बिमा रकम असुल्न बिग्रेको गाडीमा आगजनी !

बिमा रकम असुल्न बिग्रेको गाडीमा आगजनी !


चालक र सहचालक पक्राउ, गाडीमालिकको खोजी

  • दाङ प्रतिनिधि

चार कम्युनिष्ट दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी बिमा रकम हत्याउने दूराशय राखेर चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएको खुलासा भएको छ । दाङमा मंगलबार बिहान चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।

घोराही(लमही सडकखण्डको बबइखोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाइएको थियो ।

विभिन्न चार कम्युनिष्ट दलले आह्वान गरेको बन्दको मौका पारी बिहान गाडीमा आगजनी भएको देखेपछि चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडीमालिकको सहमतिमा बिग्रेको गाडीमा आगजानी गरेको पुष्टि भएको उनले बताए । गाडीमालिकको पनि खोजी भइरहेको काफ्लेले जानकारी दिए । बिमा रकमको लोभमा बिग्रेको गाडीमा आगजनी गरेको देखिएको प्रहरीको अनुमान छ ।