बालकोट पुगिन् ओलीकी छोरी !

बालकोट पुगिन् ओलीकी छोरी !


  • खड्क सुनार, मुगु

मुगु जिल्लामा प्रधानमन्त्रीकी छोरी भनेर चिनिने एक बालिका भक्तपुरको बालकोटस्थित ओलीनिवास पुगेकी छन् । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका वडा नं ८ माग्रींमा बस्दै आएकी उनलाई पूर्वप्रधामन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेका थिए । उनै ठिल्ले साङ्मु लामा केही दिनअघि बालकोट पुगेकी हुन् ।

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा २०७५ सालमा रारा पर्यटन वर्षको कार्यक्रममा सहभागी हुन पुगेका तत्कालीन प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यले लामाको अभिभावकत्व ग्रहण गरेका थिए ।

केपी ओलीकी धर्मपत्नी राधिका शाक्यले अर्की छोरी छिरिङ छेन्जोङ लामाको पनि अभिभावकत्व ग्रहण गरेकी थिइन् । उनीहरु दुवै गत बुधबार ओली निवास बालकोट पुगेका हुन् । अभिभाकत्व ग्रहणपछि लामो समयसम्म गाउँमा बस्दा दुवै लामालाई गाउँले र उनका साथीले प्रधानमन्त्रीकी छोरी भनी सम्बोधन गर्ने गरेका थिए ।

दुवै जनाको पालनपोषण र पढाइलेखाइको जिम्मा लिने प्रतिवद्धता केपी ओलीले गरेकाले छोरीलाई लिएर बालकोट पुगेको आमा छिजु लामाले बताइन् ।

ओलीले अभिभावकत्व ग्रहण गरे पनि हालसम्म २ पटक १०र१० हजार नगद र एक पटक लत्ताकपडा मात्र सहयोग गरेका थिए । श्रीमानको मृत्यु भएको केही वर्ष भएको र पालनपोषणमा आफूलाई समस्या भएको उनले बताइन् । बताइएअनुसार ओलीले बोलाएपछि उनीहरु काठमाडौं पुगेका हुन् ।

‘निकै खुसी लागेको छ । हामी त जन्माउने आमा भए पनि जीवनभरिको भविष्य बनाउने आमाबुबा छोरीले पाएको हुँदा खुसी लागेको छ । प्रधानमन्त्री भइसकेको मान्छेको जिम्मामा छोरीलाई छोड्न पाउँदा खुसी लागेको छ’, छिजु लामाले बताइन् ।