कांग्रेस उम्मेदवार ओलीविरुद्ध बैंकिङ कसुरको उजुरी

कांग्रेस उम्मेदवार ओलीविरुद्ध बैंकिङ कसुरको उजुरी


कर्णालीका अधिकांश ठाउँमा गठबन्धन गरेको माओवादी र कांग्रेसले रुकुम पश्चिममा भने गठबन्धन तोडेका छन् । स्थानीय तहको चुनावमा समेत रुकुम पश्चिममा गठबन्धन कायम गरिएको थिएन । अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्लासमेत रहेको रुकुम पश्चिममा पटक पटक सहमतिविपरित काम हुँदै आएको कांग्रेस र माओवादी नेतृत्वहरु बताउँदै आएका छन् ।

नेपाली कांग्रेसको तर्फबाट रुकुम पश्चिम (ख)बाट प्रदेशसभाका उम्मेदवार प्रेमप्रकाश ओलीविरुद्धमा माओवादी उम्मेदवारका प्रतिनिधिले उजुरी दिएका हुन् । बैंकिङ कसुरसम्बन्धी मुद्दा परेको भन्दै ध्रुवविक्रम बुढाथोकीले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा मुद्दा दायर गरेका हुन् । कांग्रेसबाट प्रदेश सभाका लागि ओलीले आइतबार मनोनयन पत्र दर्ता गराएका थिए ।

बुढाथोकी सोही क्षेत्रबाट माओवादीबाट प्रदेशसभाका उम्मेदवार राजकुमार शर्माका प्रतिनिधि हुन् । कांग्रेस नेता ओलीले बैंकिङ कसुर मुद्दा नं ०७६–०००३ मा एक महिना कैद र जरिवाना हुने ठहरी फैसला भएको तर ओलीले भुक्तान नगरेकाले अयोग्य रहेको उजुरीमा उल्लेख छ ।

गठबन्धनको भागवण्डा अनुसार सो क्षेत्रमा कांग्रेस र माओवादी भनेर नै उल्लेख गरेको थियो । यद्यपि माओवादीले आफ्नो उम्मेदवार उठाउँदा कांग्रेसले पनि ओलीलाई उम्मेदवार बनाएको थियो । यस विषयमा ओलीले भने, सम्मानित सर्वोच्च अदालतमा मैले दोहोऱ्याइ पाउँ भनेर माग गरेको छु । मैले रकम साउन महिनामा तिरिसकेको छु भने गत माघमा मुद्दा चलाइएको छ । मुद्दा नै जालसाजी तरिकाले चलाइएको छ, फैसलाचाहिँ भएको हो, अब के हुन्छ थाहा छैन ।’