बन्दकर्ताद्वारा सवारीसाधनमा आगजनी

बन्दकर्ताद्वारा सवारीसाधनमा आगजनी


  • दाङ प्रतिनिधि

विप्लव नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टी कार्यकर्ताले दाङमा मंगलबार बिहानै सवारीसाधनमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा. १ ख १६९४ नम्बरको टिपरमा बिहान बबइखोलाको पुलनजिक बन्दकर्ताले आगजनी गरेका हुन् ।

चार–पाँच जनाको समुहमा रहेका व्यक्तिले टिपरको अघिल्लो भागमा आगो झोसेर भागेका थिए । आगजनीका कारण टिपरको अघिल्लो भाग जलेर नष्ट भएको छ ।

घटनास्थलमा प्रहरी पुगेको र आगजनीमा संलग्नहरुको खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिएका छन् ।

चार क्रान्तिकारी कम्युनिस्ट पार्र्टीले नेपाल बन्दको घोषणा गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन् ।

तीनबुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार, महङ्गीका विरुद्ध देशैभर बन्दको आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।