद्ध खेलेका छैनन् । यद्यपि क्लब फुटबलमा भने यी खेलाडीहरू सँगै या विपक्षमा खेल्दै गरेका भेटिन्छन् । २००५ को अन्तिम फ्रेन्ड्ली म्याचमा माइकल ओवेनले दुई गोल गरेपछि इङ्गल्याण्ड विजयी भएको थियो भने विश्वकपमा अन्तिम पटक २००२ मा भेट हुँदा डेभिड़ बेकह्यामको एकमात्र गोलको मद्दतले इङ्ल्याण्ड विजयी भएको थियो ।

१९८६ को वर्ल्डकपमा म्याराडोनाको ‘ह्याण्ड अफ गड’ वाला गोलबारे त थाहा नै होला । इङ्गल्याण्डविरुद्धकै उनको दोस्रो गोल त फुटबल इतिहासकै सबैभन्दा सुन्दर गोल मानिन्छ ! अझ फकल्याण्ड युद्धको चार वर्षमै भएको त्यो म्याचको राप-ताप कति हुँदो हो !

आजको म्याचमा युद्धकालीन राप त हुनेछैन ! तर, वर्तमान फुटबलका महान् हस्ती लियोनल मेस्सी र उत्कृष्टमध्येका एक स्ट्राइकर ह्यारी केनबीचको टक्कर दर्शनीय हुनेछ । केनचाहिँ यो सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी समेत हुन् । यसअघि मेस्सीले मात्रै केनभन्दा बढी गोल गरेका थिए ।

आ-आफ्नो देशका लागि दुबैले सर्वाधिक गोल गरेका छन् र यी दुईमध्ये एकमात्रै स्पेनसँगको फाइनल खेल्दै गरेको भेटिनेछन् ।

को भेटिएलान् त ?