जिल्ला अस्पताल लमजुङमा गण्डकी प्रदेश सरकारको सहयोगमा डायलाइसिस सेवा सुरु गरिएको छ । दोर्दी गाउँपालिका ८ की ७० वर्षीया महिला अनरुपी गुरुङलाई डायलाइसिस गराइ अस्पतालबाट पहिलो पटक सेवा प्रारम्भ गरिएकोे जिल्ला अस्पताल लमजुङका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।
डायलाइसिस सेवालाई प्रभावकारी बनाउन अहिले दैनिक एक जनाबाट सेवा प्रवाह गरिए पनि आगामी केही साताभित्र दैनिक ८ देखि १० जनासम्मलाई सेवा दिइने अस्पताल प्रशासन प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार जिल्ला अस्पताल लमजुङमा अहिले ६० बेड क्षमता छ ।
बढी खर्चिलो हुने र बिरामीले विभिन्न समस्या भोग्नुपरेका कारण उनीहरूलाई सहज बनाउन लमजुङ अस्पतालमै डायलाइसिस सेवा सुरु गरिएको गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी बताइन् । जिल्ला अस्पतालबाट ६ वटा डायलाइसिस उपकरणसहित व्यवस्थापन गरिएको सेवाले पहिलेदेखि डायलाइसिस गरिरहेका बिरामी लाभान्वित हुने मन्त्री अधिकारीको भनाइ छ ।
हेमोडायलाइसिस र पेरिटोनल डायलाइसिस गरी मृगोला रोगीलाई दुई प्रकारले डायलाइसिस गर्ने गरिन्छ । जिल्ला अस्पताल लमजुङमा थालिएको हेमोडायलाइसिस हो । कुनै पनि रोगका कारण मृगौलामा असर पऱ्यो भने जिल्ला अस्पतालमा डायलाइसिस गर्न सकिने जिल्ला अस्पताल लमजुङले जनाएको छ ।
मधुमेह, उच्च रक्तचाप, फोक्सोको समस्या लगायतका रोगका कारण मृगौलामा समस्या देखिएका बिरामीलाई जिल्ला अस्पताल लमजुङमा डायलाइसिस सेवा दिन सकिने अस्पतालका प्रशासन प्रमुख श्रेष्ठको भनाइ छ । अब लमजुङ र मनाङका मृगौलापिडितलाई डायलाइसिस सेवा लिनका लागि बाहिर जिल्ला जानुपर्ने बाध्यता हटेको छ । डायलाइसिस गराउनकै लागि काठमाडौंलगायत अन्य ठूला सहर धाउनु पर्ने बाध्यता बिरामी र उनका आफन्तले अब मुक्ति पाउने भएका छन् ।
लमजुङमा डायलाइसिस आवश्यक पर्ने ६४ जना बिरामी छन् ।
प्रतिक्रिया