प्रदीप गिरीको निधनबाट एमाले अध्यक्ष ओली दुःखी, माओवादी अध्यक्ष प्रचण्ड स्तब्ध !

प्रदीप गिरीको निधनबाट एमाले अध्यक्ष ओली दुःखी, माओवादी अध्यक्ष प्रचण्ड स्तब्ध !


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधनले आफूलाई दुःखित तुल्याएको बताएका छन् ।

शनिबार रारि उपचारको क्रममा निधन भएका गिरीप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै अध्यक्ष ओलीले परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु’ आइतबार बिहान ट्वीट गर्दै अध्यक्ष ओलीले भनेका छन, ‘उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि गिरीको निधनमा शोक ब्यक्त गरेका छन् । गिरीको निधनले समकालिन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति भएको प्रचण्डले जनाएका छन् ।

‘नेपाली राजनीतिका बौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ,’ प्रचण्डले सामाजिक सञ्जालमा भनेका छन, ‘गिरीको निधनबाट समकालिन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु ।’