सल्यान जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर ७ घुइयाबारीबाट पाटेबाघ नियन्त्रणमा लिइएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको टोली, चेतन उपभोक्ता समिति तथा स्थानीयको सहयोगमा बुधबार बिहान करिब ९ बजे आसपासको समयमा पाटेबाघ नियन्त्रणमा लिइएको भेरीगंगा नगरपालिका-५ का वडाअध्यक्ष प्रेम बहादुर सारुले बताए ।
कालिमाटी गाउँपालिका-७ मा बुधबार बिहान गोठमा बाँधेका २ वटा गोरु मारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बाघले गोरु मारेको सुचना पाएपछि घटनास्थलमा पुगेका बर्दिया राष्ट्रिय निकुञ्जको टोली र प्रहरीले उक्त पाटेबाघलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
यसअघि आइतबार भेरीगंगा-५ बबई गेरुवानीका ४८ वर्षीय रामबहादुर चन्द, ६७ वर्षीय कवि वलीको पनि बाघको आक्रमणबाट ज्यान गएको थियो । आइतबार घटना भएको ठाउँ भन्दा करिब २ किलोमिटर टाढाबाट बाघ नियन्त्रण लिइएको वडाअध्यक्ष सारुले जानकारी दिए ।
उनका अनुसार नियन्त्रणमा लिएको सो बाघ बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको छ । यसअघि आइतबार २ जनाको ज्यान लिएको बाघ यही हुन सक्ने अनुमान गरिएको उनले बताए ।
प्रतिक्रिया