नेपाली राजनीतिको अन्तर्य ‘तुषानल’ सार्वजनिक

नेपाली राजनीतिको अन्तर्य ‘तुषानल’ सार्वजनिक


नेपालको राजनीतिभित्रको विकृत पाटो तथा राजनीतिक परिदृश्यमा देखिने विभिन्न पात्रहरूद्वारा परोक्ष रूपमा गरिने चलखेलप्रति केन्द्रित रही वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीद्वारा लिखित पुस्तक ‘तुषानल’ सार्वजनिक गरिएको छ ।

प्रकाशन संस्था ‘पैरवी बुक्स प्रकाशन प्रालि’द्वारा काठमाडौंमा शुक्रबार आयोजित ‘पुस्तक अवतरण’ कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर डा. तिलक रावल, संविधानविद् एवम् चर्चित विश्लेषक डा. भीमार्जुन आचार्य, सामाजिक अभियन्ता एवं लेखिका सरु जोशी र लेखक स्वयमले संयुक्तरुपमा पुस्तक सार्वजनिक गर्नुभएको हो ।

मुलुकमा बहुदलीय प्रजातन्त्र स्थापना भएपछिको सत्ता-राजनीति, नेताको भूमिका, देशको अवस्थालगायत विषयवस्तु समेटिएको ‘तुषानल’ (भुसको आगो) माथि संविधानविद् डा. आचार्य र सामाजिक अभियन्ता सरु जोशीले समीक्षात्मक टिप्पणी गर्नुभयो ।

डा. आचार्यले पुस्तकमा नेपाली राजनीतिको अन्तर्य खुलाउने अत्यन्त गम्भीर सन्दर्भहरू समेटिएको उल्लेख गर्दै लेखक त्रिपाठी एक देशभक्त एवम् सत्य उजागर गर्न नहिच्किचाउने एक निडर पात्रका रूपमा आफूले चिनेको र उहाँबाट लेखिएको पुस्तकभित्रका सन्दर्भहरू सत्यमा आधारित रहेको विश्वास आफूले गरेको बताउनुभयो । टिप्पणी गर्न सकिने केही कुरा रहे पनि तुषानलले राजनीतिक वृत्त एवम् पात्रहरूमा अलग तरङ्ग ल्याउने उहाँको धारणा थियो ।

यस्तै, लेखिका सरु जोशीले पनि तुषानलले वर्तमान नेपाली राजनीतिको आन्तरिक पाटो बुझ्न चाहनेलाई महत्वपूर्ण ज्ञान प्रदान गर्ने उल्लेख गर्नुभयो ।

यसैगरी पूर्वगभर्नर डा. तिलक रावलले कुनै पनि देशले समृद्धिको फड्को मार्नु या अवनतिको ओह्रालो ओर्लनुमा मुलुकको शासनाधिकारमा रहेका नेताहरूको अहम् भूमिका हुने औंल्याउनुभयो । नेता सक्षम, इमानदार एवम् मुलुक तथा जनताप्रति वफादार भए स्रोत-साधनको अभावमै पनि देशले उन्नति गर्ने र, नेतृत्वकर्ताहरू व्यक्तिगत स्वार्थमा लिप्त हुने, परायाशक्तिबाट परिचालित हुने भएमा देश सबै कोणबाट ओह्रालो लाग्ने उहाँको तर्क थियो । यस अर्थमा नेपालको यो हालत किन र कसरी भयो भनी बुझ्न सचेतजनलाई ‘तुषानल’ पुस्तकले निकै हदसम्म सघाउने डा. रावलको भनाइ थियो ।

राजनीतिक विष्लेषक प्राध्यापक पुरुषोत्तम दाहालले पुस्तकबारे मन्तव्य दिने क्रममा ‘तुषानल’मा उल्लेख भएका सन्दर्भहरू निकै गम्भीर प्रकृतिका रहेकाले लेखकले आफ्नो ज्यानकै जोखिम मोलेर यसप्रकारको कृति सार्वजनिक गर्ने साहस प्रदर्शन गरेको बताउनुभयो । तुषानलमा नाम उल्लेख भएका पात्रहरू एकाधबाहेक सबैजसो भौतिक रूपले हाम्रामाझ रहेकाले पुस्तकमा समेटिएका गम्भीर एवम् संवेदनशील घटना-सन्दर्भबारे उनीहरूले जवाफ दिनुपर्नेमा उहाँले जोड दिनुभयो । बहुदलीय प्रजातन्त्र स्थापनापछि नेपालको राजनीतिमा पैदा भएको विकारप्रति आफू पनि असन्तुष्ट रहेको खुलासा गर्दै उहाँले लेख र बोलीमार्फत गरिने स्वस्थ आलोचनाले लोकतन्त्रलाई मजबुत तुल्याउने धारणा राख्नुभयो ।

घटना र विचार साप्ताहिकका संस्थापक प्रधानसम्पादकसमेत रहनुभएका लेखक देवप्रकाश त्रिपाठीले ‘तुषानल’ आफ्नो सिर्जना नभइ नेपाली राजनीति तथा राजनीतिक पात्रहरूलाई आफूले देखेको, भोगेको र बुझेको आधारमा आफ्नो स्मरणमा रहेका विषयवस्तु तथा घटना-सन्दर्भलाई पुस्तकमार्फत सचेत पाठकसामु प्रस्तुत गरेको जानकारी दिनुभयो । नेपाली राजनीतिको अन्तर्य खुलासा गर्ने प्रयासस्वरुप लेखिएको यो पुस्तक सार्वजनिक गर्नुअघि आफूमाथि आइपर्नसक्ने चुनौतीका बारे पनि सचेत रहेको उहाँको भनाइ थियो ।

ज्ञातव्य छ, विभिन्न विधाका महत्वपूर्ण दुई सय पचासभन्दा ज्यादा पुस्तक प्रकाशन गरिसकेको सुपरिचित प्रकाशन गृह ‘पैरवी बुक्स प्रकाशन प्रा.लि.’द्वारा तुषानल प्रकाशनमा आएको हो भने पुस्तकको मूल्य ५९५/– (पातलो गाता) र ७९५/– (बाक्लो गाता) रहेको छ ।