प्रधानमन्त्री देउवाद्वारा गिरीको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री देउवाद्वारा गिरीको निधनप्रति दुःख व्यक्त


नेता गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि आइतबार बिहान ११ः३० बजेदेखि २ः०० बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, सानेपामा राखिने

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनको खबरले आफू स्तब्ध भएको जनाएका छन् ।

ट्विट गर्दै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु ।’

नेता गिरीको निधनले नेपालको एक सच्चा र असल नेता गुमाएको देउवाको भनाइ छ । उनले दिवंगत नेता गिरीको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

यस्तै, नेपाली कांग्रेसले पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदिप गिरीको निधनप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले एक शोक विज्ञप्तिमार्फत नेता गिरिको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनाका साथ श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै कांग्रेस संसदीय दलले दुःखको यस घडीमा शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

नेता गिरीप्रति श्रद्धाञ्जलीका लागि पार्थिव शरीर आइतबार (भदौ ५ गते) बिहान ९ः०० बजे देखि ११ः०० बजेसम्म नेपाल मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा राखिने सो शोक विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी श्रद्धाञ्जलीको लागि बिहान ११ः३० बजेदेखि २ः०० बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, सानेपामा पार्थिव शरीर राखिने र तत्पश्चात अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने जनाइएको छ ।

विसं २००४ सालमा सिरहामा जन्मिएका समाजवादी चिन्तक गिरी २०२१ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसको राजनीतिमा सक्रिय भएका हुन् । उनी हाल प्रतिनिधिसभा सदस्य थिए ।