लमजुङको मर्स्याङ्दी गाउँपालिका-२, काँफलडाडामा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बुधबार पौने ५ बजेको समयमा बेसीशहरबाट घनपोखरा भाचेतर्फ जाँदै गरेको ग १ ज ७४१७ नम्बरको जिप घनपोखराको काफलडाँडास्थित सडकबाट ४० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी १५ जना घाइते भएकोमा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरिक्षक एवम् सूचना अधिकारी जगदीश रेग्मीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी मर्स्याङ्दी गाउँपालिका २ का वर्ष ५३ की इन्द्रदेवी घलेलाई थप उपचारको लागि नयाँ मेडिकल कलेज चितवन रिफर गरिएको छ ।
घाइते हुनेहरुमा मर्स्याङ्दी २ का वर्ष ५२ का चित्रबहादुर गुरुङ, वडा नम्बर ६ का वर्ष २३ का मिलन विक, वर्ष २५ का करिना सुनार, वर्ष २ का रिजन विक, वर्ष २५ का सोमनाथ विक यस्तै मर्स्याङ्दी २ का वर्ष ५६ का सुन माया गुरुङ, वर्ष १९ का रेखा विक, वर्ष ३१ का बुद्धिबहादुर गुरुङ, वर्ष ७ का राजिप गुरुङ, वर्ष ३४ का शिव कुमारी गुरुङ, वर्ष २ का रियन्स गुरुङ, वर्ष ३० की मनु विक, वर्ष ४ की कृतीका विक र वर्ष ३१ का शेषबहादुर गुरुङ रहेका छन् । घाइतेको अवस्था सामन्य भएकाले जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए ।
घटनास्थलमा स्थानीयवासी, स्थानीय प्रहरी चौकी खुदी र जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरी टोलीले घाइते भएका १५ जनालाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल लमजुङ ल्याएको रेग्मीले बताए । जिपचालक मर्स्याङ्दी गाउँपालिका २ बस्ने वर्ष ३६ का अजय विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया