राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पाटनको कृष्ण मन्दिर दर्शन

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पाटनको कृष्ण मन्दिर दर्शन


  • तस्बिर रासस

राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनको कृष्ण मन्दिर दर्शन गर्नुभएको छ । आज भाद्र कृष्ण अष्टमी अर्थात ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा उहाँले पाटनको कृष्ण मन्दिर आएर जल तथा प्रसाद ग्रहण गर्नुभयो ।

मन्दिरका मूल पुजारी रुपनशर्मा राजोपाध्यायले भण्डारीलाई मन्दिरको जलले अभिषेक गरी प्रसाद प्रदान गर्नुभएको थियो । साथै पुजारी टोलीले उहाँलाई अन्य बाँकी प्रसादसमेत प्रदान गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले कृष्णको दर्शन र आरधनासँगै पाटनमा रहेको मङ्गहिटीसमेतको बारेमा जानकारी लिनुभएको थियो ।

सोही क्रममा राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आफूहरुले नेपाल सरकारसँग एक रुपैयाँ नलिइ कृष्ण मन्दिरनजिकै रहेको व्यापारीको आराध्यदेव भीमसेन मन्दिर पुनर्निर्माण गरेको जानकारी गराउनुभयो ।

सो कुरा सुनेसँगै भण्डारीले आफू छिट्टै पाटन दरबार आएर भीमसेन मन्दिरको अवलोकन गर्ने वचनबद्धता व्यक्त गर्नुभएको महानगरपालिकाका प्रमुख महर्जनले बताउनुभयो ।

सो अवसरमा ललितपुर क्षेत्र नं १ प्रतिनिधिसभाका सांसद नवराज सिलवाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, महानगपालिकाका वडाध्यक्ष, मङ्गल टोल सुधार सङ्घका अध्यक्ष किरणमान प्रधान, ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योंलगायतले राष्ट्रपति भण्डारीको स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले आज करिब पाँच मिनेट समय पाटन कृष्ण मन्दिर परिसरमा बिताउनुभएको थियो ।