राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट बिहीबार पारित गर्ने तयारी

राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट बिहीबार पारित गर्ने तयारी


राष्ट्रपति विद्यादेवी भण्डारीबाट संदेशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट बिहीबार (२ भदौ) पारित गर्ने तयारी भएको छ ।

बिहीबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ ।

प्रतिनिधिसभा नियमावलीको नियम १३६ अनुसार राष्ट्रपतिबाट पुनर्विचारको लागि सन्देशसहित विधेयक फिर्ता भएपछि सभालाई जानकारी दिइन्छ । यस्तो जानकारी संसद् सचिवालयले प्रतिनिधिसभामा सोमबार नै गराइसकेको छ ।

सभालाई विधेयक फिर्ताको जानकारी गराएपछि अगाडि बढ्ने दुई वटा बाटा छन् । पहिलो– सदनमै पुनर्विचार गर्ने । दोस्रो– संसदीय समितिमा पठाएर पुनर्विचार गर्ने ।

राष्ट्रपतिले पुनर्विचारका लागि नै फिर्ता पठाउने भएका कारण राष्ट्रपतिको सन्देशउपर के गर्ने भनेर सरकार र सम्बन्धित मन्त्रालयले निर्णय गर्छ । त्यसपछि सम्बन्धित मन्त्रीले सदनमै पुनर्विचार गर्ने वा संसदीय समितिमा पठाएर पुनर्विचार गर्ने प्रस्ताव सदनमा राख्नेछन् ।

नागरिकता विधेयकका सन्दर्भमा सरकारले पहिलो बाटो रोजेको छ । बिहीबार गृहमन्त्री बालकृष्ण खाँडले नागरिकता विधेयकमाथि सदनमै पुनर्विचार गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । त्यसपछि सांसदहरुले आफ्नो धारणा राख्नेछन् । गृहमन्त्रीले जवाफ दिएपछि विधेयक निर्णयार्थ प्रस्तुत हुनेछ । मन्त्रीले जवाफ दिँदा सांसदहरुले उठाएका विषय स्वीकार गर्ने वा नगर्ने भनी राख्नेछन् । स्वीकार गरेको खण्डमा विधेयकमा थपघट हुनेछ ।

सभामुखले निर्णयार्थ पेश गरेपछि विधेयक बहुमत र अल्पमतका आधारमा पास भएर अगाडि बढ्न सक्छ । संघीय संसद् सचिवालयका अनुसार बिहीबार नै नागरिकता विधेयक पास भएर राष्ट्रियसभामा पठाउने तयारी छ ।