होटलको कोठामा जलेर महिलाको मृत्यु भएपछि दुई जना पक्राउ, घटना शङ्कास्पद

होटलको कोठामा जलेर महिलाको मृत्यु भएपछि दुई जना पक्राउ, घटना शङ्कास्पद


काठमाडौंको नक्सालमा रहेको क्राउन प्लाजा होटलको कोठामा जलेर एक महिलाको मृत्यु भएको छ । होटलको कोठामा जलेकी २३ वर्षीया महिलाको उपचारका क्रममा मङ्गलबार कीर्तिपुर अस्पतालमा निधन भएको हो । यस घटनालाई शङ्कास्पद रूपमा लिइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले महिलाको मृत्युबारे छानविन गर्न मङ्गलबार नै दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

पक्राउपर्नेमा होटलका कर्मचारी पवनकुमार श्रेष्ठ र महिलासँगै होटलमा बस्न गएका केशव रिजाल रहेका छन् ।

महिला होटलमा जलेर गम्भीर घाइते भए पनि होटलले प्रहरीलाई खबर नगरी अस्पताल लगेकाले घटना शङ्कास्पद भएको प्रहरीको भनाइ छ । आवश्यक अनुसन्धान गर्न प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले जनाएका छन् ।