निर्वाचन आचारसंहिता उल्लंघन गर्दै शहरी विकासमन्त्री मेटमणि चौधरीले राहत सामाग्री वितरण गरेका छन् । शनिबार दाङको देउखुरीका चार पालिकाका बाढीपीडितका लागि भन्दै उनले करिब १३ लाख बराबरको खाद्यान्न सामग्री वितरण गरेका हुन् ।
डुबान क्षेत्रको अवलोकनपछि जनतालाई पहिलो चरणको सहयोग पुर्याउने उद्देश्यले देउखुरीका राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चामल उपलब्ध गराएको मन्त्री चौधरीले बताएका छन् ।
‘यो २०१८ साल पछिकै ठुलो बाढी हो । यसले निकै ठुलो क्षति पुर्याएको छ । थोरै भएपनि जनतालाई सहायोग होस् भन्ने चाहेको छु । यो पालिका प्रमुख मार्फत् एकद्वार प्रणालीबाट वितरण हुनेछ,’ मन्त्री चौधरीले भनेका छन् ।
दु:खमा परेका जनताले राज्य र स्थानीय सरकारको महसूस गर्नुपर्ने जनाउँदै मन्त्री चौधरीले क्षतिको विवरण संकलन लगत्तै स्थानीय, प्रदेश र संघीय सरकारबाट पर्याप्त राहत उपलब्ध गराइने पनि बताए ।
चुनावको बेला राहतको नाममा यसरी आफैं उपस्थित भएर राहत सामग्री वितरण गर्नुलाई पर्यवेक्षकहरुले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन भनी अर्थ्याएका छन् ।
प्रतिक्रिया